११ जिल्लाका रेडक्रसलाई ब्लड बैंक रेफ्रिजेरेटर हस्तान्तरण
हेटौँडा । बागमती प्रदेश सरकारको स्वास्थ्य मन्त्रालय अन्तर्गतको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले रक्तसञ्चार सेवालाई थप व्यवस्थित बनाउन नेपाल रेडक्रस सोसाइटीका ११ जिल्ला शाखालाई ब्लड बैंक रेफ्रिजेरेटर हस्तान्तरण गरेको छ।
बिहीबार हेटौँडामा आयोजित एक कार्यक्रमका बीच बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले रसुवा र सिन्धुपाल्चोक बाहेकका जिल्लाका प्रतिनिधिहरूलाई उक्त उपकरण हस्तान्तरण गर्नुभयो।
केन्द्रका बायोइन्जिनियर नेल्सन महतका अनुसार प्रतिगोटा २ लाख ७५ हजार ५५५ रुपैयाँ पर्ने २३० लिटर क्षमताका ११ थान रेफ्रिजेरेटर कुल ३१ लाख रुपैयाँ (भ्याट बाहेक) को लागतमा खरिद गरिएको हो। यी आधुनिक रेफ्रिजेरेटरमा एकैपटक १५० वटा ब्लड ब्याग सुरक्षित राख्न सकिनेछ।
कार्यक्रममा मुख्यमन्त्री बानियाँले रगत सङ्कलन र वितरणलाई पारदर्शी एवं गुनासोरहित बनाउन रेडक्रसलाई आग्रह गर्दै विपन्न नागरिकको स्वास्थ्य हित सरकारको प्राथमिकतामा रहेको बताउनुभयो। त्यस्तै, स्वास्थ्यमन्त्री किरण थापाले सरकार र रेडक्रसको सम्बन्ध नङ र मासु जस्तै रहेको चर्चा गर्दै विपद्का बेला रेडक्रसको योगदान प्रशंसनीय रहेको उल्लेख गर्नुभयो।
कार्यक्रममा रेडक्रस बागमती प्रदेशका सभापति भोला रुपाखेती लगायतका वक्ताहरूले रक्तसञ्चार सेवालाई अझ बढी विश्वसनीय र प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो।

बाइलाइन नेपाल











