कोरोना भाइरसबारेका गलत सूचनाबिरुद्ध सामाजिक सञ्जाल कम्पनी एक हुने
कोरोना भाइरसको संक्रमणले विश्वव्यापी महामारीको रुप लिइरहँदा त्यसकाविरुद्ध आइरहेका गलत सूचना रोक्न फेसबुक, ट्वीटर लगायतका सामाजिक सञ्जाल कम्पनिहरु एकजुट हुने भएका छन् ।
सामाजिक संजालहरुमा भ्रामक र गलत सूचनाहरु आउने क्रम जारी रहेका बेला यसलाई रोक्न टेक कम्पनीहरु संयुक्तरुपमा नै लाग्ने भएका हुन् ।
संयुक्त सहकार्यमा फेसबुक, गूगल, लिंक्डइन, माइक्रोसफ्ट, रेडिट, ट्विटर र यूट्यूब रहेका छन् ।
‘हामी अन्य कम्पनीहरुलाई पनि हाम्रो कम्यूनिटीहरुलाई स्वस्थ र सुरक्षित राख्न सहकार्य गर्न अनुरोध गर्दछौं,’ फेसबुकले निकालेको विज्ञप्तिमा भनिएको छ ।
सोशल मिडिया कम्पनीहरुले कोभिड १९ को बारेमा हुने फ्रड, गलत जानकारीहरुलाई रोक्न संयुक्तरुपमा काम गरिरहेको भन्दै आधिकारीक कन्टेन्टहरु मात्र सो प्लेटफर्ममा राखिने बताएका हुन् ।
सामाजिक संजाल कम्पनीहरुले आफ्नो प्लेटफर्ममा भ्रामक किसिमका विज्ञापनहरु राख्ने र मानिसहरुमा त्रास फैलाउने किसिमका विज्ञापनहरुलाई रोक्ने छन् भने मेडिकल फेस मास्क बिक्रीको विज्ञापन अस्थाई रुपमा रोक्नेछन् ।
यसका साथै २ करोड अमेरिकी डलर कोभिड १९ विरुद्ध लड्नका लागि विश्व स्वास्थ्य संगठनलाई सहयोग दिने घोषणा समेत उनिहरुले गरेका छन् ।

बाइलाइन नेपाल











