युरोपमा फेरि बढ्यो संक्रमण

एजेन्सी
५ भाद्र २०७७, शुक्रबार ०७:२६

युरोपका केही देशहरूमा लामो समयपछि कोरोना भाइरस संक्रमितको संख्या बढेको छ । स्पेन, इटाली र जर्मनीमा संक्रमितको संख्यामा अत्यधिक वृद्धि देखिएको छ । त्यस्तै फ्रान्समा पनि भाइरसको संक्रमणमा वृद्धि भएको छ ।

स्पेनमा बुधबार ३ हजार ७ सय १५ जना नयाँ संक्रमित थपिएका छन् । जुन महिनाको अन्त्यमा स्पेनमा कडा लकडाउन हटाइएपछिको यो सबभन्दा ठूलो संख्या हो । त्यस्तै, इटालीमा बुधबार ६ सय ४२ जनामा संक्रमण पुष्टि भएको छ । यो संख्या मे महिनायता दैनिक देखिएको सबभन्दा बढी हो । जर्मनीमा पनि एकै दिन संक्रमित हुनेको संख्या अप्रिलयताकै उच्च देखिएको छ ।

अधिकारीहरूका अनुसार बुधबार जर्मनीमा १ हजार ७ सय ७ जनामा संक्रमण पुष्टि भएको हो । फ्रान्समा पनि मे महिनाको अनुपातमै संक्रमितहरू भेटिन थालेका छन् । फ्रान्समा बुधबार ३ हजार ८ सय जना नयाँ संक्रमित थपिएका छन् ।

पछिल्लो समय अधिकांश युरोपेली देशमा लकडाउन खुकुलो पारेसँगै जनजीवन सामान्य बन्दै गएको छ । तर संक्रमणका घटनामा वृद्धि भएसँगै चिन्ता थपिएको छ ।कैयौं युरोपेली देशले यात्रामा नियन्त्रण गर्ने उपाय तथा सामाजिक दूरी तथा मास्क लगाउने नियम भने हालसम्म पनि लागू गरिरहेका छन् ।छिमेकी देश भारतमा पनि पछिल्लो समयमा कोभिड—१९ को संक्रमण तीव्र बन्दै गएको छ ।

भारतमा बिहीबार ६९ हजार ६ सय ७२ जनामा संक्रमण पुष्टि भएको छ । यो दैनिक संक्रमित हुनेको हालसम्मकै ठूलो संख्या हो । योसँगै भारतमा कुल संक्रमितको संख्या २८ लाख ३६ हजार ९ सय २५ जनामा संक्रमण पुष्टि भएको छ ।

भाइरसका कारण भारतमा ५३ हजार ८ सय ६६ जनाले ज्यान गुमाइसकेका छन् । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार तीमध्ये ९ सय ९७ जनाको बिहीबार मृत्यु भएको हो ।संक्रमित संख्याका आधारमा भारत विश्वकै तेस्रो स्थानमा छ । पहिलो अमेरिकामा ५५ लाख ३० हजार ४ सय र दोस्रो ब्राजिलमा ३४ लाख ५६ हजार ६ सय संक्रमित छन् । अमेरिकामा १ लाख ७३ हजार २ सय तथा ब्राजिलमा १ लाख ११ हजार १ सयले भाइरसका कारण ज्यान गुमाइसकेका छन् । कान्तिपुर दैनिकमा खबर छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*