विज्ञको चेतावनी : अमेरिकामा मात्र २ लाखको मृत्यु हुन सक्छ
अमेरिकाका एक जना वरिष्ठ विज्ञले कोरोना भाइरसको महामारीमा अमेरिकामा मात्रै दुई लाखको मृत्यु हुनसक्ने र दशौं लाखमा कोरोना संक्रमण हुनसक्ने चेतावनी दिएका छन् ।
राष्ट्रपति डोनल्ड ट्रम्पको कोभिड १९ कार्यदलका मुख्य अनुहार सरुवारोगविज्ञ डा.एन्थोनी फाउचीले सो चेतावनी दिएका हुन् । अमेरिकामा, अहिले विश्वमै सबैभन्दा धेरै करिब १ लाख ४० हजारभन्दा बढीमा कोरोना भाइरसको संंक्रमण देखिएको छ ।
डा.एन्थोनी फाउचीले अहिलेको अवस्थामा मृत्यु हुनेको संख्या एकदेखि दुई लाख हुनसक्नेु बताएका हुन् ।
तर उनले तत्कालै त्यस्तो संख्या सङ्क्रमणको तीव्र अवस्थामाझ गरिएको अनुमान भन्दै आफू त्यसमा अडिग रहन नचाहेको बताए ।
डाक्टर फाउचीले भने, ‘न्यूयोर्कमा गम्भीर समस्या झेलिसकिएको छ, अन्यत्र पनि गम्भीर समस्या छ र केही ठाउँहरू त्यसैगरी गम्भीर समस्या विकसित हुने क्रममा छन्।’ उनले जाँचहरू कार्यान्वयन भएमा केही प्रतिबन्धहरू कम गर्न सकिने बताए ।
संक्रमितको संख्यामा एक साताअघि नै अमेरिकाले चीन र इटलीलाई उछिनेको थियो । तर अमेरिकाको मृत्युदर भने इटली, स्पेन र चीनको भन्दा कम छ
।
अमेरिकाले दैनिक एक लाखभन्दा धेरै भाइरसको जाँच गरेका कारण संक्रमितको संख्या उच्च देखिएको राष्ट्रपति ट्रम्पको भनाई छ ।
मिसिगन राज्यका गभर्नर ग्रेचन वित्मरले यसअघि नर्सहरूले आफ्नो कामको पूरै समय एउटै मास्क लगाएर बिताउनुपरेको बताइका थिए । यसैबीच स्वास्थ्य सामग्रीहरू बोकेको पहिलो चिनियाँ विमान अमेरिका पुगेको छ ।
त्यसमा रहेका पञ्जा, शरीर ढाक्ने सुरक्षित पहिरन (गाउन) र मास्क यस महामारीबाट सबैभन्दा बढी प्रभावित न्यूयोर्क, न्यूजर्सी एवं कनेटिकट राज्यमा वितरण गरिने जनाइएको छ ।
अमेरिकामा अहिले सबैभन्दा ठूलो चिन्ता भेन्टिलेटरको अपर्याप्त व्यवस्थालाई लिएर भइरहेको छ ।- ऐजेन्सीहरुको सहयोगमा

बाइलाइन नेपाल











