अमेरिकामै किन यति छिटो फैलिँदैछ कोरोना, कहाँ चुक्यो शक्तिशाली देश ?

बाइलाइन नेपाल
१५ चैत्र २०७६, शनिबार २०:५८

अमेरिका जस्तो विकसित र शक्तिशाली देशले कोरोना भाइरसको महामारी नियन्त्रण गर्न नसकिरहँदा धेरै आश्चर्यचकित बनेका होलान् ।

चीन र इटालीमा भन्दा पनि धेरै संक्रमित संख्या अमेरिकामै छ । किन यस्तो भयो त ? किन अमेरिकामै तीव्र रुपमा संक्रमण फैलिँदैछ ? अमेरिकामा कोरोना महामारीको संकट थप गहिरिँदै गएको छ । त्यसो त, राष्ट्रपति डोनल्ड ट्रम्प पनि यस मामिलामा असफल नै बनेको टिप्पणी हुन थालेको छ ।

ट्रम्पले यस परिस्थितिविरुद्ध जुध्ने चलाखी अपनाउन नसक्दा हरेक दिन अमेरिकीहरु मृत्यु वा संक्रमणको सिकार बन्न बाध्य छन् । शनिबारसम्म यहाँ मृत्यु हुनेको संख्या १ हजार ७ सयभन्दा धेरै पुगिसकेको छ । १ लाख ४ हजार भन्दा धेरै संक्रमित छन् । त्यसमध्ये १ लाख जना त नयाँ संक्रमित हुन् । साथै २ हजार ४ सय जनाको अवस्था गम्भीर छ ।

बिहीबार एकै दिनमा अमेरिकामा १५ हजार नयाँ संक्रमित भेटिए । यति तिब्र रुपमा संक्रमण फैलनुको पछाडि विज्ञहरुले समेत केही कारण औंल्याएका छन् ।

चीन भन्दा फरक कसरी ?

अमेरिकामा संक्रमणको फैलावट चीनको भन्दा डरलाग्दो र तीव्र छ । चीनले नियन्त्रण गर्दा अमेरिकाले किन सकेन ? भन्ने पनि जिज्ञासा उठ्ने गरेको छ । तर यी दुई देशबीच आधारभुत भिन्नता छन्, जसले गर्दा महामारीको प्रकृति पनि फरक देखियो ।

चीनले वुहानमा संक्रमण देख्नासाथ लकडाउन गरी उच्च सतर्कता अपनाएको थियो । जनवरी २३ मा चीनले वुहानमा लकडाउन गर्दा बाँकी विश्व समुदायले मानवअधिकारको मुद्दा पनि उठाए । अन्ततः यस मामिलामा चीनको नियन्त्रण विधि नै वुद्धिमानी ठहरियो ।

जतिबेला चीनले लकडाउन गरेको थियो, त्यतिन्जेल त्यहाँ केही सिमित संक्रमित मात्रै देखिएका थिए । अमेरिकामा भने अनपेक्षित रुपमा संक्रमितको संख्या बढ्न थाल्यो । अमेरिकी राष्ट्रपतिले हरेक दिन भएका घटनालाई गम्भीर रुपमा नलिनाले पनि यहाँ महामारी अनियन्त्रित रुपमा फैलिएको टिप्पणी हुने गरेको छ ।

यदी यही स्तरमा संक्रमण फैलियो र सरकारले थप कदम चालेन भने मृत्यु हुनेको संख्या नै अरु दशौं हजार हुने टिप्पणी हुने गरेको छ । उता जापानले मध्य जनवरीमा पहिलो संक्रमित भेट्ना साथ सतर्कता अपनायो । त्यसै गरी दक्षिण कोरिया, ताइवान, सिंगापुरले पनि पहिलो संक्रमित देखिनासाथ उच्च सतर्कता अपनाए । तर अमेरिकामा पनि सोही अवधिमा संक्रमित भेटिएका थिए । तर अमेरिकाले गम्भीर रुपमा लिएन ।

एसियाली मुलुकसँग २००३ को सार्स महामारीसँग जुधेको अनुभव भएकाले पनि यस पटक सहज भएको बताइन्छ । अर्थात् उनीहरु छिट्टै ‘एक्सन’मा गए । दुई महिनाभन्दा धेरैपछि अमेरिकाको संक्रमित तथ्यांक आकाशिएको छ । हङकङ, ताइवान, सिंगापुर, जापान र कोरियामा केही सयको संख्यामै सिमित छन् । यतिमात्रै हैन, अमेरिकी राष्ट्रपति ट्रम्पले केही महिनासम्म महामारीलाई लिएर ठट्टा नै गरिरहे ।

यस्तै उनले ३९ देशमा महामारीका लागि खटिएका स्वास्थ्यकर्मीको टोली नै घटाए । यतिसम्म कि, उनले महामारीलाई पूरै बेवास्ता गरिरहे । झुटा दावी समेत गरे । सिएनएनमा प्रकाशित एक रिपोर्टका अनुसार उनले मार्च महिनामा मात्रै कोरोना महामारीबारे ३३ वटा झुट बोलेका रहेछन् ।

त्यसो त, अमेरिकी संकटको सारा दोष ट्रम्पको शैली मात्रै नभएर यहाँको स्वास्थ्य सेवा प्रणाली पनि जिम्मेवार मानिन्छ । रोगमा पनि पैशा कमाउने तथा धनाढ्यका लागि सेवादायी स्वास्थ्य प्रणालीमाथि आलोचना हुन थालेको छ ।

खासमा संक्रमण देखिन थालेपछि नै आम अमेरिकी नागरिकको स्वास्थ्य परीक्षण गरी क्वारेन्टाइनमा वा आइसोलेसनमा राखिनुपथ्र्यो । विडम्वना, शक्तिशाली देश अमेरिकाले शक्तिशाली राष्ट्रप्रमुखको अहंकार र ठट्टाको मुल्य अझै चुकाउनु पर्नेछ ।

(एजेन्सीहरुको सहयोगमा)

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*