दक्षिण कोरिया आइपुगे अमेरिकी विदेश मन्त्री र रक्षा मन्त्री

बाइलाइन नेपाल
४ चैत्र २०७७, बुधबार १३:२९

सियोल । अमेरिकी रक्षा मन्त्री लोयड अस्टिन र विदेश मन्त्री एन्टोनी ब्लिन्केन दक्षिण कोरियाको भ्रमणका सिलसिलामा सियोल आइपुगेका छन् । चीन मामिला र उत्तर कोरिया मुख्य मुद्दा बनाएका मन्त्रीद्वयले अमेरिकासँगको दक्षिण कोरियाको सम्बन्धलाई थप सुदृढ बनाउन प्रयास गर्ने बताइएको छ । उनीहरुले दक्षिण कोरियाका उच्च अधिकारीहरुसँग छलफल गर्नेछन् ।

अमेरिकी राष्ट्रपति जो बाइडेनको प्रशासनले उदीयमान चीनको बढ्दो प्रभावलाई रोक्न एसियाका प्रमुख साझेदार मुलुकहरूसँगको गठबन्धनलाई अझ बलियो बनाउन चाहेको छ । उनीहरुले यसअघि जापानको भ्रमण गरेका थिए । यो उनीहरुको पहिलो विदेश भ्रमण पनि हो ।

टोकियोबाट सियोल प्रस्थान गर्नुअघि अमेरिकी विदेश मन्त्री ब्लिन्केनले देशभित्र बढी दमन र विदेशमा तिब्रताका साथ विस्तार हुने चाहना चीनले राखेको आरोप लगाए । उनले पूर्व तथा दक्षिण चीन सागरदेखि ताइवानमाथि चीनले जबर्जस्ती गर्न खोजिरहेको बताए ।

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले गठबन्धन मुलुकलाई चिढ्याएका कारण अमेरिका र यसका साझेदार मुलुकले दबाब खेप्नुपरेको भन्दै बाइडेन प्रशासनले गठबन्धनलाई पुनर्जीवित तुल्याउने घोषणा गरेका छन् । अस्टिन र ब्लिन्केनले उत्तर कोरियाली नीतिको पनि समीक्षा गर्ने अपेक्षा गरिएको छ । वक्तव्यमा उनीहरुले उत्तर कोरियालाई पूर्ण आणविक निरस्त्रीकरणका लागि आग्रह गरेका छन् ।

उनीहरुले उत्तर कोरियाली आणविक हातहतियार अन्तरराष्ट्रिय शान्ति र स्थायित्वका लागि खतरा रहेको पनि बताएका छन् । विदेश मन्त्री ब्लिन्केनले उत्तर कोरियाली नेता किम जङ अनकी बहिनीले दिएको वक्तव्यका बारेमा कुनै टिप्पणी गर्न चाहेनन् । उनले भने, “हामी उत्तर कोरियामाथि प्रभावकारी दबाब सिर्जना गर्न सकिने विभिन्न पक्षमाथि विचार विमर्श गरिरहेका छौँ ।” –एएफपी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*