कतारका नेपालीले स्वदेश जाने व्यवस्था मिलाईदिन दूतावासलाई आग्रह

अनिल पराजुली
९ बैशाख २०७७, मंगलवार १८:१९

कतार । कतारमा रहेका नेपालीहरुले स्वदेश जाने व्यवस्था मिलाई दिन नेपाली राजदूतावास दोहा कतारलाई आग्रह गरेका छन् ।

उनीहरुले नेपाली राजदूतावासमा फोन, इमेल, सामाजिक संजाल तथा अन्य बिभिन्न माध्यम मार्फत स्वदेश जाने व्यवस्था मिलाईदिन आग्रह गरेका हुन् । नेपाली
राजदूतावास दोहा कतारले बिभिन्न माध्यमबाट नेपालीहरुले स्वदेश जाने व्यवस्था मिलाईदिन आग्रह गरेपछि नेपाल सरकार र अन्य सम्बन्धित निकायसँग
निरन्तर समन्वय र सहजीकरण गर्दै आइरहेको दूतावासको आधिकारी पेज मार्फत जानकारी दिएको छ ।

कम्पनीबाट रिजाइन दिएर बसेका कतिपय नेपालीहरु अहिले समस्यामा छन् । उनीहरुसंग अहिले न काम छ न उनीहरु घर जाने अवस्थामा नै छ । नेपालले उडान
रद्द गरेपछि उनीहरु कोठामै बस्न बाध्य भएका छन् । कोरोनाको संक्रमण पश्चात फोर्स रिजाइनमा परेकाहरु पनि अन्यौलमा छन् । उनीहरुले नेपाल सरकारसंग दूतावासले समन्वय गरेर चार्टर जहाज मार्फत भएपनि स्वदेश फर्काउने व्यवस्था मिलाइदिन आग्रह गरेका छन् ।

स्वदेश गएर परिवारसंग बस्ने चाहना राख्नु स्वभाविक भएपनि अहिलेको यो विषम परिस्थितिप्रति दूतावास पूर्ण सचेत रहेको उल्लेख गरिएको छ । परिस्थिति
सामान्य भई नेपाल जाने वातावरण नहुन्जेलसम्मका लागि कतारमा रहेका नेपालीहरुले एक अर्काको मनोबल बढाएर एकजुट भई रहन आग्रह गरिएको छ ।

दूतावासले जो जहाँ छौं त्यही सुरक्षित बस्न आग्रह गरेको छ । कोरोना संक्रमित भई कतारमा उपचारार्थ रहेका नेपालीहरुको सिध्र स्वास्थ्य लाभको
कामना गर्दै दूतावासले आफु सुरक्षित बस्न र अरुलाई पनि सुरक्षित राख्न आग्रह गरेको छ ।

कतारमा खाना तथा बसोबास लगायतका समस्याहरुको समाधानका लागि राजदूतावासले कतारको सम्बन्धित निकाय, रोजगारदाता कम्पनी, गैर आवासीय नेपाली संघ र अन्य संघ संस्थासँग समन्वय मार्फत सहजीकरण गरिरहेको जानकारी दिएको छ । हाल कतारमा करिव ३ लाख ५१ हजार नेपालीहरु कार्यरत रहेका छन् ।

कोरोना संक्रमित ६ हजार ५ सय ३३ पुग्यो

कतारमा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको संख्या ६ हजार ५ सय ३३ पुगेको छ । मंगलवार थप ५ सय १८ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो
। स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म ६ सय १४ जना निको भएर घर फर्किएका छन् । आज मात्रै ५९ जना संक्रमित निको भएर फर्केका हुन् ।

त्यस्तै हाल यहाँ ५ हजार ९ सय १० जना कोरोना संक्रमित बिरामीहरुलाई क्वारेन्टाइनमा राखेर उपचार भईरहेको जनस्वास्थ्य मन्त्रालयले जनाएको छ ।
कतारमा अहिले सम्म ६६ हजार ७ सय २५ जनाको कोरोना जाँच भएको छ । आज मात्रै २ हजार १ सय ५ जनाको कोरोना जाँच गरिएको थियो ।

कतारमा कोरोना संक्रमणका कारण ९ जनाको मृत्यु भईसकेको छ । कोरोना संक्रमितको संख्या थपिदै गएपछि संक्रमित र आशंका गरिएका विरामीहरुलाई
राख्ने ठाउ समेत अपुग हुन थालेको छ । थपिएका बिरामीहरु क्वारेन्टाइनमा बसेका र केही नयाँ व्यक्तिहरु रहेका छन् । उनीहरु मध्ये धेरैजसो आप्रवासी
नागरिकहरु छन् । कतार सरकारले कुन देशका संक्रमित नागरिक कति रहेको छ भन्ने तथ्याङक भने सार्वजनिक गरेको छैन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*