चीनमा पानीको चरम अभाव
चीनमा पानीको सङ्कट बढ्दै जान थालेको छ । उत्तर चीनको अवस्था अरब देशको भन्दा पनि नराम्रो छ । चीनको यो पानीको सङ्कट एसियाका अन्य देशका लागि पनि चिन्ताजनक हुन सक्छ । चीनका हजारौँ नदी लुप्त भइसकेका छन् । तर औद्योगिकीकरण र प्रदूषणबाट बचेका पानीलाई पनि प्रयोग गरिएको छैन । चीनको जनसङ्ख्याले विश्वको २० प्रतिशत ओगटेको छ भने पानी ७ प्रतिशत मात्रै ।
केही अनुमानका अनुसार ८० देखि ९० प्रतिशत जमिनको पानी र यसको आधा नदीका पानी पिउन योग्य छैन । आधाभन्दा अधिक जमिनको पानी र एक–चौथाई नदी यति प्रदूषित भएका छन्, यसको उपयोग उद्योग वा खेतीका लागि समेत गर्न सकिन्न । विशेषज्ञका अनुसार पानीको कमीका कारण चीनमा बर्सेनी १०० अर्ब डलरभन्दा बढीको नोक्सानी हुने गरेको छ । यसले कृषि भूमिको ठुलो हिस्सा मरुभूमि बन्न गइरहेको छ ।
सरकारी उपाय पनि कम प्रभावकारी
चीन सरकारले जल दक्षताको सुधारलाई बढाएको छ । तर सङ्कट रोक्न यो पर्याप्त छैन । डिसेम्बरमा मात्रै चिनियाँ अधिकारीले ग्वाङझोउ र सेनझेन यो वर्ष भीषण सुख्खा मौसमको सामना गर्ने बताएका छन् । जबकि यी दुवै क्षेत्र अपेक्षाकृत रूपमा पानीको मामिलामा भरपुर मानिएको सहर हुन् । सन् २००५ मा त्यति बेलाका चिनियाँ प्रधानमन्त्री वेन जियानबाओले भनेका थिए,‘पानीको कमीले चीनको अस्तित्वलाई खतरामा पारेको छ ।’ उनले पानीको प्रत्येक थोपाका लागि लड्नु आवश्यक भएको बताएका थिए ।
छिमेकी देशका लागि सङ्कट
चीनको अधिकांश ताजा पानी तिब्बत जस्तो क्षेत्रमा केन्द्रित छ । मेकाङ नदीमा विशाल बाँधको एक शृङ्खला बनाएर चीनले थाइल्यान्ड र लाओस् जस्ता दक्षिण पूर्वी एसियाली देशमा पटक–पटक सुख्खा र विनाशकारी अवस्थाको सुरुवात गरेको छ । झिजियाङमा नदीको डाइभर्सनले मध्य एसियामा विनाशकारी प्रभाव परिरहेको छ ।
हिमालयबाट निक्लने नदीमा चीनका बाधको बढ्दो खतरा
चीनले भारत पुग्नु पहिले नै ब्रह्मपुत्र नदीमा बाध बनाउने योजना बनाएको छ । यसबाट भारत र बंगलादेशलाई नोक्सानी पुग्ने छ । भारतका रणनीतिक विश्लेषक बह्म चेलानी भन्छन्,‘दक्षिण चीन सागर र हिमालयमा चीनका क्षेत्रीय विस्तारका साथै अन्तर्राष्ट्रिय नदी घाटीमा जल संशाधन आफ्नो अनुकूल बनाउन लुकीछिपीको प्रयास गरिरहेको छ ।’

बाइलाइन नेपाल











