मकवानपुरका चार पालिका पूर्णखोप सुनिश्चित घोषित
हेटौँडा । मकवानपुर जिल्लाका थप चारवटा स्थानीय तहलाई ‘पूर्णखोप सुनिश्चितता तथा दिगोपना गाउँपालिका’ घोषणा गरिएको छ। स्वास्थ्य सेवाको पहुँचलाई सुदृढ बनाउँदै बालबालिकाको उज्ज्वल भविष्य सुनिश्चित गर्ने उद्देश्यअनुरूप चालिएका अभियानहरू सफल भएसँगै यो महत्त्वपूर्ण घोषणा गरिएको हो।
स्वास्थ्य कार्यालय मकवानपुरका अनुसार यसै हप्ता छुट्टाछुट्टै कार्यक्रमको आयोजना गरी ती पालिकाहरूलाई पूर्णखोप सुनिश्चित घोषित गरिएको हो। जसअन्तर्गत बिहीबार मकवानपुरगढी र बागमती गाउँपालिकालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरियो भने त्यसको अघिल्लो दिन बुधबार ईन्द्रसरोवर र भीमफेदी गाउँपालिकालाई घोषणा गरिएको थियो।
बालबालिकाको तथ्याङ्क र खोपको अवस्था
स्वास्थ्य कार्यालयले उपलब्ध गराएको तथ्याङ्क अनुसार मकवानपुरगढी गाउँपालिकामा जन्मदेखि १५ महिनासम्मका ३६२ जना र १६ देखि २३ महिनासम्मका २३३ जना बालबालिकाले सबै प्रकारका अनिवार्य खोप लगाएका छन्।
त्यसैगरी, बागमती गाउँपालिकामा जन्मदेखि १५ महिनासम्मका ३४५ जना र १६ देखि २३ महिनासम्मका २९८ जना बालबालिकाले नियमित खोप पाएका छन्। खोप अभियानका क्रममा सुरुमा छुट्न पुगेका १२ जना बालबालिकालाई समेत खोजी गरी पूर्ण खोपको दायरामा ल्याइएको स्वास्थ्य कार्यालयले जनाएको छ। गाउँपालिकाभित्रका १६ महिनादेखि २३ महिनासम्मका शतप्रतिशत बालबालिकाले सरकारले तोकेका सबै खोप प्राप्त गरेको सुनिश्चित भएपछि मात्र यो औपचारिक घोषणा सम्भव भएको हो।
प्रमाणीकरण र दिगोपनाको चुनौती
स्वास्थ्य कार्यालय मकवानपुरका जनस्वास्थ्य निरीक्षक बासुदेव रिमालका अनुसार यो घोषणा हतारमा नभई निकै सुक्ष्म अध्ययनपछि गरिएको हो। “विभिन्न चरणमा टोल-टोलमा पुगेर गरिएको अनुगमन, घरधुरी सर्वेक्षण र कडा प्रमाणीकरण प्रक्रिया पूरा गरेर मात्रै पालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिन्छ,” रिमालले भन्नुभयो।
यो घोषणासँगै अबका दिनमा ती पालिकाहरूले आगामी वर्षहरूमा पनि कोही पनि बालबालिका खोप पाउनबाट बञ्चित नहोऊन् भन्नका लागि सूक्ष्म अनुगमन प्रणालीलाई दिगो रूपमा सञ्चालन गर्नुपर्ने चुनौती र जिम्मेवारी थपिएको छ।
स्थानीय जनप्रतिनिधि तथा स्वास्थ्यकर्मीहरूले यस ऐतिहासिक उपलब्धिको दिगोपनाका लागि आगामी दिनमा पनि स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्दै निरन्तर सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। गाउँमै पूर्ण स्वास्थ्य सुरक्षाको प्रत्याभूति भएपछि स्थानीय अभिभावकहरूमा समेत खुसीयाली छाएको छ।

बाइलाइन नेपाल











