अमेरिकी संसदमा आक्रमण, एक जनाको मृत्यु
अमेरिकी संसदमा भएको हिंसात्मक प्रदर्शनमा एक महिलाको मृत्यु भएको छ । प्रदर्शनका क्रममा ती महिलाको छातिमा गोली लागेको र केही समयपछि उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
फक्स न्यूजका अनुसार, ती महिलाको मृत्यु भएको प्रहरीले पुष्टि समेत गरिसकेको छ । ती महिलाले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको झण्डा बोकिरहेकी हुन्छिन् । त्यतिनै बेला उनको छातिमा गोली लाग्छ र उनी तल खस्छिन् । अमेरिकी समयअनुसार ३ बजे उनलाई क्यापिटल बिल्डिङबाट निकालिएको थियो ।
बुधवार अमेरिकी संसद क्यापिटल बिल्डिङमा ट्रम्पका समर्थकहरूले हिंसात्मक आन्दोलन गरेका हुन् । सांसदहरूले जो बाइडनको जीतको पुष्टि गर्न छलफल गरिरहेका बेला यस्तो हंगामा भएको थियो ।
सदनमा बहस चलिरहेकै समयमा ट्रम्प समर्थकहरूले चुनावी परिणाम रद्द गर्न माग गर्दै प्रदर्शन गरेका थिए । प्रदर्शनका क्रममा प्रदर्शनकारी र प्रहरीबीच हिंसात्मक झडप समेत भएको छ । अवस्था नियन्त्रण बाहिर गएपछि त्यहाँको नेशनल गार्डलाई क्यापिटल हिल पठाइएको फक्स न्यूजले जनाएको छ ।

बाइलाइन नेपाल











