अमेरिकामा कोरोना भाइरस झनै खतरनाक बन्दै !

एजेन्सी
१९ श्रावण २०७७, सोमबार ०७:०५

कोरोनाभाइरस महाव्याधि विरुद्धको लडाइँमा अमेरिका नयाँ चरणमा पुगेको डा. डेबोरा ब्रिक्सले बताएका छन् । ह्वाइटहाउस कोरोनाभाइरस टास्क फोर्सका संयोजक ब्रिक्सले हिजो आइतबार ‘स्टेट अफ युनियन’मा बोल्दै …यो ज्यानमारा भाइरस यो वर्षको शुरुवातताका अमेरिकामा देखापरेको भन्दा पनि झनै बढी फैलिनेखालको रहेकोÚ चेतावनी समेत दिएका छन् ।

‘आज हामीले देखिरहेको स्थिति मार्च–अप्रिलको भन्दा फरक छ । यो अत्यन्तै फरक ढंगले फैलिरहेको छ । यो शहरी क्षेत्रहरुमा जस्तै ग्रामीण भेगहरुमा पनि उत्तिकै फैलिरहेको छ,’ सीएनएनलाई व्रिक्सले बताएका छन् । अमेरिकी जनताले मास्क लगाउने तथा सामाजिक दूरी कायम गर्ने लगायतका अन्य स्वास्थ्यसम्बन्धी सिफारिशहरु पालना गर्नैपर्ने कुरामा पनि जोड दिएका छन् ।

‘शहरबाहिरका क्षेत्रमा बस्ने प्रत्येक व्यक्तिहरु, तपाईंहरु यो भाइरसप्रतिरोधी वा यो भाइरसबाट बच्ने अवस्थामा हुनुहुन्न,’ विक्सले भनेका छन्, ‘तपाईंहरु संयूक्त परिवारमा हुनुहुन्छ, र तपाईं बसोबास गर्नुभएको क्षेत्र वा शहरमा महामारी फैलिएको छ भने, तपाईंको घरमा बहु स्वास्थ्य समस्या भएका पारिवारिक सदस्य हुनुहुन्छ भने तपाईंले आफूलाई कोरोनापोजेटिभ छु भन्ने ठानेर घरमा समेत अनिवार्य रुपमा मास्क लगाउनै पर्छ ।’

‘अहिले यो महाव्याधि फरक खालको छ र यो ग्रामीण तथा शहरी दुवै क्षेत्रमा व्यापक रुपमा फैलिन खालको छ,’ उनले भनेकी छिन् ।

स्मरण रहोस्, अमेरिकाको सेन्टर्स फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनले अगामी अगस्त २२ सम्ममा १ लाख ७३ हजार अमेरिकीहरुको यही महामारीको कारण मृत्यु हुन सक्ने आँकलन गरेको छ । त्यसैगरी, अमेरिकाको फुड एण्ड ड्रग एड्मिनिस्ट्रेटर डा. स्कट गोट्लिएबले पनि गत महिना सिएनबीसीमा बोल्दै मुलुकले आफ्ना तौरतरिकाहरुमा बदलाव ल्याएन भने यो वर्षको अन्त्यसम्मा करिब ३ लाख मानिसहरुको मृत्यु हुन सक्ने चेतावनी दिइसकेका छन् ।

विक्सले यो वर्षको अन्त्यसम्ममा कति अमेरिकीहरुको ज्यान जान सक्छ भन्ने कुराको प्रक्षेपण त गरिनन् तर उनले मृत्यु हुनेहरुको संख्या ठूलो मात्रामा दक्षिणी र पश्चिमी राज्यहरुको महामारी रोक्ने प्रयत्नहरुलाई कत्तिको बढाउन र कायम राख्न सक्छ भन्ने कुरामा निर्भर हुने बताए । यतिखेर अमेरिकाका ती क्षेत्रका राज्यहरु कोरोनोभाइरसको हटस्पटको रुपमा देखापरेका छन् । ‘यो व्यापक रुपमा फैलिरहेको घटना हो र हामीले यसलाई रोक्नै पर्छ । हामीले निश्चितै रुपमा धेरै सावधानीहरु अपनाउनुपर्छ,’ व्रिक्सले भनेकी छिन् ।

‘के संघीय सरकारले महामारीविरुद्धका आफ्ना जवाफी कारवाहीहरुलाई ‘रिसेट’ गर्नुपर्ने बेला आएको हो’ भनी सोधिएको प्रश्नको जवाफमा ब्रिक्सले भनेकी छिन्, ‘मेरो विचारमा दक्षिणी क्षेत्रमा यो हुन थालेको देखिएपछि नै संघीय सरकारले करिब ५–६ हप्ताअघि नै त्यो प्रक्रिया गरिसकेको छ ।’ तर करिब ६ हप्ताअघि मात्रै कोरोनाभाइरस टास्क फोर्सको नेतृत्व गरिरहेका अमेरिकी उपराष्ट्रपनि माइक पेन्सले चाहिँ वालस्ट्रिट जर्नलमा प्रकाशित एक विज्ञापनमा ‘अमेरिकाले लडाइँ ज्त्दिै गएको र दोस्रो लहर नआउने’ दावी गरेका थिए । त्यसबारेमा ब्रिक्सले केही बोलिनन् ।

ब्रिक्सका अनुसार ‘प्रत्येक राज्यले कोभिड–१९ का बारेमा सामुदायिक स्तरमा हामीले के देखिरहेका छौं र अस्पतालहरुमा सापेक्षित रुपमा के देखिएको छ भन्ने सन्दर्भमा गरिएका सिफारिशहरुको आधारमा ‘नाँपजोख’ वाला विधि अपनाउनु जरुरी छ ।’

ट्रम्प प्रशासनले कोभिड–१९ विरुद्धको लडाइँमा थुप्रै निर्णयहरु लिने जिम्मेवारी राज्यस्तरमा छाडिदिएका छन् । त्यस आधारमा राज्यका गभर्नरहरुले कोरोनाभाइरससम्बन्धी प्रतिबन्धहरु कहिले लागू गर्ने वा खुकुलो पार्ने तथा राज्यका आर्थिक गतिविधिहरुलाई खुला गर्ने भन्नेबारे निर्णय गर्न सक्नेछन् । स्कुलको नयाँ शैक्षिक सत्रको शुरुवात हुने बेलामा राज्य वा स्थानीय नेतृत्वले स्कुल खोल्न दिनु उचित हुन्छ कि हुँदैन भन्ने एउटा प्रमुख प्रश्न अमेरिकामा उठेको थियो । त्यस सन्दर्भमा ब्रिक्सको भनाइ ‘५ प्रतिशत कोरोनापोजेटिभ केसहरु देखिएका राज्यमा स्कुल बन्दै रहनुपर्ने र दूरीमा आधारित शिक्षा मात्रै सञ्चालन गरिनुपर्ने’ थियो ।

‘कोरोनासंक्रमणको दर उच्च छ र समुदाय स्तरमा यो फैलिरहेको छ भने हामीले यो महामारीलाई नियन्त्रणमा ल्याउनका लागि मानिसहरुलाई बारमा नजाउ, घरमा पार्टीहरु नगर, घेरै मानिसहरु जमघट हुने उत्सवहरु नमनाउ तथा दुर शिक्षा अपनाउ भनिरहेका छौं,’ ब्रिक्सको भनाइ थियो । तर साथसाथै, उनले स्कुल खोल्नेबारे सेन्टर फर डिजिज कन्ट्रोलको गाइडलाइनको चाहिँ प्रतिरक्षा गरेका थिए । त्यसगाइडलाइनले चाहिँ स्कुल खोल्ने कुराको पक्षपोषण गर्ने गर्छ ।

यतिखेर अमेरिका संसारभरिमै कोरोना प्रकोपको सबैभन्दा बढी पीडित मुलुक बनेको छ । सोमबार बिहान ५ः३० बजेसम्मको जोन हप्किन्स युनिभर्सिटीको तथ्यांकअनुसार, अमेरिकामा ४६ लाख ६५ हजार २ जना संक्रमित भइसकेका छन् भने सोही कारण १ लाख ५४ हजार ८ सय ३४ जनाको निधन समेत भइसकेको छ ।

सामग्री स्रोतः सीएनएन, जोन हप्किन्स युनिभर्सिटी अफ मेडिसिन

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*