भारतसहित १५ देश कोरोनाको दोस्रो लहरको खतरामा, नेपाल कति सुरक्षित ?

बाइलाइन नेपाल
२९ जेष्ठ २०७७, बिहीबार ०८:१०

भारतमा कोरोना संक्रमितको संख्या बुधबार २ लाख ७७ हजार नाघेको छ । तर अनुसन्धानकर्ताहरुकाअनुसार यो सुरुवातमात्रै हो । सेक्युरिटिज अनुसन्धान कम्पनी नोमुराले गरेको अध्ययनले भारतलाई संक्रमणको दोस्रो लहर आउनसक्ने उच्च जोखिम भएका १५ देशमा राखेको छ । ‘हाम्रो अध्ययनले मिश्रित नतिजा देखाएको छ । १७ वटा देश सही बाटोमै छन् र यहाँ अर्थतन्त्र खुकुलो गर्दा पनि दोस्रो लहर देखिने कुनै संकेत छैन, १३ देशमा केही जोखिम देखिएको छ र १५ वटा देश दोस्रो लहरको डेन्जर जोनमा छन्,’ रिपोर्टले भनेको छ ।

यस रिपोर्टअनुसार लकडाउन खुकुलो गर्दा दुईवटा सम्भावित परिदृश्य देखिनेछ, ‘पहिलो राम्रो परिदृश्यमा मानिसको हिँंडडुल चाडैं पुरानै अवस्थामा फर्कनेछ । लकडाउनको नियम खुकुलो हुनेछ र व्यवसाय सुरु हुँदा पनि दैनिक नयाँ संक्रमणमा न्युनमात्रै वृद्धी हुनेछ । जसले सर्वसाधारणमा परेको त्रास कम हुनेछ र मानिसको चहलपहल थप बढ्नेछ ,’ यस रिपोर्टले भनेको छ ।

अर्कोतर्फ खराब अवस्थामा दैनिक ठूलो संख्यामा नयाँ संक्रमित बढ्नेछन् । ‘अर्थतन्त्र खुकुलो गर्दा दैनिक नयाँ संक्रमण तिव्र हुनेछ । सर्वसाधारणमा त्रास बढ्नेछ र उनीहरु हिंडडुल गर्न बन्द गर्नेछ । अति खराब भएपछि फेरि लकडाउन लागु गरिनेछ,’ प्रतिवेदनमा भनिएको छ ।

यी देश कम र यी बढी जोखिममा

अस्ट्रेलिया, फ्रान्स, इटली, अस्ट्रिया, जापान, नर्वे, स्पेन, थाइल्यान्ड, ग्रिस, रोमानिया, दक्षिण कोरियालगायत देश सुरक्षितको सूचीमा छन् । डेनमार्क, फिनल्यान्ड, हंगेरी आयरल्यान्ड, पोल्यान्ड, जर्मनी, अमेरिका र बेलायतजस्ता देशमा दोस्रो लहर आउनसक्ने चेतावनी दिइएको छ । भारत, इन्डोनेशिया, पाकिस्तान, ब्राजिल, मेक्सिको, स्विडेन, दक्षिण अफ्रिका, सिंगापुर र क्यानेडा उच्च जोखिममा छन् ।

नेपाल कति सुरक्षित ?

नोमुराको अध्ययन विश्वका ४५ ठूला अर्थतन्त्रमा केन्द्रीत छ । त्यसैले यहाँ नेपालबारे उल्लेख गरिएको छैन । तर, भारतमा कोरोना संक्रमित बढ्दा नेपालमा त्यसको असर देखिने उच्च खतरा रहेकाले सतर्कताका उपाय अबलम्बन गर्नुपर्ने विज्ञहरुको सुझाव छ । गत अप्रिलमै विश्व स्वास्थ संगठनले नेपालका लागि तयार गरेको ‘कोभिड–१९ नेपाल– तयारी र रेस्पोन्स योजना’ मा भारतबाट नेपालमा संक्रमण फैलनसक्ने खतरा आँैल्याइएको थियो ।

९ अप्रिलमा यो प्रतिवेदन सार्वजनिक हुँदासम्म नेपालमा कोरोना संक्रमितको संख्या केवल ९ थियो । यस प्रतिवेदनले अन्य देशसँगको हवाई सेवा र नेपाल भारत–सीमामा उच्च कडाइ कायमै रहनुपर्ने सुझाव दिएको थियो । मार्चदेखि नै सरकारले अत्यावश्यकबाहेक अन्तर्राष्ट्रिय उडान तथा भारतसँगको सीमानाका बन्द गरिसकेका कारण यतिबेलासम्म संक्रमण धेरै फैलिएको थिएन । तर, कडा लकडाउन र सीमा बन्द गर्ने निर्णयका बाबजुद नेपालमा कोरोना संक्रमितको संख्या अहिले ४ हजार नाघिसकेको छ । अनि, त्यसमध्ये अधिकांश संक्रमण भारतबाटै आएका मानिसमार्फत फैलिएको देखिन्छ । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतबाट फर्किएका ८५ प्रतिशतमा कोरोना संक्रमण देखिएको जानकारी बुधबार संसदमा गराए ।

नेपालले बिहीबारदेखि लकडाउन केही खुकुलो गर्दैछ । यस्तोमा, सीमा क्षेत्रमा कडाइ गर्न सकिएन भने अवस्था थप भयावह बन्ने खतरा विज्ञहरुले औँल्याइसकेका छन् । तसर्थ, अन्तर्राष्ट्रिय अभ्यासअनुसार, भारतसँगको सीमा–नाकामा कडाइ कायम गर्ने, परीक्षण तथा कन्ट्याक्ट ट्रेसिङ विधिमार्फत देशभित्रका संक्रमितको पहिचान गरेर उनीहरुलाई आइशोलेशनमा राख्ने, अन्य देशबाट नेपाल फर्किएका नागरिकलाई उच्च निगरानीसहित क्वारेन्टिन राख्नेलगायत उपाय नेपालले अबलम्बन गर्नुपर्नेछ । दक्षिण कोरिया, भियतनामलगायत देशले कन्ट्याक्ट ट्रेसिङ, परीक्षण र आइशोलेसन विधीमार्फत संक्रमणलाई नियन्त्रणमा राखेका छन् । विश्वमै उदाहरणीय बनेको उनीहरुको अनुभव नेपालका लागि काममा आउनसक्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*