जेनजी आन्दोलनमा क्षतिग्रस्त मन्त्रालय भवन पुनर्निर्माण
बागमती प्रदेशमा भदौ २३ र २४ को जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीबाट क्षतिग्रस्त सरकारी कार्यालयको पुनर्निर्माण सकेर हस्तान्तरणको तयारीमा भएको छ । क्षतिग्रस्त अधिकांश मन्त्रालय र सरकारी आवासहरु मर्मत गरेर हस्तान्तरण पनि गरिएको छ ।
पुनर्निर्माणपश्चात उक्त भवनको बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले सोमबार उद्घाटन गरेका थिए । पाँच वटा मन्त्रालय बसेको भवनको पुनर्निर्माणपश्चात मन्त्रालयहरुले छिट्टै यही भवनमा बसेर काम थाल्ने उनले बताए ।
आन्दोलनका क्रममा हेटौंडामा रहेका भौतिक पूर्वाधार विकास मन्त्रालय, खानेपानी तथा सिँचाइ मन्त्रालय, कृषि तथा पशु विकास मन्त्रालय र श्रम रोजगार तथा यातायात मन्त्रालयका भवनमा ठूलो क्षति पुगेको थियो । उक्त भवन मर्मतपछि पुरानै अवस्थामा फर्काउन सफल भएको भौतिक पूर्वाधार विकास मन्त्री डा.दिनेशचन्द्र देवकोटाले बताए ।
जेनजी आन्दोलनले क्षति पुगेको ५ मन्त्रालय रहेको हेटौंडा उपमहानगरपालिका—१ स्थित ५ तले भवनको पुनर्निर्माण कार्य सम्पन्न पश्चात उद्घाटन गरिएको हो । त्रिभुवन राजपथको आडमा रहेको उक्त भवनमा ५ वटा मन्त्रालय रहेका थिए । उक्त भवनमा अब उर्जा खानेपानी, सहकारी तथा गरिबी निवारण, श्रम र कृषि मन्क्रालयसहित चार वटा मन्त्रालय बस्ने मुख्यमन्त्री कार्यालयले जनाएको छ ।

बाइलाइन नेपाल











