राजकुमार ह्यारी र मेगनले छाडे शाही कामकाज र पदवी

बाइलाइन नेपाल
५ माघ २०७६, आईतवार ०९:१३

एजेन्सी/ ब्रिटेनका राजकुमार ह्यारी र उनकी पत्नी मेगन मार्केलले शाही अधिकार र उपाधि प्रयोग नगर्ने भएका छन्। अबदेखि उनीहरूले राजपरिवारको सदस्यका हैसियतमा पाउँदै आएको सार्वजनिक कोष पाउनेछैनन्।

यसैगरी उनीहरुले दुबैको विवाहपछि बस्न प्रयोग गरेको फ्रगमोर कटेजको पुनःनिर्माणमा लागेको २.४ मिलियन पाउण्ड तिर्ने चाहाना राखेका छन्। सोको रंगरोगन लगायतको नयाँ मर्मत सम्भारका लागि करबाट उठेको रकम खर्च गरिएको थियो। जनताको पैसा भएकाले उनीहरुले फिर्ता गर्ने इच्छा राखेका हुन्।

यसै वर्षको वसन्तबाट यो लागु हुने बकिङ्हम दरबारले जनाएको छ। सोमबार ब्रिटेनका शाही परिवारका वरिष्ठ सदस्यहरुले राजकुमार ह्यारी र मेगानले भविष्यमा निर्वाह गर्ने भूमिकाका बारेमा छलफल गरेका थिए।

गत साता राजकुमार ह्यारीले आफूहरुले शाही पदवी र अधिकार त्याग्दै नयाँ जीवन सुरु गर्ने घोषणा गरेका थिए। उनीहरुले त्यतिबेला आर्थिकरुपमा आत्मनिर्भर हुने र आफ्नो समय आधा ब्रिटेन र आधा क्यानडामा बिताउने घोषणा गरेका थिए।

राजकुमार ह्यारी र मार्केलको बारेमा पछिल्लो जानकारी दिन ब्रिटेनकी महारानी इलिजावेथले जारी गरेको वक्तव्यमा ‘थुप्रै महिनाहरूको संवाद र पछिल्लो छलफलबाट आफुहरुले आफ्नो नाती र उसको परिवारका लागि रचनात्मक र सहयोगी बाटो पहिल्याएको’ बताएकी छन्।

‘ह्यारी, मेगान र आर्चीलाई मेरो परिवारले सँधै माया गर्नेछ’, जारी वक्तव्यमा उनले भनेकी छिन्।

‘मैले बितेका दुई वर्षमा उनीहरूले भोगेको चुनौतीहरुलाई पहिचान गरेको छु र म उनीहरुको स्वतन्त्र जीवन जिउने इच्छालाई समर्थन गर्छु।’

यसैगरी महारानीले उनीहरुले राजपरिवारका सदस्यको हैसियतले निर्वाह गरेको भूमिकाप्रति कृतज्ञतासमेत प्रकट गरेकी छन्।

उनले यो संझौताले उनीहरुले अब नयाँ सुखद भविष्य र जीवनको सुरुवात गर्ने आशा आफ्नो परिवारले राखेको वक्तव्यमा उल्लेख गरेकी छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*