युरोपमा फेरि फैलियो कोरोना, फ्रान्समा कर्फ्यु
कोरोना भाइरसको महामारीले संसार नै त्राहीत्राही बनेको छ यो बेला। सिंगो युरोप नै कोरोनाले आक्रान्त बनेको छ। युरोपमा गर्मी सकिएर चिसो मौसम सुरु भएयता संक्रमण दर ह्वात्तै बढ्न थालेको छ। यसको प्रमुख कारण बिदा मनाएर घर फर्कनु, स्कुल र सार्वजनिक स्थल खुला गरिनुलगायत हुन्। विश्लेषकहरूले भनिरहेका छन्, महामारीले युरोपमा पिक अझै लिएको छैन।
कोरोनाको पहिलो लहरमा युरोपले गरेको गल्ती नदोहो¥याउने संकल्पसहित संक्रमण नियन्त्रण गर्ने गरी नयाँ प्रोटोकल धमाधम हरेक देशले लागू गरिरहेका छन्। युरोपमा कोरोना संक्रमितको संख्या केही हप्तायता निरन्तर बढिरहँदा विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले समेत चिन्ता व्यक्त गरेको छ।
यस्तो विषम परिस्थितिमा ठूलो संख्यामा युरोपमा बसोबास गर्ने नेपाली पनि असंख्य रूपमा संक्रमित भएको तीतो सत्य छ । युरोपभर कति नेपाली संक्रमित भए भन्ने तथ्यांक निकाल्न असम्भवजस्तै छ। स्पेनमा सन् १९३० को गृहयुद्धपछि पहिलो पटक आर्थिक मन्दीले छुँदै गएको छ। यो मन्दीले इटाली, ग्रिस, बेल्जियमलगायत अधिकांश देश प्रभावित हुनेछ। लाखौं कामदारले रोजगारी गुमाइसकेका छन्।
युरोपियन युनियनको प्रतिव्यक्ति आय सन् १९६० यता २०१९ सम्म झन्डै २४ हजार छ। सोही अनुपातमा कुल गार्हस्थ्य उत्पादनमा समेत गिरावट आउने निश्चित छ तर युरोपका केही देशलाई महामारीबाट प्रतिव्यक्ति आयमा खासै असर नपर्ने देखिन्छ। पछिल्लो युरोपेली परिषद्को बैठकले ७.७ बिलियन युरो क्षति व्यहोर्न कोभिड–१९ रिकोभरी फन्डमा बजेट थप्ने निर्णय गरेको छ।
फ्रान्समा लगातार कर्फ्यु
गत शनिबार एकै दिन फ्रान्समा ३२ हजार चार सय २८ को संख्यामा संक्रमित भएपछि सबैभन्दा बढी भीडभाड हुने राजधानी पेरिसमा तत्कालै रातको ९ बजेदेखि बिहान ६ बजेसम्म कर्फ्यु आदेश जारी गरिएको छ। कर्फ्यु लगातार एक महिनासम्म जारी रहनेछ।
गत मार्चभन्दा पनि अक्टोबरमा देखिएको संक्रमित संख्या फ्रान्समा डरलाग्दो भएको डब्लूएचओले जनाएको छ। कर्फ्युको नियम उल्लंघन गरी कसैले बाहिर हिँडडुल गरे कारबाहीस्वरूप एक सय ३५ युरो जरिवाना लाग्ने सरकारले घोषणा गरेको छ।
१ हजारभन्दा बढी लिजियन फ्रान्सेली सेनामा रहेका नौजवान नेपालीसहित अनुमानित ५ देखि ६ हजार नेपाली फ्रान्समा बसोबास गरिरहेका फ्रान्स निवासी पत्रकार अनिष त्रिपाठीले अन्नपूर्णलाई बताए। ६ करोड ५३ लाख जनसंख्या भएको फ्रान्समा ९ लाख ३१ हजारभन्दा बढी संक्रमित भइसकेका छन् भने साढे ३३ हजारको कोरोनाका कारण मृत्यु भएको छ।
नेदरल्यान्ड्समा लकडाउन
आम्सटर्डम निवासी नेपाल पत्रकार महासंघ युरोपका सचिव द्रोण रिजालका अनुसार नेदरल्यान्ड्समा संक्रमित दिनप्रतिदिन बढिरहेकाले सरकारले १४ अक्टोबरदेखि लागू हुने गरी सेमी लकडाउनको निर्णय गर्ने जानकारी प्रधानमन्त्री मार्क रुट्टेले पत्रकार सम्मेलन गरी गराएका हुन्।
संक्रमित हुनेको संख्या २ लाख ४४ हजार नाघेको छ भने झन्डै ७ हजारको निधन भइसकेको छ। अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन आग्रह गर्दै सार्वजनिक स्थल वा यातायातका साधन प्रयोग गर्दा अनिवार्य मास्क प्रयोग गर्न आग्रह गरिएको छ। अन्तर्राष्ट्रिय अदालत रहेको द हेगलगायत सहरमा दुई हजार ५ सय नेपाली रहेको नेदरल्यान्डको जनसंख्या एक करोड ७१ लाख ४६ हजार छ र धेरै नेपालीले रोजगारी गुमाएका छन्। ४ हप्ताका लागि होटल, क्याफे र रेस्टुरेन्टको टेबल बन्द गर्नुपर्ने तर टेकवे र डेलिभरी खुला गर्न सकिने नयाँ नियम १३ अक्टोबरदेखि लागू हुने र त्यसपछि पनि संक्रमण नियन्त्रण नभए पूरै लकडाउन गर्न सकिने पत्रकार सम्मेलनमा प्रधानमन्त्रीले जानकारी गराएका छन्।
इटालीमा एकै दिन १० हजार संक्रमित
गत आइतबार मात्रै ११ हजार सात सय पाँच व्यक्ति संक्रमित भएको इटालीको जनसंख्या ६ करोड ४३ लाख छ। इटालीमा सेकेन्ड वेभमा यसरी एकै दिन १० हजार संक्रमित फेला परेको पहिलोपटक हो। इटालीमा कुल चार लाख ३४ हजार ४ सय ४९ व्यक्तिमा कोरोना संक्रमण भएको छ। यसमध्ये ३६ हजार ७ सय ५ जनाले ज्यान गुमाएका छन्। बेलायतबाहेक युरोपभर निधन हुने आँकडाको पहिलो स्थानमा इटाली छ। यहाँ दुई लाख ५५ हजार व्यक्ति निको भएर घर फर्किएका छन् भने १ लाख ४२ हजारको उपचार भइरहेको छ ।
मिलान सहरमा पत्रकार विजय भुसालका अनुसार अनुमानित १ हजार ५ सय नेपाली रहेको इटालीमा संक्रमित संख्या बढ्न थालेपछि प्रधानमन्त्री जिसेप्पे कोन्टेले नयाँ नियम लागू भएको घोषणा गरे। लकडाउन नै घोषणा नगरे पनि नयाँ प्रोटोकल लगभग लकडाउनजस्तै भएको उनले बताए। बिहीबारबाट रातको ११ बजेपछि बिहान ५ बजेसम्म कर्फ्यु लगाइएको छ। अन्नपूर्ण पोस्टमा केजिन राईले खबर लेखेका छन् ।

बाइलाइन नेपाल











