न्यू योर्कमा एकैदिन कोरोनाबाट ज्यान गुमाउनेको संख्याले नयाँ रेकर्ड बनायो

एजेन्सी
२६ चैत्र २०७६, बुधबार ११:२८

कोरोना भाइरसको संक्रमणबाट पछिल्लो समय सर्वाधिक प्रभावित बनेको न्यू योर्कमा एकैदिन संक्रमणबाट ज्यान गुमाउनेको संख्याले नयाँ रेकर्ड कायम गरेको छ।

न्यू योर्कका गभर्नर एन्ड्रियू कुमोले मंगलबार कोरोना भाइरसबाट एकैदिन हालसम्मकै उच्च संख्यामा मानिसहरूको मृत्यु भएको जनाएका हुन्।

त्यहाँ एकैदिन ७३१ जनाको मृत्यु भएको छ।

योसँगै न्यू योर्कमा संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५ हजार ४ सय ८९ भएको छ। यस्तै १ लाख ३८ हजार ८ सय ३६ जनामा यसको संक्रमण पुष्टि भएको छ।

बितेका दुई दिन भने त्यहाँ संक्रमणदर र मृतक संख्यामा कमी आएको देखिएको थियो।

गभर्नर एन्ड्रियूले आफ्ना नागरिकहरूलाई सामाजिक दुरीको मार्गनिर्देशनलाई निरन्तर मान्न र घरभित्र नै बस्न आग्रह गरेका छन्।

‘हामीले जोडतोडका साथ यसलाई कायम गर्नुपर्छ। जीवन यसमै निर्भर छ’, उनले भने।

त्यसैगरी उनले न्यू योर्कका बासिन्दाहरूलाई ठूलो समूहमा भेला नहुन पनि भनेका छन्।

पछिल्लो समय कोरोनाबाट सर्वाधिक प्रभावित बनेको अमेरिकामा संक्रमणबाट १२ हजार ७ सय ३१ जनाको मृत्यु भइसकेको छ भने ३ लाख ९५ हजार ८ सय ५५ जनामा संक्रमण पुष्टि भएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*