महात्मा गान्धीको चस्मा लिलाममा

एजेन्सी
२९ श्रावण २०७७, बिहीबार २१:०५

बेलायतमा एउटा लिलाम कम्पनीले महात्मा गान्धीले प्रयोग गरेको चस्मा आफूले फेला पारेको जनाएको छ। ईस्ट ब्रिस्टल अक्शन्सका एन्ड्रू स्टोका अनुसार गान्धीको चस्मा १५ हजार पाउन्डमा बिक्री हुने अपेक्षा छ। आफ्नो कम्पनीको इतिहासमा उक्त चस्मा महत्त्वपूर्ण वस्तु भएको उनले बताए। उक्त चस्माको मूल्य बताइँदा त्यसको स्वामित्व भएका व्यक्ति झन्डै मुर्छा परेको उनले बताए।

“कसैले हाम्रो पत्रमञ्जूषामा शुक्रवार राति त्यो हालिदियो र सोमवारसम्म यो त्यहीँ झुन्डिराख्यो,” उनले भने। “हाम्रा एक कर्मचारीले मलाई त्यो दिँदै त्यसमा गान्धीको चस्मा उल्लेख गरिएको एउटा टिपोट भएको बताए।” अनुसन्धान गर्दा सुनको जलप लगाइएको घेरा भएको उक्त गोलाकार चस्मा वास्तवमै नागरिक अधिकारका लागि सङ्घर्ष गरेका भारतीय नेता गान्धीले लगाएको पत्ता लागेपछि आफू झन्डै कुर्सीबाट लडेको उनी बताउँछन्।

“मैले ती व्यक्तिलाई फोन गरेँ अनि उनलाई झन्डै हृदयाघात भए जस्तो मलाई लाग्छ,” स्टोले भने। ती व्यक्तिका अनुसार उनको परिवारका एक व्यक्तिले सन् १९२० को दशकमा गान्धीलाई दक्षिण अफ्रिकामा भेटेका थिए। त्यसपछि उक्त चस्मा आफ्नो परिवारको स्वामित्वमा आएको उनको भनाइ छ।

“हामीले मिति जाँच्यौँ। सबै कुरा मिल्यो, गान्धीले चस्मा लगाउन थालेको मिति पनि मिल्यो,” स्टोले भने। पावर धेरै नभएकाले उक्त चस्मा गान्धीले सुरुसुरुमा प्रयोग गरेको उनको अनुमान छ। “गान्धी आफ्नो सामान अरूलाई दिने भनेर चिनिएका थिए।”

स्टोका अनुसार उक्त चस्माप्रति विशेष गरेर भारतबाट धेरैले रुचि देखाएका थिए। तर भाग्यवश उक्त चस्मा आफ्नो हात परेको उनको भनाइ छ। “त्यो साधारण सेतो खाममा थियो। त्यो चोरिन वा फोहोरदानीमा मिल्किन पनि सक्थ्यो।“ “हाम्रो कम्पनीमा आएको यो सम्भवतः सबैभन्दा महत्त्वपूर्ण वस्तु हो।” आगामी अगस्ट २१ मा उक्त चस्माको अनलाइन लिलाम हुनेछ। बीबीसीबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*