बिहारको निर्वाचनमा सुध्रियो कम्युनिस्ट पार्टीको प्रदर्शन
भारतको बिहार प्रदेशमा सम्पन्न विधानसभा निर्वाचन परिणाम अनुसार कम्युनिस्ट पार्टीको प्रदर्शनमा सुधार देखिएको छ ।सन् २०१५ को निर्वाचनमा ३ सिटमा सीमित रहेका कम्युनिस्ट पार्टीले यसपालि १६ सिट जितेका छन् । २०१५ मा सीपीआई (मार्क्सवादी लेलिनवादी) ले मात्रै ३ सिट जितेको थियो ।
यसपालि कम्युनिस्ट पार्टी अफ इन्डिया (सीपीआई) ले २ सिट, सीपीआई (मार्क्सवादी) ले २ सिट, सीपीआई (मार्क्सवादी लेलिनवादी) ले १२ सिट जितेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
भारतको बिहार प्रदेशमा भएको विधानसभा निर्वाचनमा मुख्यमन्त्री नितिश कुमार नेतृत्वको एनडीए गठबन्धनले बहुमत हात पारेको छ । मंगलवार अबेर राति सार्वजनिक अन्तिम मतपरिणाम अनुसार सत्तारुढ एनडीए गठबन्धनले १२५ सिट जितेको छ । सरकार बनाउन १२२ सिट मात्रै आवश्यक पर्छ । बिहारमा २४३ विधानसभा सिटमा निर्वाचन भएको थियो ।
निर्वाचनमा विपक्षी नेता तेजस्बी यादव नेतृत्वको महागठबन्धन ११० सिटमै सीमित भयो । यादवको दल राष्ट्रिय जनता दल (आरजेडी) ७५ सिटका साथ पहिलो पार्टी बनेपनि सरकार बनाउन बहुमत ल्याउन सकेन ।
प्रधानमन्त्री नरेन्द्र मोदीको पार्टी भारतीय जनता पार्टी (बीजेपी) ७४ सिटका साथ दोस्रो पार्टी बनेको छ । सन् २०१५ को निर्वाचनमा ५३ सिट मात्रै ल्याएको बीजेपी यसपालि चम्किएको छ । एनडीए गठबन्धनका नेतृत्वकर्ता नितिश कुमारको पार्टी जनता दल युनाइटेड (जेडीयू) भने ४३ सिटमै सीमित भएको छ । २०१५ को निर्वाचनमा जेडीयूले ७१ सिट जितेको थियो । निर्वाचनमा भारतीय कांग्रेसले १९ सिट जितेको छ ।
एनडीए गठबन्धनबाट नितिश कुमार मुख्यमन्त्रीको रूपमा प्रचार गरिएकाले उनी सातौं पटक पुनः मुख्यमन्त्री बन्ने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । नितिश लामो समयदेखि बिहारको सत्ता सम्हाल्दै आएका छन् ।

बाइलाइन नेपाल











