कतारमा थप १ सय ३६ मा कोरोना संक्रमण, २१ जना निको भए

अनिल पराजुली
२८ चैत्र २०७६, शुक्रबार १९:१३

कतार । कोरोना भाइरस (कोभिड–१९) बाट कतारमा आज थप १ सय ३६ जना संक्रमित भएका छन् । यो संगै कतारमा कोरोना संक्रमितको संख्या २५ सय १२ पुगेको छ ।

जनस्वास्थ्य मन्त्रालयले आज दिएको जानकारी अनुसार हालसम्म २ सय २७ जना  निको भएर घर फर्किएका छन् भने जम्मा ४५ हजार ३ सय ३९ जनाको जाँच भएको छ ।

शुक्रवार २१ जना संक्रमित निको भएर फर्केका छन । यो संगै हालसम्म जम्मा २ सय २७ जना निको भएर घर फर्किएका हुन । त्यस्तै २२ सय ७९ कोरोना संक्रमित
बिरामीहरुलाई क्वारेन्टाइनमा राखेर उपचार भईरहेको जनस्वास्थ्य मन्त्रालयले जनाएको छ । संक्रमितहरु स्थानीय सहित आप्रवासीहरु रहेका छन् । सरकारले ल्याव टेष्ट बढाएर परीक्षण गरिरहेकाले दिनहुँ संख्या बढेको देखिएपनि केही दिनमा यो दर घट्ने यहाँको स्वास्थ्य मन्त्रालयको अनुमान छ ।

हाल सम्म कोरोना भाईरस संक्रमणका कारण कतारमा ६ जनाको मृत्यु भईसकेको छ । मृत्यु हुनेहरु प्रायः सबै बृद्ध उमेरका थिए भने उनीहरु पहिलैदेखि स्वासप्रश्वास सम्बन्धि रोगबाट पीडित रहेका थिए ।

कोरोना भाइरस प्रभावित देशबाट हालै कतार आएका पर्यटकहरू तथा नागरिकहरुमा संक्रमण देखिएको यहाँबाट प्रकाशित हुने गल्फ टाइम्सले जनाएको छ । संक्रमित बिरामीहरुलाई क्वारेन्टाइनमा राखिएको छ भने आवश्यक चिकित्सा सेवा तथा उपचार प्रदान गरिएको गल्फ टाइम्सले जनाएको छ ।

यहाँको जनस्वास्थ्य मन्त्रालयले समाजका सबै सदस्यहरूलाई भाइरस संकुचनको जोखिम कम गर्न सम्पूर्ण स्वास्थ्य दिशानिर्देशहरू र रोकथामका उपायहरूको
पूर्ण पालना र सहकार्य गर्नका लागि अनुरोध गरेको छ । मन्त्रालयले कतारमा रहेका सबैलाई सामाजिक र शारीरिक दूरी कायम राख्न समेत आग्रह गरेको हो ।
भाइरससम्बन्धी कुनै जिज्ञासा भए मन्त्रालयको टोल फ्री नम्बर १६००० मा सोधपुछ गर्न सकिने जनाइएको छ ।

सनैयाको लकडाउन क्रमिक चरणमा खोलिने कतारले झन्डै ५० हजार नेपालीसहित आप्रवासी कामदार बस्ने औद्योगिक क्षेत्र सनैयाको लकडाउन क्रमिक चरणमा खोलिने बताएको छ ।

कतारमा कोरोना भाइरस बारे पछिल्लो जानकारी दिन विपत्ति व्यबस्थापन समितिले आयोजना गरेको पत्रकार सम्मेलन मार्फत औद्योगिक क्षेत्रको बन्द भाग क्रमिक रूपमा खोल्ने योजनाको विवरण आउँदो दिनमा घोषणा गरिने जानकारी दिइएको हो ।

सनैयाको लकडाउन खोल्न योजनाबद्ध रुपमा काम सुरु गरिएको र पुनः खोल्ने तयारी गरिरहेको बताइएको छ । त्यो क्षेत्रमा कार्यरत कामदारलाई कोरोना भाइरसको संक्रमण देखिएपछि कतारले निकै संवेदनशील रूपमा राख्दै आवतजावतलाई पूर्ण नियन्त्रण गरी कामदारको स्वास्थ्य परीक्षण गरिरहेको उच्चस्तरीय संकट व्यवस्थापन समितिका प्रवक्ता लोलवाह विन्ट रसिद विन मोहम्मद अल खतिरले बताइन ।

यो क्षेत्रभित्र रहेका कामदारलाई खाद्यान्नको अभाव हुन नदिइएको र तीन ठाउँमा मोबाइल जाँच केन्द्रमा परीक्षण भइरहेको छ । कोरोनाभाइरसको बिरामी
सबैभन्दा धेरै सनैया क्षेत्रमा भेटिएपछि मार्चबाट सनैयाको सडक नम्बर १ देखि ३२ सम्मको क्षेत्रलाई सिल गर्दै लकडाउन गरिएको थियो ।

त्यस्तै खाद्यान्न पसल (हाइपरमार्केट, सुपरमार्केट र किराना सामानहरू) , औषधि पसल, डेलिभरी गर्ने रेस्टुरेन्ट बाहेक सम्पूर्ण पसलहरु अर्को सुचना नआउन्जेल सम्म शुक्रबार र शनिबार बन्द गरिने छ । पत्रकार सम्मेलनको प्रत्यक्ष प्रसारण कतार टेलिभिजन र अल रेयान च्यानल मार्फत गरिएको थियो ।

त्यस्तै गरि कतारमा ६ हजार ६ सय ९४ जनालाई होटल क्वारेन्टाइन राखिएको कतारबाट प्रकाशित हुने गल्फ टाइम्सले जनाएको छ । जसमध्ये ३ हजार ४ सय ८८
जनाले क्वारेन्टाइन अवधि सक्काएर होटल क्वारेन्टाइन छाडेका हुन् । होटल क्वारेन्टाइनका लागि यहाँको २८ वटा होटल प्रयोग गरिएको कतारको समाचार
एजेन्सीले जनाएको छ ।

त्यस्तै मार्च ३१ देखि अप्रिल ४ सम्म ३ हजार ७ सय ७५ क्वारेन्टाइन उल्ङघनका घटना भएको थियो जसमध्ये मार्चमा मात्रै ३ सय ७८ रहेको थियो । सार्वजनिक स्थानमा जमघट र भेला गर्न यहाँको सरकारले प्रतिबन्ध लगाएको थियो । कोरोना भाइरस संक्रमण घटाउने बिषयमा कतारमा रहेका समुदाय, दूतावासका श्रमिक प्रतिनिधिहरुसँग निरन्तर कुराकानी भईरहेको बताइएको छ । कोरोना भाइरस संक्रमण बारे जनचेतना जगाउनका लागि बिभिन्न भाषामा
सचेतनामूलक अडियो, भिडियो तथा लेख सामाग्री पनि सामाजिक सञ्जाल मार्फत प्रसारण,प्रकाशन गरिएको छ ।

घरेलु कामदारहरूलाई बैंकबाट पैसा घर पठाउन सक्षम पारिने

कतारमा कार्यरत घरेलु कामदारहरुलाई बैकबाट पैसा घर पठाउने व्यवस्था मिलाईने भएको छ । कोरोना भाईरस संक्रमण बढेपछि यसलाई रोकथाम गर्नका लागि
सावधानी स्वरुप घरेलु कामदारलाई पनि बैक मार्फत पैसा पठाउने व्यवस्था मिलाउन लागिएको हो । घरेलु कामदारहरूलाई बैंक खाता खोल्न सबै आवश्यक सुविधा प्रदान गर्ने निर्णय गरिएको छ । तिनीहरूलाई न्यूनतम रकमको आवश्यकताबाट, र उनीहरूको देशहरू र परिवारहरूमा बैंक स्थानान्तरण गर्न  सहयोग पु¥याइने छ ।

कतारमा देशभित्रबाट ७२ प्रतिशत संक्रमण
कतारमा देशभित्रबाट ७२ प्रतिशत संक्रमण भएको छ भने २६ प्रतिशत बाहिरबाट आएकाहरुबाट र २ प्रतिशत खुल्न बाँकी रहेको छ । जम्मा २ प्रतिशतको अवस्था
गम्भीर छ भने ३७ जनाको आईसीयुमा उपचार भईरहेको गल्फ टाइम्समा प्रकाशित समाचारमा जनाइएको छ । कतारमा संक्रमित ८६ प्रतिशत पुरुष रहेका छन्
जसमध्ये ७७ प्रतिशत पुरुष रिकभर भएका छन् । रिकभर हुने ३७ प्रतिशत बिरामी २५ देखि ३४ बर्ष उमेर समूहका रहेका छन् ।

एथेराज एप सार्वजनिक
कतारमा कोरोनाभाइरस सम्बन्धि भएका पछिल्लो अपडेट दिन एथेराज “Ehteraz” एप सार्वजनिक गरिएको छ । चाँडै नै शुरू हुने एथेराज एप कतारमा कोरोना भाइरस संक्रमणलाई घटाउन मद्दत गर्ने बिश्वास लिइएको छ । एथेराज नामको अर्थ होशियारी बताइएको छ ।

यस एप मार्फत कोरोना रोकथाम, सावधानी बारे बिस्तृत जानकारी प्रदान गरिने छ । एस एपमा प्रत्येक प्रयोक कर्ताको क्यूआर कोड मार्फत लिङ्क गरिएको छ ।
यसबाट प्रयोगकर्ताको स्वास्थ्य जानकारी समेत निकालिने छ । जसको मापनका लागि रातो, पहेंलो, खैरो र हरियो रंगको आधारमा छुट्याइएको छ ।
१. रातो, कोरोना पोजेटिभ भेटिएको व्यक्ति ।
२. पहेंलो, क्वारेन्टाइनमा राखिएको व्यक्ति ।
३. खैरो, शंकास्पद व्यक्ति वा कोरोना पोजेटिभ देखिएको व्यक्तिको
सम्पर्कमा रहेको तर परीक्षण नगरिएको ।
४. हरियो, स्वस्थ्य व्यक्ति
यसबारे थप जानकारी लिनका लागि १०९ नम्बर मार्फत कतार सरकारको सम्बन्धित निकाय संग जानकारी लिन सकिने बताइएको छ । यो एप डाटा बेसका आधारमा जोडिएको छ जसको माध्यबाट कोरोना भाइरस संक्रमित व्यक्तिको बारेमा जानकारी लिन सकिने छ, जसको माध्यबाट स्थान समेत ट्रयाक गर्न सकिने छ । बिरामीको अवस्थाबारे जानकारी लिएर उनीहरुको अवस्थाको आधारमा प्राथमिकताको साथ उपचार गर्न सकिने छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*