हेटौंडामा ‘रुदाने’ पुस्तकमाथि परिचर्चा

बाइलाइन नेपाल
१० जेष्ठ २०८३, आईतवार १४:३३

हेटौंडा । “पठन संस्कृतिको विकाससँगै सकारात्मक सोचसहितको सुसंस्कृत युवा नेतृत्व” भन्ने मूल मन्त्र र भावनालाई आत्मसात् गर्दै हेटौंडामा एक भव्य प्राज्ञिक तथा साहित्यिक समारोह सम्पन्न भएको छ ।

डाइनामिक पब्लिक लाईब्रेरी (डीपीएल), हेटौंडाको आयोजना तथा हेटौंडा उपमहानगरपालिका कार्यालयको सहकार्यमा जनचेतनाका संवाहक रूपचन्द्र विष्ट ‘थाहा’ को जीवनी र दर्शनमा आधारित पुस्तक ‘रुदाने’ माथि गहन विमर्श गरिएको हो ।

उक्त विशेष समारोह डीपीएलका अध्यक्ष गंगाप्रसाद आत्रयको ओजपूर्ण अध्यक्षता तथा प्रखर राजनीतिज्ञ एवं लेखक केदार न्यौपानेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । प्रमुख अतिथिको आसनबाट बोल्दै न्यौपानेले समाज रूपान्तरणमा रुपचन्द्र विष्टको ‘थाहा’ दर्शनको सान्दर्भिकता सदैव जीवन्त रहने बताउनुभयो । उहाँले नयाँ पुस्तामा सकारात्मक सोच र नेतृत्व विकासका लागि यस्ता कृतिको अध्ययन अपरिहार्य रहेको कुरामा जोड दिनुभयो ।

वैचारिक मन्थन र पुस्तक विमर्श
कार्यक्रममा विशिष्ट वक्ताका रूपमा उपस्थित हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ का अध्यक्ष नविन सिग्देल तथा वरिष्ठ पत्रकार प्रताप विष्टले रूपचन्द्र विष्टको बहुआयामिक व्यक्तित्व र ‘रुदाने’ को वैचारिक पक्षमाथि प्रकाश पार्नुभयो । उहाँहरूले विष्ट केवल एक व्यक्ति नभएर विचारको विश्वविद्यालय भएको चर्चा गर्दै उहाँको दर्शनलाई व्यवहारमा उतार्नुपर्नेमा जोड दिनुभयो ।

समारोहको मुख्य आकर्षणका रूपमा रहेको पुस्तक परिचर्चा खण्ड निकै रोचक र बौद्धिक रह्यो । कृतिमाथि विमर्श गर्दै सहजकर्ता एवं वरिष्ठ साहित्यकार मसान उपासकले पुस्तकका विविध सबल पक्ष र अन्तर्यलाई उजागर गर्नुभयो । सो क्रममा लेखक टंक चौलागाईसँग साहित्यकार उपासकले सिर्जनाका गर्भभित्र लुकेका यथार्थ र कृतिको गहिराइबारे घनीभूत संवाद गर्नुभएको थियो । लेखक चौलागाईले आफ्ना अनुभूतिहरू साट्दै कृतिको उद्देश्यमाथि प्रष्ट पार्नुभयो ।

पाठक र लेखकको त्रिवेणी
जिज्ञासु पाठकहरूको सक्रिय सहभागिताले कार्यक्रममा थप रौनक थपेको थियो । लेखक र पाठकबीच भएको जीवन्त अन्तर्क्रियाले सिङ्गो हललाई वैचारिक रूपमा उद्वेलित बनाएको थियो । कार्यक्रमको सुमधुर सञ्चालन संस्थाकी वरिष्ठ उपाध्यक्ष अनिता न्यौपानेले कलात्मक शैलीमा गर्नुभएको थियो । साहित्यिक सुवास, बौद्धिक वहस र सिर्जनात्मक ऊर्जाले ओतप्रोत सो कार्यक्रमको समापन गर्दै अध्यक्ष आत्रयले आगामी दिनमा पनि लाईब्रेरीले यस्ता बौद्धिक गतिविधिहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*