कोरोनाका कारण मृत्यु भएकी बहिनीको शव निकाल्न याचना गर्दै इटलीका यी कलाकार !

बाइलाइन नेपाल
१३ चैत्र २०७६, बिहीबार १२:५१

एक इटलियन कलाकार, जो एक टेलिभिजन नाटकमा काम गर्छन्, उनले एक भिडियो पोस्ट गरेका छन् । उनको भिडियोले इटलीमा कोरोना भाइरसको संक्रमणपछिको अवस्था कस्तो छ भन्ने स्पष्ट पारेको छ ।

लुका फ्रेन्जी जो एक कलाकारका साथै मार्सल आर्ट गुरु पनि हुन् । उनले कोरोना भाइरसका कारण मृत्यु भएकी आफ्नी बहिनीको शवअगाडि रुँदै आफ्नो व्यथा सुनाउँछन् ।

कोरोना भाइरसका कारण उनले आफ्नी बहिनी गुमाएका फ्रेन्जीले भिडियोमार्फत गुहार माग्दा पनि कसैले गुहार नदिएको र शव उठाउन नआएको बताएका छन् ।

यो घटनाले कोरोना भाइरसको संक्रमणले विश्वभर कस्तो विभत्स अवस्था निम्त्याएको छ भन्ने देखाउँछ ।

‘म कसैको उत्तरको पर्खाइमा गएको रातिदेखि छु, तर कोही आएका छैनन्,’ लुकाले भिडियो पोस्ट गर्दै भनेका छन् ।

पृष्ठभूमिमा ज्यान गुमाएकी बहिनी सुतिरहेको अवस्थामा देख्न सकिन्छ ।

‘यो भिडियो बच्चा र बूढाबूढीलाई नदेखाउनुहोला, म यो समस्यासँग जुध्ने प्रयास गरिरहेको छु,’ लुका भिडियोमा भन्छन्, ‘मसँग ओछ्यानमा मेरी बहिनी छिन्, मरिसकेकी । मलाई थाहा छैन, मैले के गरुँ, मैले उनको अन्तिम क्रिया पनि गर्न पाएको छैन किनकि प्रशासनले मलाई सहयोग गरेन ।’

उनले भिडियोमार्फत भनेका छन्, ‘मैले सबैलाई अनुरोध गरेँ, मलाई कसैले पनि उत्तर दिएन, मेरी बहिनीको अन्तिम संस्कार गर्न पनि कोही घरमा आएको छैन ।’

उनी आफू आइसोलेसनमा बसेको बताएका छन् । स्वास्थ्यकर्मीलाई उनले कोरोना भाइरस चेकजाँच गर्न भने पनि कसैले सहयोग नगरेको उनले गुनासो गरेका छन् ।

‘मैले मेरी बहिनीलाई बचाउनका लागि मुखबाट सास दिएको थिएँ,’ उनले भिडियोमार्फत भनेका छन्, ‘गाइज् हामी समस्यामा छौं, इटलीले हामीलाई रिजेक्ट गर्‍यो, आउनुस् एकले अर्कालाई सहयोग गरौं ।’

आत्तिएका फ्रेन्जीले भिडियोमार्फत भन्छन्, ‘उनी मेरी बहिनी हुन्, के तपाईं देख्न सक्नुहुन्छ? उनी हिजोदेखि बेडमा छिन् ।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*