कोरोना भाइरसका कारण चारजनाको मृत्युपछि भारतमा ‘जनता कर्फ्यु’
एजेन्सी | कोराना भाइरसको सङ्क्रमणका कारण भारतमा बिहीबार थप एकजनाको मृत्यु भएको छ। सरकारी अधिकारीले बिहीबार दिएको जानकारीअनुसार पञ्जाव प्रान्तमा एक व्यक्तिको मृत्यु भएको हो।
योसँगै भारतमा कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या चार पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मृत्यु भएका पछिल्लो व्यक्ति ७० वर्षीय पुरुष रहेका छन्। ती व्यक्ति यही मार्च ७ मा इटाली र जर्मनी घुमेर भारत आएका थिए।
भारतमा कोरोना भाइरसका कारण बिहीबार बेलुकासम्म १७७ जना सङ्क्रमित भएका छन्। तीमध्ये १४८ जना भारतीय नागरिक रहेका छन् भने २५ जना विदेशी रहेका छन्। स्वास्थ्य अधिकारीका अनुसार सङ्क्रमित भएकामध्ये २० जना भने सफल उपचारपछि घर फर्किका छन् ।
जनता कर्फ्यु कोरोना भाइरस फैलिँदै गएपछि प्रधानमन्त्री नरेन्द्र मोदीले अवस्थालाई नियन्त्रण बाहिर जान नदिन बिहीबार देशबासीलाई सम्बोधन गरेका छन्। सम्बोधनका क्रममा उनले आगामी आइतवार बिहान ७ बजेदेखि राति ९ बजेसम्म जनता कर्फ्यु लगाउने अपिल गरेका छन्।
यो जनताका लागि, जनताले नै आफैँ लगाउने कर्फ्यु हुनेछ। उनले यस १४ घण्टाका क्रममा कोही पनि व्यक्ति घर बाहिर ननिस्कन अपिल गरेका छन्। उनले साँझ ५ बजे आफ्नो-आफ्नो घरमै ताली बजाएर, थाली बजाएर, घण्टी बजाएर एक अर्कामा आभार जनाउन पनि अपिल गरेका छन्। आइतवार यस भाइरसविरुद्ध लड्नका लागि एकता देखाउन पनि उनले अपिल गरेका छन्।

बाइलाइन नेपाल











