जापानका पुरुष मन्त्रीले सुत्केरी बिदा लिन्छु भन्दा हेडलाइन समाचार
जापानका वातावरणमन्त्री शिन्जिरो कोइजुमीले आफूले पत्नी सुत्केरी हुँदा दुई साताको बिदा लिन लागेको जनाएपछि उनी देशमा हेडलाइन समाचार बनेका छन् । उनले बच्चाको पहिलो महिनाको हेरचाहको लागि करिब दुई साता विदा लिने जनाएका थिए ।
जापानको मन्त्रिमण्डलका कुनै पनि सदस्यले यसरी पत्नी सुत्केरी भएको बेलामा बिदा लिन लागेको यो पहिलो पटक भएको बताइएको छ ।
जापानमा बच्चा जन्मिएपछि सरकारी सेवामा काम गर्ने पुरुषलाई एक महिना भन्दा बढी समय बिदा बस्न पाउने नियम लागु गरिएको जनाइएको छ ।
तर, केवल ६ प्रतिशत पुरुषले मात्रै यस्तो विदा लिएको सन् २०१८मा पाइएको छ । किनकी उनीहरुलाई निरन्तर काम गर्न दबाब हुने गरेको छ । महिलाहरुको प्रतिशत भने ८२ रहेको छ ।
३८ वर्षिय कोइजुमीले बुधबार पत्रकारहरुसँगको कुराकानीमा सो कुरा बताएका थिए ।
उनले आफ्नो सहयोगीलाई इमेल र भिडियो कन्फेरेन्सको माध्यमबाट आफ्नो प्रतिनिधित्व गर्न लगाउने जनाएका थिए ।
यद्यपि महत्वपूर्ण सार्बजनिक गतिविधि जस्तो संसदको सेसन भने आफूले नछोड्ने उनले जनाएका छन् । उनले त्यस खालको बिदा लिने गत वर्षदेखि नै भन्दै आएकोमा त्यसबारेमा चर्चा भइरहेको थियो ।
कोइजुमीले ४२ वर्षिया फ्रेन्च—जापानी न्यूज प्रेजेन्टर क्रिस्टेल टाकीगावासँग विवाह गरेका छन् ।
उनी जापानका प्रख्यात प्रधानमन्त्री जुनिचिरो कोइजुमीका दोस्रो सन्तान पनि हुन् । उनी जापानको राजनीतिमा राइजिङ्ग स्टारको रुपमा समेत चिनिन्छन् । (बीबीसी)

बाइलाइन नेपाल











