मकवानपुरमा एकमा नेकपाका उम्मेदवार विजय गौतम चुनावी रफ्तारमा
बकैया / मकवानपुर जिल्ला क्षेत्र नम्बर–१ बाट नेपाली कम्युनिष्ट पार्टीका प्रतिनिधि सभा सदस्य उम्मेदवार बिजय गौतमले आज बकैया गाउँपालिकाका विभिन्न वडामा घरदैलो, कार्यकर्ता भेटघाट र अगुवा कार्यकर्ता भेलामार्फत स्थानीय मुद्दालाई केन्द्रमा राख्दै जनसम्पर्कलाई तीव्र बनाएका छन्।
आज बिहान गौतमले बकैया गाउँपालिका वडा नम्बर–४ छतिवन जुरेलीबाट घरदैलो कार्यक्रम सुरु गरे। त्यसपछि वडा नम्बर–८ अन्तर्गत खजुली दमार, गोठडाडा, शिखरपुर, बकैया ठाकुर, अम्बासगढी र दामनगर कैजलेमा घरदैलो तथा नेता–कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न भयो। यस क्रममा स्थानीयले सडक, विद्युत्, खेलमैदान, नदी नियन्त्रण, धार्मिक–पर्यटकीय क्षेत्रको विकास र रोजगारीका विषयमा आफ्ना गुनासो र सुझावहरू राखेका थिए।
कार्यक्रमकै क्रममा बकैया गाउँपालिका वडा नम्बर–१० धुवाकोटबेसीमा अगुवा कार्यकर्ता भेला तथा निर्वाचन प्रचार–प्रसार कार्यालय उद्घाटन गरिएको छ। मकवानपुर क्षेत्र नम्बर–१ बाट उम्मेदवार गौतमलाई विजयी गराउने उद्देश्यका साथ आयोजना गरिएको उक्त कार्यक्रममा उनले स्थानीय समस्या र समाधानलाई आफ्नो मुख्य एजेन्डा बनाएको स्पष्ट पारे।
सम्बोधनका क्रममा गौतमले भने, “म जितका लागि मात्र आएको होइन। जित होस् या हार, म आजीवन तपाईंहरूकै सेवामा निरन्तर काम गर्नेछु। यहाँका सडक, बागमतीको तटबन्धन, खेलमैदान, विद्युतीकरण, अम्बासगढी र बकैया ठाकुरजस्ता धार्मिक–पर्यटकीय स्थलको विकास यी सबै विषय मेरो प्राथमिकतामा छन्।” उनले ठूला आश्वासनभन्दा पनि स्थानीयसँगै बसेर समस्या समाधान गर्ने सारथी बन्ने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रममा नेपाली कम्युनिष्ट पार्टीका बागमती प्रदेश कमिटी सदस्यहरू लक्ष्मी माझी, जीवन गोले, लोकनाथ गौतम, सुनिल खड्का, भक्तबहादुर खत्री, परशुराम गौतम, बकैया गाउँपालिका अध्यक्ष बिमल नेपाल, वडा नम्बर–८ का वडा अध्यक्ष विष्णु नेगी, जिल्ला कमिटी सदस्य लक्ष्मी सिलवाल, YCL मकवानपुर उपाध्यक्ष प्रेम लामा थिङ लगायतका नेताहरूले मन्तव्य राख्दै स्थानीय विकास र सुशासनका लागि विजय गौतम उपयुक्त उम्मेदवार भएको बताए।
कार्यक्रमको अध्यक्षता राजकुमारी भोम्जनले गरेकी थिइन् भने सञ्चालन अर्जुन वाइबाले गरेका थिए। स्वागत मन्तव्य नेकपाका नेता एवं पूर्व वडा अध्यक्ष शेरमान घलान बोधबहादुर स्याङ्तानले राखेका थिए।
यसैबिच उम्मेदवार गौतमले ललितपुर र मकवानपुर जिल्लाको सिमाना रहेको बकैया गाउँपालिका वडा नम्बर–१० घैयाटारमा कार्यकर्ता भेटघाट तथा अन्तर्क्रिया कार्यक्रमसमेत सम्पन्न गरे। त्यहाँ उनले फेरि दोहोर्याउँदै भने, “राजनीति पदका लागि होइन, सेवाका लागि हो। तपाईंहरूको विश्वास नै मेरो सबैभन्दा ठूलो शक्ति हो।”

बाइलाइन नेपाल











