कोरोनाविरुद्धको खोप नआउँदासम्म दिल्लीका सबै विद्यालय बन्द हुने

बाइलाइन नेपाल
११ मंसिर २०७७, बिहीबार ०८:४२

एजेन्सी/ भारतको केन्द्रीय राजधानी रहेको दिल्ली प्रदेशमा कोरोनाभाइरस विरुद्धको खोप नआउदासम्म विद्यालय बन्द नै रहने भएका छन्।
खोप नआउदासम्म बालबालिकाहरू विद्यालयमा सुरक्षित हुन नसक्ने भएकाले अहिले नै विद्यालयहरू खोल्न ठिक नहुने निश्कर्ष प्रदेश सरकारले निकालेको हो।

दिल्ली प्रदेशका उप मुख्यमन्त्री तथा शिक्षा मन्त्री मनिष सिसोडियाले बुधबार भने, ‘जहिलेसम्म खोप आउँदैन त्यहीलेसम्म दिल्लीका विद्यालयहरू बन्द नै रहन्छन्।’कोरोनाविरुद्धको खोप नआउँदै विद्यालय खोल्नु घातक हुने भएकाले विद्यालय खोल्ने निर्णय गर्न नसकिएको उनको भनाइ छ।

भारतको केन्द्रीय राजधानी समेत रहेको दिल्ली प्रदेशमा गत मार्च १६ देखि सबै विद्यालयहरू बन्द नै रहेका छन्। कोरोना भाइरसको महामारी फैलिन थाल्नासाथ सरकारले विद्यालय बन्द गराएको हो।

भारतका कतिपय प्रदेशहरूले विद्यालय खोल्ने निर्णय गरेपनि दिल्ली प्रदेशले भने बन्दलाई अझै कायमै राख्ने निर्णय गरेको छ।तुलनात्मक रुपमा कोरोना भाइरसबाट बढी प्रभावित भएकाले पनि दिल्ली सरकारले विद्यालय खोल्ने जोखिम नलिएको हो।

नयाँ दिल्लीमा मात्रै अहिलेसम्म कोरोना भाइरसबाट पाँच लाख ४० हजार ५४१ जना सङ्क्रमित भएका छन् भने आठ हजार ६२१ जनाको मृत्यु भएको छ।दिल्ली प्रदेश भारतमा कोरोना भाइरसबाट धेरै प्रभावित छ प्रदेश मध्येमा पर्दछ।

भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बुधबार दिएको जानकारीअनुसार अहिलेसम्म भारतमा ९२ लाख २२ हजार २१६ जना सङ्क्रमित भएका छन्। त्यसैगरी कोरोनाका कारण अहिलेसम्म मृत्यु भएकाहरूको सङ्ख्या भने एक लाख ३४ हजार ६९९ पुगेको अधिकारीहरूले जनाएका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*