माघको अन्तमा अझै जाडो बढ्ने, हिमपात र वर्षा हुने
हेटौंडा । माघको तेस्रो सातामा प्रवेश गर्न लागिसकेकाले अब जाडो क्रमशः घट्दै जानेमा धेरैको अपेक्षा छ । तर, मौसमविद्हरु भने जाडो पुनः एकपटक बढ्ने भन्दै चिसोबाट बच्न सावधानी अपनाउन सुझाव दिन्छन् । मौसमी प्रणाली थप सक्रिय हुँदा त्यसले चिसो अझै धेरै बढाउनेछ । परिणामः अहिलेकोभन्दा जाडो महसूस हुनेछ ।
“अर्को एउटा प्रणाली आउँदा अहिलेको भन्दा चिसो हुने देखिन्छ । अर्को मौसमी प्रणाली विकास हुँदा योभन्दा कम तापक्रम हुनेछ,” मौसमविद् मञ्जु बासी भन्छिन् ।
गत वर्षहरुमा काठमाडौं उपत्यकाको तापक्रम शून्यसम्म झथ्र्यो । यो वर्ष पनि त्यो सम्भावना नसकिएको तर यकिन भने गर्न नसकिने मञ्जु बताउँछिन् । “यो वर्ष पनि काठमाडौंमा तापक्रम शून्यमा झर्ने सम्भावना नभएको होइन, छ,” उनी भन्छिन्, “अब आउने मौसमी प्रणालीले कति असर गर्छ त्यसमा निर्भर हुनेछ ।”
पश्चिमी न्यून चापीय प्रणाली थप सक्रिय हुँदा तापक्रम घट्ने भएको हो । यद्यपि, शून्य डिग्री नै पुर्याउँछ भन्ने यकिन नरहेको उनी बताउँछिन् । दुई तीन दिनमा शून्य डिग्रीमा पुर्याउने सम्भावना कम हुने तर यो प्रणाली लामो समय बलियो भएर सक्रिय रहेको खण्डमा भने यो सम्भावना पनि रहन्छ ।
बुधबारबाट पश्चिमी न्यून चापीय प्रणालीले पश्चिम नेपालबाट असर गर्न सुरु गर्ने मौसमविद् मञ्जु बताउँछिन् । “बिहीबार पनि पश्चिमी भू–भागमै यसले धेरै असर गर्छ । शुक्रबारसम्म यसले देशब्यापी रुपमा असर गर्नेछ,” उनले भनिन् । यो प्रणाली बलियो हुँदा हिमपात र वर्षा हुनेछ । हल्कादेखि मध्यमसम्म वर्षा र हिमपात हुने भएकाले यसका कारण हुने थप चिसोबाट जोगिन सतर्क हुुनुपर्नेमा उनको जोड छ ।
यसैबीच, आज वाग्मतीसहित पाँचवटा प्रदेशमा वर्षाको सम्भावना रहेको छ । तराईमा हुस्सु र कुहिरो लागिरहेको छ । आज प्रदेश १, वाग्मती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानमा तथा मधेस प्रदेश र लुम्बिनी प्रदेशका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

बाइलाइन नेपाल











