तिब्बतमा पहिलोपटक ‘बुलेट ट्रेन’ सञ्चालनमा

बाइलाइन नेपाल
२८ असार २०७८, सोमबार ०८:२८

सीएनएन । तिब्बतमा पहिलोपटक यात्रीहरुले तीव्र गतिमा कुद्ने रेलमा बसेर सो क्षेत्रका सुन्दर पहाडी दृश्यहरुको मज्जा लिन पाउने भएका छन् ।

तिब्बतको लाह्सालाई निङ्ची सहरसँग जोड्ने ४३५ किलोमिटरको रेल लाइन गएको जुन २५ तारिखदेखि सञ्चालनमा आएको हो, जसले चीनका सबै प्रान्तलाई ‘हाइ स्पिड’ रेल भ्रमणको पहुँच दिलाउँछ ।

तर, ‘विश्वको छाना’ भनेर चिनिने तिब्बतको पहाडी क्षेत्रमा रेलमार्ग निर्माण गर्नु सजिलो थिएन । यसको ९० प्रतिशत काम सम्पन्न गर्न ६ वर्ष लागेको थियो र यो मार्ग समुद्री सतहभन्दा तीन हजार मिटर उचाइमा रहेको छ ।

लाह्सा–निङ्ची मार्गमा ४७ वटा सुरुङ र १२१ पुलहरु छन्, त्यो कुल यात्राको ७५ प्रतिशत मार्गमा पर्छ । यसमा ५२५ मिटर लामो जाङ्मु रेलवे पुल पनि पर्छ, त्यो विश्वकै सबैभन्दा ठूलो र उचाइमा बनेको ‘आर्क ब्रिज’ हो ।

यो रेलमार्ग निर्माण गर्न चीनले ५.६ अर्ब डलर खर्च गरेको छ । फक्सिङ सिरिजको यो अत्यधिक तीव्र गतिमा कुद्ने विद्युतीय रेल चिनियाँ सरकारको स्वामित्वमा रहेको चाइना स्टेट रेलवे ग्रुपले निर्माण तथा सञ्चालन गरेको हो ।

उच्च स्थानमा यात्रा गर्नकै लागि भनेर यो रेलमा अटोमेटिक अक्सिजन सप्लाइ गर्ने प्रणाली जडान गरिएको छ, जसले अक्सिजनको स्तरलाई २३.६ प्रतिशतले नियमित गराइरहन्छ । यो भनेको सामान्य वातावरणमा पाइने २१ प्रतिशत अक्सिजनभन्दा केही धेरै हो । त्यस्तै, रेलका झ्यालहरुमा पनि विशेष प्रकारको ग्लास राखी निर्माण गरिएको छ, जसले सो क्षेत्रको उच्च सौर्य विकीरणको स्तर थाम्न सक्छ ।

यस रेललाई दुई थरी स्रोतले ऊर्जा दिन्छ, आन्तरिक ऊर्जा र विद्युतीय इन्जिन । यही डुअल–पावर इन्जिनले २.५ घण्टाको रेल यात्रालाई सहज र आरामदायक बनाइदिन्छ ।

यसलाई १६० किलोमिटर प्रतिघण्टाको रफ्तारमा सञ्चालन गराइएको छ । यो भनेको अधिकतम गति, ३५० किलोमिटर प्रतिघण्टाको तुलनामा धेरै कम हो ।

लाह्सा–निङची सिचुआन–तिब्बतअन्तर्गतको एक ७४० किमि रेलमार्गमा पर्छ । जसले अन्त्यमा सिचुआन प्रान्तको राजधानी छेङ्दुसँग लाह्सालाई जोड्छ । यसले दुई सहरबीचको दूरी घटाएर यात्रालाई ४८ घण्टाबाट १३ घण्टा बनाइदिएको छ । यही मार्गलाई निरन्तरता दिँदै अर्को याआन–निङ्ची रेलमार्गको निर्माण पनि सुरु भइसकेको छ, त्यो सन् २०३० मा सम्पन्न हुने बताइएको छ ।

यसरी चीनले आफ्नो रेलवे नेटवर्कलाई देशका कुना–कुनासम्म फैलाइरहेको छ । देशभरका ४० हजार किलोमिटर रेलमार्गहरु चीनका प्रमुख सहरलाई जोडिरहेका छन् । र, सरकारले यसलाई २०३५ सम्ममा थप ७० हजार किलोमिटरसम्म विस्तार गर्ने अपेक्षा गरेको छ ।

बेइजिङ सरकारले आफ्नो हाइ–स्पिड रेलवे सेवालाई देशको बढ्दो आर्थिक प्रभाव र समृद्धिका रुपमा हेर्ने गर्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*