इजरायलले ध्वस्त बनाइदियो गाजामा एपी र अलजजिराको कार्यालय रहेको १५ तले भवन

एजेन्सी
२ जेष्ठ २०७८, आईतवार ०८:५४

इजरायल र गाजामा रहेका प्यालेस्टाइनी विद्रोही समूहबीचको रकेट हानाहान अहिले पनि जारी छ। अघिल्लो साताको सोमबारदेखि सुरू भएको रकेट हानाहान इजरायली सेना र गाजालाई नियन्त्रणमा लिएको विद्रोही समूह हमासले जारी राखेका छन्।

शनिबार इजरायलले गाजामा रहेको एउटा १५ तले भवनलाई निशाना बनाएर हवाई आक्रमण गरेको छ। अमेरिकी समाचार संस्था एसोसिएट प्रेस (एपी) र कतारी टेलिभिजन च्यानल अलजजिराको कार्यालय रहेको उक्त भवनमा किन आक्रमण गरिएको हो पुष्टि भइसकेको छैन। इजरायली सेनाले उक्त भवनमा हमासको पनि कार्यालय रहेकाले आक्रमण गरेको जनाएको छ। तर एपी र अलजजिराका पत्रकारहरूले त्यहाँ हमास समूहको कुनै कार्यालय नभएको दाबी गरेका छन्।

आक्रमण हुनभन्दा पहिला नै भवन छोड्न चेतावनी आएकाले उक्त भवनमा रहेका पत्रकारहरू सुरक्षित रहेको बताइएको छ। अलजजिरा टेलिभिजनले उक्त भवन ढल्दै गरेको लाइभ भिडिओ प्रसारण गरेको थियो।

यसैबीच आइतबार सबेरै इजरायली सेनाले हमास प्रमुखका घरमा आक्रमण गरेको छ। सन् २०१७ देखि हमासको राजनीतिक र सैन्य विभाग प्रमुख रहेका येहा अल सिनवारको घरमा आक्रमण गरिएको हो।

इजरायलको आक्रमणमा परी अहिलेसम्म गाजामा १ सय ४९ जनाले ज्यान गुमाएका छन्। तीमध्ये ४१ जना बालबालिका रहेको बताइएको छ। इजरायलले आफ्नोतिर दुई बालबालिकासहित १० जनाको मृत्यु भएको जनाएको छ।

दुबै पक्षले आक्रमण जारी राखेका बेला संयुक्त राष्ट्रसंघ, संयुक्त राज्य अमेरिका र इजिप्टका दूतहरूले युद्धविरामका लागि प्रयास जारी राखेका छन्। इजरायल-प्यालेस्टाइनी तनावबारे छलफल गर्न संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्को बैठक पनि बस्दै छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*