होम आइसोलेसनमा कसरी बस्ने सुरक्षित ? विशेषज्ञका ११ सुझाव
पहिलो संक्रमित देखिएको नौ महिनापछि नेपालमा कोभिड-१९ बाट मृत्यु हुनेको संख्या एक हजार नाघेको छ । तीमध्ये पछिल्लो समय घरमै आइसोलेसनमा बस्ने संक्रमितको मृत्यु बढ्दै गइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकले देखाएको छ ।
अहिलेसम्म कोरोनाको संक्रमणबाट मर्नेको संख्या १ हजार ४ पुगेको छ । त्यसमध्ये होम आइसोलेसनमा ज्यान गुमाउनेको सख्या २ सय २६ छ । दुई महिनाअघि होम आइसोलेसनमा मृत्यु हुने ६५ जना मात्र थिए ।
कोरोना संक्रमणको संख्या बढ्दै जाँदा घरमै आइसोलेसन बस्ने संक्रमितहरूको संख्या बढ्दै गयो । अस्पतालमा बेड अपुग हुन थालेपछि सरकारले गम्भीर अवस्थाका बाहेक अरु संक्रमितलाई घरमै आइसोलेसनमा बस्न आग्रह गर्यो । तर, घरमै ज्यान जानेको संख्या बढ्न थालेपछि संक्रमितहरूमा भय उत्पन्न भएको छ ।
स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार हाल सक्रिय संक्रमित रहेका ३७ हजार ४ सय ७६ मध्ये ३० हजार ६ सय ९४ जना घरमै सामान्य उपचार गरेर बसिरहेका छन् ।सर्वसाधारणमा कोरोनाप्रतिको डर हराउँदै जानु र पछिल्लो समय चाडपर्वमा भीडभाड बढ्दै जाँदा संक्रमण डरलाग्दोसँग फैलिइरहेको छ । होम आइसोलेसनमा बस्ने संक्रमित संख्या पनि दोब्बरले बढेको छ । योसँगै घरमा मृत्यु हुने बिरामीको संख्या बढेको हो ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा. अनुप बास्तोला घरमा आइसोलेसनमा बस्नु सुरक्षित भए पनि आवश्यक मापदण्ड पालना नगर्दा स्वास्थ्य अवस्था जटिल बन्ने गरेको बताउँछन् । होमआइसोलेसनमा बस्ने संक्रमित र त्यस्ता व्यक्तिका परिवारले यी सुरक्षाका मापदण्ड अपनाए चाँडै निको हुन सकिने उनको सुझाव छ ।
होम आइसोलेसनमा कसरी सुरक्षित बस्ने ?
– घाम लाग्ने उज्यालो कोठामा संक्रमितलाई राख्ने ।
– संक्रमितलाई सकेसम्म छुट्टै बाथरुम प्रयोग गर्न लगाउने ।
– संक्रमितलाई लक्षण नदेखिएको खण्डमा संक्रमित आफैँले दिनहुँ कोठा सफा राख्ने ।
– संक्रमितलाई दिनहुँ पोषिलो खानेकुरा, पर्याप्त मात्रामा प्रोटिन, भिटामिन सी भएका खानेकुरा खुवाउने ।
– गुर्जो पानी सेवन गर्नुअगाडि सेवनकर्ताको ब्लडप्रेसरको अवस्था जाँच गर्ने । यदि ब्लड प्रेसर कम छ भने दिनको एक पटक गुर्जो पानीसँग सख्खर अथवा मह हालेर मात्र सेवन गर्ने ।
– संक्रमितलाई सकेसम्म सकारात्मक कार्यमा लगाउने । सामाजिक दूरी कायम गरेर संक्रमितसंग मोटिभेट गर्ने खालका कुराकानी गर्ने ।
– संक्रमितलाई कुुनै पनि काम गर्न दबाब नदिने ।
– पुस्तक तथा सकारात्मक भावना जागृत गराउने खालका सामग्री वा सिनेमा देखाउने ।
– संक्रमितको साथमा अक्सिजन नाप्ने अक्सिमिटर, ज्वरो नाप्ने थर्मोमिटर अनिवार्य राखिदिने ।
– अक्सिजनको कमी भएमा तत्काल बन्दोबस्त गर्ने । घरमै बन्दोबस्त गर्न नसके तत्काल अक्सिजन पाउने स्थान अस्पताल वा क्लिनिकमा लैजाने ।
– सास लिन समस्या भएमा जतिसक्दो चाँडो अस्पताल वा चिकित्सकको सम्पर्कमा पुग्ने ।

बाइलाइन नेपाल











