लक्षण नदेखिएका कोरोना संक्रमितको खोजीमा चीन, ८ दिनमा भेटिए ६५७ संक्रमित

एजेन्सी
२७ चैत्र २०७६, बिहीबार १६:१५

बेइजिङ । चीनले कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि १ अप्रिलदेखि नयाँ उपाय अपनाएको छ । चीनले कोरोना भाइरसको लक्षण नदेखिएका तर भाइरसको संक्रमण भएकाहरुको खोजी थालेको हो । दोस्रो चरणको कोरोना संक्रमणको प्रकोप नियन्त्रणको प्रयासका लागि चीनले लक्षण नदेखिएका कोरोना संक्रमितको खोजी तीव्र रुपमा अघि बढाएको हो ।

चीनमा बुधबार ६३ नयाँ संक्रमित फेला परेका छन् । यसअघि मंगलबार ६२ संक्रमित फेला परेको राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको छ । बुधबार देखिएका नयाँ कोरोना संक्रमितमध्ये ६१ जना कोरोना संक्रमण भएको मुलुकबाट चीन आएका नागरिक रहेको बताइएको छ । चीनमा हालसम्‍म कोरोना संक्रमितको संख्या ८१ हजार ८६५ पुगेको छ ।

चीनले फेब्रुअरीमा विभिन्‍न प्रान्तमा लकडाउन घोषणा गरेसँगै नयाँ संक्रमितको संख्यामा कमी आएको छ । विभिन्‍न सहरहरुमा आवतजावतमा कडा प्रतिबन्ध, अधिकारीहरुको नियमित अनुगमन र नियमनका र मानिसहरुलाई घरबाट बाहिर निस्किन प्रतिबन्ध लगाएर सामाजिक दूरी कायम गर्न थालेसँगै कोरोना संक्रमितको संख्यामा कमी आएको हो । चीनमा अहिले बाहिरबाट चीन फर्किएका नागरिकहरुमा हुने र उनीहरुबाट संक्रमण फैलिनसक्नेप्रति मुख्य चिन्ता छ । त्यसका लागि उनीहरुलाई क्‍वारेन्टाइनमा राख्‍ने, पटक-पटक जाँच गर्नेलगायत सावधानी अपनाइएको छ ।

यससँगै चीनले अर्को चासो ज्‍वरो, खोकीजस्ता लक्षण नदेखिएका कोरोना संक्रमित अथवा सुषुप्त कोरोना भाइरसबाहको खोजीतर्फ छ । चीनमा बुधबार ५६ जना लक्षण नदेखिएका कोरोना संक्रमित फेला परेका छन् । १ अप्रिलदेखि चीनमा लक्षण नदेखिएका कोरोना संक्रमितको स‌ंख्या ६५७ पुगेको छ ।

बुधबारको स्टेट काउन्सिल अथवा क्याबिनेटले यस्ता कोरोना भाइरसका ‘साइलेन्ट क्यारियअर’ का लागि नयाँ नियम सार्वजनिक गरेका छन् । यस नयाँ नियमानुसार मेडिकलहरुले लक्षण नदेखिएका व्यक्तिहरुमा कोरोना संक्रमण भएको पुष्टि भएको दुई घण्टाभित्र स्थानीय सरकारलाई सूचना दिनुपर्नेछ । त्यसैगरी स्थानीय सरकारले २४ घण्टाभित्र उक्त व्यक्तिसँग सम्पर्कमा रहेका अन्य व्यक्तिहरुको खोजी गरेर कोरोना जाँच गर्ने र क्‍वारेन्टाइनमा राख्‍ने व्यवस्था मिलाउनुपर्नेछ ।

लक्षण नदेखिएका तर कोरोना संक्रमितको सम्पर्कमा भएका व्यक्तिहरुले अनिवार्य १४ दिन क्‍वारेन्टाइनमा बस्‍नुपर्नेछ । यस साताको सुरुमा वीच्याट मोबाइल प्लेटफर्ममार्फत कोरोना संक्रमणको लक्षण नदेखिएका तर पछि पुष्टि भएका व्यक्ति आएको विमान तथा रेलमार्फत सवार भएको-नभएको जानकारी गराउनसमेत बताइएको छ ।

चीनको वुहानमा जनवरी २३ मा लगाइएको लकडाउन करिब ११ सातापछि खुला गरिएपछि उच्च सावधानी अपनाइएकोसमेत बताइएको छ । लकडाउन खुलेको पहिलो दिन बुधबार वुहानबाट भित्रिने र बाहिरिने गरी २२१ उडानहरु भएको चिनियाँ नागरिक उडड्‍यन सन शाओहुआले जनाएको छ । उडानका मुख्य तीन गनत्वयमा छेङ्‍दु, हाइकोउ र सेन‍्जेन रहेको छन् ।

चिनियाँ समाचार एजेन्सी सिन्‍ह्वाले सहरी यातायात विभागलाई उदृत गर्दै बुधबार बेलुका पाँच बजेसम्म ६ लाख २० हजार मानिसहरुको सवारीसाधनमार्फत आवतजावत भएको जनाएको छ ।

कोरोना भाइरसको उद्‌गम हुबेइको स्वास्थ्य प्राधिकरणले १ अप्रिल यता हुबेइमा ३०३ लक्षण नदेखिएका कोरोना संक्रमित फेला परेको जनाएको छ । जसमध्ये वुहानमा २ जना लक्षण नदेखिएका कोरोना संक्रमितमा अहिले लक्षण देखिएको बताइएको छ ।

चीनमा भेटिएका ६५७ लक्षण नदेखिएका कोरोना संक्रमितमध्ये ५७ जनामा लक्षण देखिन थालेको छ । चिनियाँ स्वास्थ्य अधिकारीका अनुसार हाल लक्षण नदेखिएका कोरोना संक्रमितमध्ये अप्रिल अन्तिसम्मा दुई तिहाइलाई लक्षण देखिनेछ ।

सन् २०१९ को डिसेम्बर अन्तिममा चीनको वुहानबाट देखिएको कोरोना भाइरसबाट विश्‍वभर १४ लाख संक्रमित भेटिएका छन् भने करिब ८८ हजारको मृत्यु भइसकेको छ । चीनमा बुधबारसम्म तीन हजार ३३५ कोरोना संक्रमितको मृत्यु भएको बताइएको छ । -रोयटर्स

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*