प्रयोगशालामा बन्यो कोरोनाभाइरसः खोप पत्ता लगाउने दिशामा नयाँ फड्को
एजेन्सी । चीनको वुहानबाट शुरु भएको कोरोनाभाइरसको महामारीले संसारभरि नै आतंक छाइरहेको बेला अस्ट्रेलियाका वैज्ञानिकहरुले पहिलो पटक प्रयोगशालामा नै उक्त कोरोनोभाइरस बनाएका छन् । अस्ट्रेलियाका वैज्ञानिकहरुको यो सफलताले उक्त खतरनाक भाइरसका विरुद्ध भ्याक्सिनको विकास गर्न सहयोग पुग्ने विश्वास गरिएको छ ।
चीनको वुहान शहरको मासुबजारबाट शुरु भएर फैलिएको भनिएको सो खतरनाक कोरोनोभाइरसले यो लेख्दासम्म १०६ जनाको ज्यान लिइसकेको छ, चीनका मुख्य शहरहरुमा समेत गरेर ४ हजार बढीमा यसको संक्रमण देखापरिसकेको छ । त्यति मात्र हैन, यो भाइरसको संक्रमणले चीनको सीमा नाघेर नेपाल, अमेरिका, अस्ट्रेलिया, जापान, भियतनाम, श्रीलंका, कम्बोडिया, क्यानडा लगायतका १७ देशहरुमा पुगिसकेको छ ।
महामारी रोक्नको लागि चीन सरकारले युद्धस्तरमा अभियान थालेको छ, १२ सय जना कोरोनाभाइरस संक्रमितहरुलाई उपचार गर्न सक्ने क्षमताको विशिष्ट अस्पताल एकै हप्तामा निर्माण गरेर सञ्चालनमा ल्याइसकेको छ । भाइरसको उत्पत्ति थलोमा आवातजावातमा पूर्णतः रोक लगाइएको छ । चीनका गाउँ गाउँमा बाहिरी मानिसहरुको प्रवेशमा स्वतःस्र्फूत रुपमा स्थानीय वासिन्दाहरुले बन्देज लगाइरहेका छन् । तर पनि कोरोनाभाइरसको महामारी नियन्त्रणमा आइसकेको छैन ।

बाइलाइन नेपाल











