भारतमा एकै दिन झण्डै ४ लाख सङ्क्रमित थपिए
भारतमा एकै दिन झण्डै ४ लाखमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सरकारी अधिकारीहरूले आइतबार दिएको जानकारी अनुसार थप ३ लाख ९२ हजार ४८८ जनालाई कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको हो ।
भारतमा कोरोनाभाइरसबाट अहिलेसम्म कुल १ करोड ९५ लाख ५७ हजार ४५७ जना सङ्क्रमित भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भारतमा ३ हजार ६८९ जनाको कोरोनाभाइरसका कारण मृत्यु भएको छ । योसँगै भारतमा अहिलेसम्म कोरोनाभाइरसका कारण मृत्यु भएकाहरूको सङ्ख्या २ लाख १५ हजार ५४२ पुगेको छ । भारतमा हाल ३३ लाख ४९ हजार ६४४ सक्रिय संक्रमित छन् ।
सरकारी अधिकारीहरूले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा मात्रै ३ लाख ७ हजार ८६५ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । भारतमा अहिलेसम्म सङ्क्रमणमुक्त भएकाहरूको सङ्ख्या १ करोड ५९ लाख ९२ हजार २७१ पुगेको अधिकारीहरूले जनाएका छन् । भारतीय स्वास्थ्य अनुसन्धान परिषद्ले अहिलेसम्म २९ करोड १ लाख ४२ हजार ३३९ पटक स्वाब परीक्षण गरेको छ भने पछिल्लो एक दिनमा मात्रै १८ लाख ४ हजार ९५४ जनाको कोरोना परीक्षण गरिएको छ ।

बाइलाइन नेपाल











