उत्तर कोरियामा विदेशी कार्यक्रम हेर्नेलाई मृत्यु दण्डसम्मको सजाय दिने नयाँ कानुन

बीबीसी
२४ जेष्ठ २०७८, सोमबार ०८:३७

बीबीसी । उत्तर कोरियाले देशवासीमा विदेशी प्रभाव नियन्त्रण गर्न पहिलेभन्दा झन कडा कानुन ल्याएको छ । यसमा विदेशी फिल्म हेर्नेदेखि, विदेशी पहिरन लगाउने र फरक तरिकाले बोल्ने या ‘स्ल्याङ’ भाषाको प्रयोग गर्नेलाई मृत्युदण्डसम्मको सजाय हुन सक्ने बताइएको छ ।

युन मिसोले ११ वर्षको हुँदा एक व्यक्ति दक्षिण कोरियाको टेलिसिरियल हेर्दैगर्दा पक्राउ परेपछि गोली हानी मारिएको देखेकी थिइन् । उनका अनुसार त्यस समय उनको छिमेकभरका सबैलाई त्यसरी क्रुरतापूर्ण मृत्युको सजाय दिइएको हेर्न आदेश दिइएको थियो ।

हाल दक्षिण कोरियामा बसिरहेकी उनले बीबीसीसँग बताइन्, “हामीले त्यो दृश्य हेरेनौँ भने हामीलाई पनि देशद्रोही मानिन्थ्यो । मलाई अझै पनि त्यो घटना स्पष्ट याद छ । ती व्यक्तिको आँखामा पट्टी बाँधिएको थियो । तर, उनको आँसु प्रष्टै देख्न सकिन्थ्यो । त्यो पट्टी उनको आँसुले पूरै भिझेको थियो । यो घटनाले अझै पनि मलाई मानसिक यातना दिन्छ । उनीहरुले ती व्यक्तिलाई ठाउँको ठाउँ गोली हानी मारे ।”

यसरी उत्तर कोरियाली सेनाले अवैध भिडियो तस्करी गर्नुको सजाय मृत्यु हुनेछ भन्ने सबैको मनमस्ष्तिकमा छाप बसाइसकेको थियो ।

अहिलेको नयाँ कानुन अन्र्तगत चाहिँ ठूलो मात्रामा दक्षिण कोरियाली, अमेरिकी या जापानी मिडियाका सामग्रीसँग कोही समातिएमा सो व्यक्तिलाई मृत्युदण्ड दिइनेछ भने त्यसरी विदेशी सामग्री हेर्नेलाई १५ वर्षसम्म जेलमा श्रमिकका रुपमा कैद गरिनेछ ।

देशप्रमुख किम जोङ उनले हालै मात्र राष्ट्रिय सञ्चारलाई पत्र लेख्दै युवामाझ अनुचित, असामाजिक व्यवहारहरुलाई कडा रुपमा नियन्त्रण गर्न भनेका हुन् । यसमा उनले विदेशी बोली, कपालको स्टाइल, पहिरनसमेतलाई समाजको विष भनेर व्याख्या गरेका छन् ।

यसअघि २००२ मा उत्तर कोरियाली सेनाले अवैध विदेशी मिडिया सामग्रीको खोजी गर्दै एउटा युनिभर्सिटीमा छापा मार्दा २० हजारभन्दा धेरै सिडी फेला पारेका थिए जसले सरकारलाई ठूलो झट्का दिएको थियो । यसरी देशभर खोजी गर्ने हो भने सङ्ख्या असीमित हुन सक्छ । त्यसपछि यस विरुद्धको सजाय झन कडा पारिएको हो । सुरुआतमा एक वर्ष कैद गरि श्रम क्याम्पमा राखिन्थ्यो पछि त्यही कारबाहीलाई बढाएर अझ धेरै वर्ष थप गरिएको हो । हाल राजधानी सिओलमा बसोबास गर्ने किम गुम ह्योकका अनुसार अहिले श्रम क्याम्पका ५० प्रतिशतभन्दा धेरै युवा विदेशी मिडिया हेरेकै कारण कैद भएका छन् ।

डेली एनके अनलाइन प्रकाशकले यसअघि तीन किशोरलाई दक्षिण कोरियाली के–पप सेलिब्रेटी जसरी कपाल काटेको आरोपमा पुनःपरामर्शका लागि क्याम्प पठाइएको खबर गरेको थियो । किम अहिले उत्तर कोरियाका नागरिकमा बाहिरको समाचार र जानकारीहरु पुग्न नदिन सक्दो प्रयास गरिरहेका छन् । किनकी उत्तर कोरियामा जीवन अझै सहज छैन । लाखौँ मानिस भोकभोकै छन् । गत वर्ष महामारी सुरु भएदेखि त्यहाँ सरसामानको निर्यात ठप्प गरिँदा खाद्यवस्तुलगायत दैनिक उपभोग्य वस्तुको अभाव झन चरम बन्न पुगेको बताइन्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*