कतारमा कोरोना संक्रमित २२ सय नाघ्यो
कतार । कतारमा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको संख्या २२ सय १० पुगेको छ । बुधवार थप १ सय ५३जनामा कोरोना भाइरस संक्रमण देखिएको हो ।
बिश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरसका कारण कतारमा संक्रमितको संख्या दिनहँु बढ्दै गएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म १ सय ७८ जना
निको भएर घर फर्किएका छन् भने जम्मा ४१ हजार ८ सय १८ जनाको जाँच भएको छ ।
आज मात्रै २८ जना संक्रमित निको भएर फर्केका हुन् । त्यस्तै हाल यहाँ दुई हजार २६ कोरोना संक्रमित बिरामीहरुलाई क्वारेन्टाइनमा राखेर उपचार भईरहेको जनस्वास्थ्य मन्त्रालयले जनाएको छ । बुधवार मात्रै ३ हजार ७ सय १० जनाको कोरोना परीक्षण समेत गरिएको थियो । हाल सम्म कोरोना भाईरस संक्रमणका कारण कतारमा ६ जनाको मृत्यु भईसकेको छ । मृत्यु हुनेहरु प्रायः सबै बृद्ध उमेरका थिए भने उनीहरु पहिलैदेखि स्वासप्रश्वास सम्बन्धि रोगबाट पीडित रहेका थिए ।
चीनको वुहानमा गत डिसेम्बरमा पत्ता लागेको कोरोना भाइरसको संक्रमण कतारमा पहिलो पटक एक ३६ वर्षिया कतारी नागरिकमा देखिएको थियो । कतार सरकारले भाइरस संक्रमण फैलिएपछि आफ्ना नागरिकलाई इरानबाट चार्टर्ड विमान मार्फत स्वदेश फिर्ता ल्याएको थियो ।
अन्य देशहरुबाट हालै कतार आएका नागरिकहरुमा भाइरस संक्रमण देखिएको यहाँबाट प्रकाशित हुने गल्फ टाइम्सले जनाएको छ । संक्रमित बिरामीहरुलाई
क्वारेन्टाइनमा राखिएको छ भने आवश्यक चिकित्सा सेवा तथा उपचार प्रदान गरिएको गल्फ टाइम्सले जनाएको छ ।
यहाँको जनस्वास्थ्य मन्त्रालयले समाजका सबै सदस्यहरूलाई भाइरस संकुचनको जोखिम कम गर्न सम्पूर्ण स्वास्थ्य दिशानिर्देशहरू र रोकथामका उपायहरूको
पूर्ण पालना र सहकार्य गर्नका लागि अनुरोध गरेको छ । भाइरससम्बन्धी कुनै जिज्ञासा भए मन्त्रालयको टोल फ्री नम्बर १६००० मा सोधपुछ गर्न सकिने जनाइएको छ ।

अनिल पराजुली











