जर्ज फ्लोइड प्रकरण : हत्या आरोपितसँग १२.५ लाख डलर धरौटी माग
एक अश्वेत अमेरिकी नागरिक जर्ज फ्लोइडको हत्याका आरोपित मिनिअपलिसका पूर्वप्रहरी अधिकारीलाई अमेरिकी अदालतले १२.५ लाख डलर धरौटी माग गरेको छ।
अदालतले हाल निलम्बनमा परेका डेरेक शोभिनसँग आरोपहरूको गम्भीरता र जनआक्रोशलाई ध्यानमा उक्त रकम धरौटी माग गरेको बीबीसीले जनाएको छ ।
टेलिकन्फरेन्समार्फत् सोमवार अदालतमा उपस्थित भएका शोभिनले भने कुनै प्रकारको आग्रह नगरेको बताइएको छ । १५ मिनेटको सुनुवाइमा उनी हतकडी लगाइएको अवस्थामा बसिरहेका थिए।
न्यायाधीशले निःशर्त १२.५ लाख डलर धरौटी अथवा १० लाख धरौटी र फ्लोइडका परिवारलाई भेट्न नमिल्ने तथा हातहतियार बुझाउनुपर्ने र मुद्दाको सुनुवाइ हुन्जेल सुरक्षा निकायमा काम गर्न नपाइने शर्त राखेका थिए।
डेरेक शोभिनमाथि फ्लोइडको हत्या गरेको लगायत तीनवटा आरोप लगाइएको छ भने अन्य तीन प्रहरी अधिकारीलाई फ्लोइडको हत्यामा शोभिनको मतियार बनेको अभियोग छ ।
मे २५ मा भएको फ्लोइडको मृत्यु शोभिनले करिव ९ मिनेट घाँटी थिचेकै कारण भएको दाबी गरिएको छ । उक्त घटनापछि विश्वव्यापी प्रदर्शनहरू भएका छन् ।

बाइलाइन नेपाल











