कोरोनाको कहरबीच मोदीसँग गुहार माग्दै केजरीवालले भने– म मुख्यमन्त्री भएर पनि केही गर्न सकिरहेको छैन

बाइलाइन नेपाल
१० बैशाख २०७८, शुक्रबार १३:५४

नयाँ दिल्ली । भारतमा कोरोना संक्रमण दर लगातार बढ्दै गएपछि त्यहाँका प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोनाबाट बढी प्रभावित राज्यका मुख्यमन्त्रीहरुसँग छलफल थालेका छन् । सोही क्रममा शुक्रबार बिहान दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालसँग मोदीले छलफल गरेका छन् ।

छलफलका क्रममा मुख्यमन्त्री केजरीवालले परिस्थिति निकै गम्भीर भइसकेको बताए । ‘हामी कसैलाई मर्नका लागि त्यसै छोड्न सक्दैनौं, हामीले केन्द्रका मन्त्रीहरुलाई फोन गरेका थियौं, सुरुमा उहाँहरुले सहयोगको आश्वासन दिनुभयो,’ केजरीवालले मोदीसँग भने, ‘तर अब उहाँहरु पनि थाकिसक्नुभयो ।’

दिल्लीमा अक्सिजनको उद्योग नभएकै कारण यहाँका बिरामीका लागि अक्सिजनको कमी हुन नहुने उनको भनाइ थियो । उनले मोदीलाई प्रश्न गरे, ‘यदि कुनै अस्पतालमा एक–दुई घण्टाका लागिमात्र अक्सिजन बाँकी छ या अक्सिजन आपूर्ति रोकियो र मानिसको मृत्यु हुने अवस्था आयो भने फोन उठाएर म कोसँग कुरा गरौं ? कसैले अक्सिजनको ट्रक रोक्यो भने कोसँग कुरा गरौं ?’

केजरीवालले हरेक जनताको जीवन उत्तिकै महत्त्वपूर्ण छ भनेर मानिसलाई विश्वास दिलाउन सक्नुपर्ने बताए । ‘म तपाईको मार्गदर्शन चाहन्छु,’ मोदीसमक्ष केजरीवालले भने, ‘अक्सिजनको ट्रक ठाउँठाउँमा रोक्न थालिएको छ, तपाईले ती राज्यका मुख्यमन्त्रीसँग कुरा गरिदिनुभयो भने धेरै ठुलो काम हुनेछ, म मुख्यमन्त्री भएर पनि केही गर्न सकिरहेको छैन ।’

उनले राष्ट्रियस्तरमा ठोस योजना बनाएर अघि बढ्नुपर्ने खाँचो औंल्याए । देशको सबै अक्सिजन प्लान्टलाई सेनामार्फत सरकारले नियन्त्रणमा लिनुपर्ने उनको भनाइ छ ।

जवाफमा मोदीले ‘अक्सिजन एक्सप्रेस’ सञ्चालन भइसकेको बताएका थिए । केजरीवालले खोपको पनि ‘एक देश, एक दर’ हुनुपर्नेमा जोड दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*