जलाधार क्षेत्रको व्यवस्थापनमा स्थानीय तहको भूमिका महत्वपूर्ण
हेटौंडा । बागमती प्रदेशको राजधानी हेटौंडामा मंगलबार लाल बकैया जलाधार व्यवस्थापन योजना तर्जुमा सम्वन्धी सरोकारवालाहरुबीच परामर्श कार्यक्रम भएको छ । मकवानपुरको तीन स्थानीय तहसँग जोडिएको लालबकैया क्षेत्रमा जलाधार व्यवस्थापनमा गर्नुपर्ने काम तथा योजनाका विषयमा सरोकारवालबीच परामर्श लिइएको हो ।
कार्यक्रममा लालबकैया जलाधार क्षेत्रमा पर्ने बकैया गाउँपालिका, मकवानपुरगढी गाउँपालिका र हेटौंडा उपमहानगरपालिका विभिन्न वडाका वडा अध्यक्षहरु,र अन्य सरोकारवाल निकायका प्रतिनिधिको सहभागिता रहेको थियो । कार्यक्रम माण्डवीले सहजीकरण तथा ईसीमोडको आर्थिक सहयोग, द स्मल अर्थ नेपालको प्राविधिक सहयोगमा आयोजना गरिएको थियो ।
कार्यक्रममा मकवानपुरको बकैया गाउँपालिकाका १ देखि १२ नम्बर वडाका वडा अध्यक्ष, मकवानपुरगढी गाउँपालिकाका १ नम्बर वडाका वडा अध्यक्ष र हेटौडा उपमहानगरपालिकाको १६, १७, १८ नम्बरका वडा अध्यक्षको सहभागिता रहेको थियो । वडा अध्यक्षहरुले आआफ्नो वडामा जलाधार क्षेत्रमा गरेका काम, पछिल्लो समय देखिएका समस्या, समस्यालाई समाधान गर्न गर्नुपर्ने कामका बारेमा सामूहिक छलफल गरेर प्रस्तुतीकरण गरेका थिए ।
जलाधार क्षेत्रलाई जोगाउन नसक्दा पछिल्ला वर्ष देखिएका समस्या र भविष्यमा यसले पार्ने प्रभावका बारेमा सामूहिक छलफल भएको थियो । कार्यक्रमबाट आएका सुझाव र प्रभावकारी योजनालाई आयोजकले सम्बोधन गर्दै लैजाने जनाएको छ । कार्यक्रममा सहभागीहरुले जलाधार क्षेत्रको संरक्षणका लागि स्थानीय तह र स्थानीयबासीको महत्वपूर्ण भूमिका रहने औल्याएका थिए । जसका लागि अहिलेबाट स्थानीयस्तरमा जनचेतनासहित दीर्घकालिन काममा स्थानीय तह लाग्नुपर्नेमा जोड दिइएको थियो ।

बकैया गाउँपालिकाका अध्यक्ष धर्मराज लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा माण्डवी संस्थाका रामाज्ञा साहले स्वागत मन्तव्य राखेको थिए । कार्यक्रममा एकीकृत जलाधार व्यवस्थापन योजना तर्जुमाको अहिलेसम्मको प्रगतिका बारेमा द स्मल अर्थ नेपालका भवानी डंगोलले प्रस्तुुतीकरण गरेका थिए । यस्तै, लालबकैया जलाधार क्षेत्रको व्यवस्थापनका लागि प्रस्तावित कार्यक्रमहरुको प्रस्तुतीकरण द स्मल अर्थ नेपालका प्रा.डा. नरेन्द्रराज खनालले गरेका थिए ।
त्यस क्षेत्रमा काम गरिरहेका संस्थाले जनप्रतिनिधिबाट महत्वपूर्ण सुुझाव आएको उल्लेख गर्दै योजनालाई अझ प्रभावकारी बनाउन सहयोग पुगेको बताएका छन् । कार्यक्रममा सहभागीहरुलाई द स्मल अर्थ नेपालका डा. जगन्नाथ जोशीले धन्यवाद व्यक्त गरेका थिए ।
कार्यक्रमलाई समापन गर्दै बकैया गाउँपालिकाका अध्यक्ष लामिछानेले योजनाहरुको दीघकलिन कार्यान्वयनका लागि स्थानीय तह सहकार्यका लागि तयार रहेको बताए । जलाधार क्षेत्रमा आएको संकटलाई स्थानीय तहले प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा मकवानपुरका डिभिजन वन अधिकृत राकेशप्रसाद चन्द्रवंशी, बकैया गाउँपालिका, मकवानपुरगढी गाउँपालिका र हेटौंडा उपमहानगरपालिका कार्यालयका विपद् व्यवस्थापन शाखाका प्रमुख, सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।

बाइलाइन नेपाल











