कोरोनाभाइरस रोकथामको एउटा अचूक अस्त्र: मास्कको अनिवार्य प्रयोग

एजेन्सी
९ कार्तिक २०७७, आईतवार ०७:२०

कोरोनाभाइरस संक्रमणलाई रुघाखोकीभन्दा कमजोर भाइरस भनिँदै गर्दा अमेरिकामा चाहिँ यसले फेरि उत्पात मच्चाउन थालेको छ । गत शुक्रबार मात्रै त्यहाँ संक्रमणका ८५ हजार नयाँ केसहरु फेला परेका छन् । युरोपका कतिपय देशहरुमा पनि भाइरस संक्रमणको प्रकोप बढ्न थालेका छन् । अब जाडो महिना लाग्दै जाँदा यो भाइरस संक्रमणको प्रकोप झनै खतरनाक बन्दै पो जाने हो कि भन्ने चिन्ताले सताउन थालेको छ ।

यसबीच यो भाइरसको संक्रमण रोक्ने कुनै प्रभावकारी खोप–औषधी बनिसकेको छैन । बनेका औषधी–खोपहरु जतिसुकै फास्टट्र्याकबाट प्रयोगमा ल्याइएपछि त्यसको सम्पूर्ण प्रभावकारिताको आँकलन र मूल्यांकन गर्न कुर्नको विकल्प छैन । यो स्थितिमा कोरोनाभाइसको संक्रमण रोक्न अहिलेसम्मकै सबैभन्दा प्रभावकारी उपाय भनेको जनस्वास्थ्यका नियमहरुको कठोर पालना नै मानिँदै आइएको छ ।

जनस्वास्थ्यका नियमहरु भन्नाले मास्कको अनिवार्य प्रयोग अनि भौतिक दूरीको नियमको पालना मुख्यतः पर्दछ । त्यसबाहेक, नियमित रुपमा साबुन पानीले हात धुनु, साबुन पानीको उपलब्धता नहुँदा स्यानिटाइजरको उपयोग गर्नु पनि पर्दछ ।

भाइरसको प्रकोप, यसले विश्वव्यापी रुपमा जनस्वास्थ्यमा तथा अर्थतन्त्रमा पारिररहेको भयानक असरलाई विचार गर्ने हो भने माथि उल्लिखित जनस्वास्थ्यका नियमहरुको पालना गर्नु कुनै कठिनाइ छैन । तर दुर्भाग्यका कुरा, संसारभरिकै जनसंख्याको ठूलो हिस्साले यो कुरालाई अवज्ञा गरिरहेका छन्, पालना गरिरहेका छैनन् ।

सबैभन्दा मुख्य कुरा, विश्वका विभिन्न मुलुकका सरकारहरुले यो कुरालाई कठोरतापूर्वक लागू गर्न र पालना गराउन सकेको वा चाहेको छैन । विकल्पमा उनीहरुले एउटै रामवाण सूत्र देखेका छन्– लकडाउन । जुन कुरा लामो समयसम्म लागू गरिँदा आर्थिक–सामाजिक हिसाबले प्रत्युत्पादक हुने साबित भइसकेको छ ।

यस्तो स्थितिमा फेरि पनि कोरोनाभाइरसको संक्रमणलाई रोकथाम एवं नियन्त्रण गर्ने सबैभन्दा मुख्य उपाय भनेकै जनस्वास्थ्यका नियमहरुको पालना नै हो ।

मास्कको प्रयोग अनिवार्य गरिनु जरुरी: फाउची

यो स्थितिमा अमेरिकाका शीर्षस्थ संक्रामक रोग विशेषज्ञ एन्थोनी एस. फाउचीले अमेरिकाभरि नै मास्कको प्रयोगलाई अनिवार्य गरिनुपर्ने स्थिति आउन सक्ने बताएका छन् । उनका अनुसार, अहिलेसम्मकै सबैभन्दा जटील र गम्भीर अवस्थामा पुगेको कोरोनाभाइरसको संक्रमणलाई रोक्नका लागि यसो गरिनु जरुरी छ ।

सिएनएनसँग कुराकानी गर्दै उनले भनेका छन्, त्यसरी मुलुकभरि मास्कको अनिवार्य प्रयोग लागू गर्न कठिन छ । तर स्थिति झनै खराब बन्दै गइरहेको स्थितिमा ‘उक्त नाटकीय उपाय लागू गर्न आफूले सिफारिश गर्न बाध्य हुने’ पनि उल्लेख गरेका छन् ।कोरोनाभाइरसको संक्रमणलाई रोकथाम गर्नका लागि सबैले एक भएर यो उपायलाई अपनाउनु नै सबैभन्दा उत्तम उपाय हुने उनले उल्लेख गरेका छन् ।

त्यसो त महामारी फैलिँदै जाँदा अमेरिकाका थुप्रै राज्यहरुले मास्कको प्रयोगलाई लागू गरिरहेका छन् । उनीहरुले घरभित्र वा बाहिर कुन अवस्थामा कसरी मास्कको प्रयोग गर्ने भन्नेबारे निर्देशिका नै पनि जारी गरेका छन् ।

तर अमेरिकाकै कतिपय राज्यहरुले चाहिँ मास्कको अनिवार्य प्रयोगको आदेश जारी गर्न मानेका छैनन् । अरु त अरु ट्रम्प प्रशासनको हेडक्वार्टर पनि यो कुरामा बेलाबेलामा बाधक देखिँदै आएका छन् । गत महिनामात्रै अमेरिकाका सेन्टर्स फर डिजिज कन्ट्रोल (सिडिसी)ले तयार गरेको सार्वजनिक सवारी साधनहरुमा मास्कको अनिवार्य प्रयोगको आदेशलाई ह्वाइटहाउसले अवरोध गरेका थिए ।

तर पछिल्लो पटक दर्जनौं राज्यहरुमा कोरोनाभाइरसको संक्रमण गम्भीर रुपमा बढ्दै र फैलिँदै गएको स्थितिमा, डा. फाउचीले अझ बढी संयोजित र राष्ट्रव्यापी दृष्टिकोणको खाँचो औंल्याएका छन् ।

‘मैले तर्कहरु सुन्ने गरेको छु– तपाईं मास्कलाई अनिवार्य बनाउनु हुन्छ भने, त्यसलाई जसरी पनि लागू गर्नुपर्यो र यसले झनै बढी समस्या जन्माउन पनि सक्छ,’ उनले भनेका छन्, ‘यो स्थितिमा मानिसहरुले मास्क लगाउँदैनन् भने हामीले यसलाई अनिवार्य गर्नैपर्ने स्थिति आउन पनि सक्छ ।’ द न्यूयोर्क टाइम्स, सीएनएन

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*