विकट माझीगाउँमा सेनाको निःशुल्क स्वास्थ्य शिविर

बाइलाइन नेपाल
३० जेष्ठ २०८३, शनिबार १५:०८

हेटौँडा । मकवानपुरको विकट बस्ती बागमती गाउँपालिका–५, माझीगाउँका स्थानीय बासिन्दाले आफ्नै आँगनमा विशेषज्ञ चिकित्सकबाट स्वास्थ्य सेवा पाएका छन्। उपचारका लागि घण्टौँको कठिन यात्रा तय गरी सदरमुकाम वा अन्य शहरी क्षेत्र पुग्न बाध्य यहाँका नागरिकका लागि गाउँमै सञ्चालन भएको निःशुल्क स्वास्थ्य शिविरले ठूलो राहत दिलाएको हो।

नेपाली सेनाको श्री गोरख बहादुर गणको नेतृत्व, श्री नम्बर ७ फिल्ड एम्बुलेन्स गुल्मको प्राविधिक सहकार्य तथा स्थानीय तह र सरोकारवाला निकायको समन्वयमा उक्त एकदिने बृहत् शिविर सम्पन्न भएको हो। बिहान ९ः३० बजेदेखि साँझ ४ बजेसम्म सञ्चालित शिविरमा विशेषज्ञ चिकित्सकहरूको टोलीले बिरामीहरूको स्वास्थ्य परीक्षण गर्नुका साथै आवश्यक औषधिहरू निःशुल्क वितरण गरेको थियो।

नागरिक-सैनिक सम्बन्धको अनुपम उदाहरण शिविरबाट माझीगाउँ र आसपासका ३५० जनाभन्दा बढी विपन्न नागरिक प्रत्यक्ष लाभान्वित भएको गोरख बहादुर गणका गणपति रविन्द्र श्रेष्ठले जानकारी दिनुभयो। “दुर्गम क्षेत्रका नागरिकमा स्वास्थ्यको सहज पहुँच पुगोस् भन्ने उद्देश्यले शिविर आयोजना गरिएको हो,” गणपति श्रेष्ठले भन्नुभयो, “विभिन्न रोगका बिरामीहरूलाई स्वास्थ्य परामर्शसँगै रोगको प्रकृति अनुसार निःशुल्क औषधि उपलब्ध गराइएको छ।”

सामान्य स्वास्थ्य जाँचका लागिसमेत ठूलो खर्च र समय खर्चर टाढा जानुपर्ने बाध्यता हटेपछि स्थानीयवासी निकै खुसी देखिएका छन्। शिविरमा विशेषगरी स्वास्थ्य सेवाबाट बञ्चित ज्येष्ठ नागरिक, महिला तथा बालबालिकाहरूको उल्लेखनीय सहभागिता रहेको थियो। गाउँमै गुणस्तरीय उपचार सेवा पाएपछि स्थानीयले सेनाको यस मानवीय कार्यको उच्च प्रशंसा गरे।

नेपाली सेनाले सामाजिक उत्तरदायित्व अन्तर्गत दुर्गम क्षेत्रमा चलाएको यस किसिमको अभियानले नागरिक र सैनिकबीचको सम्बन्धलाई अझ प्रगाढ र बलियो बनाएको छ। गाउँमै स्वास्थ्य टोली पुग्नुले राज्यको उपस्थितिको महसुस गराएको स्थानीयको बुझाइ छ। सेनाको यो लोककल्याणकारी पहलले विकट क्षेत्रका नागरिकको स्वास्थ्य अधिकार सुनिश्चित गर्न महत्वपूर्ण योगदान पुर्‍याएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*