केही दिनमै संक्रमितको सङ्ख्या १० लाख पुग्ने डब्लूएचओको चेतावनी

बाइलाइन नेपाल
२० चैत्र २०७६, बिहीबार १५:३४

विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)का प्रमुखले आउँदा केही दिनभित्रै विश्वमा कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या दश लाख पुग्ने बताएका छन्।

डब्लूएचओले सावधानीका उपाय बारेको आफ्नो सुझाव परिमार्जन गर्दै अनुहार ढाक्ने मास्कहरूको प्रयोगलाई प्रोत्साहन गर्ने विषयमा छलफल गर्न लागेको पनि जनाएको छ।

जोन्स हप्किन्स विश्वविद्यलायको तथ्याङ्क अनुसार पुष्टि भएका कोरोनाभाइरस सङ्क्रमणको संख्या ९ लाख ३७ हजार १७० रहेको छ भने ४७ हजार २ सयभन्दा बढीले ज्यान गुमाएका छन्।

कोरोनाभाइरसको सम्भावित जोखिमलाई ध्यान दिँदै विश्वभरि कुल जनसङ्ख्याको आधा मानिस कुनै किसिमको नियमनको अवस्थामा रहेको बताइएको छ।

विश्व स्वास्थ्य सङ्गठन डब्लूएचओका प्रमुखले कोरोनाभाइरसका कारण ज्यान गुमाउनेहरू निकै उच्च गतिमा बढेर गत साता दोबरभन्दा बढी पुगेको भन्दै चिन्ता व्यक्त गरेका हुन्।

टेड्रस एड्हानोम गेहब्रेयससले भने, “आउँदा केही दिनमा सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या विश्वमा दश लाख र मृत्यु हुनेको ५० हजार पुग्नेछ। यो विश्वको सबैजसो देश वा क्षेत्रमा पुगेको छ।”

यसैबीच डब्लुएचओ, विश्व ब्याङ्क र अन्तर्राष्ट्रिय मुद्रा कोषले विकासोन्मुख देशमा अर्थतन्त्र तहसनहस नहोस् भन्दै त्यहाँ ऋण सहायताको लागि आग्रह गरेका छन्।

डब्लुएचओ प्रमुखले सरकारहरूले जोखिममा रहेका समुदायलाई खाद्यान्न र अन्य आधारभूत सेवा उपलब्ध गराउनुपर्ने बताएका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*