चीनमा कोरोना भाइरस नियन्त्रणतिर, इटलीमा देशैभर फैलियो संक्रमण
कोरोना भाइरसको ठूलो संकट व्यहोरेको चीनले पछिल्ला दिनमा भाइरस नियन्त्रणमा ठूलो सफलता पाएको छ।
सोमबार चीन जम्मा १९ जनामा मात्र कोरोनाभाइरसको नयाँ संक्रमण भेटिएको साउथ चाइना मर्निङ पोष्टले जनाएको छ। १९ मध्ये पनि १७ जनालाई मात्र चीन भित्र संक्रमण भएको बताइएको छ। दुई जना चिनियाँ नागरिक विदेशबाट फर्किदा संक्रमित भएर आएका थिए।
चीनभित्र संक्रमित भएका १७ जना सबै कोरोना भाइरसको उदगम स्थल हुवेई प्रान्तको राजधानी वुहान सहरका नागरिक हुन्। लगातार तेस्रो दिन चीनमा वुहान सहरबाहिर कसैलाई कोरोना भाइरस संक्रमण भएको छैन।
एक महिनाअघिसम्म चीनमा कोरोनाको संक्रमण दर दिन दुई गुणा रात चौगुणा बढिरहेको थियो। करिब एक महिना अघि फेब्रुअरी ४ मा एकैदिन ३ हजार ८ सय ८७ जना नयाँ संक्रमित भेटिएका थिए।
यसरी एक महिनाभित्रै चीनले कोरोना भाइरसको संक्रमणलाई नियन्त्रणमा लिन ठूलो सफलता प्राप्त गरेको हो।जनवरी २३ देखि वुहान सहरलाई पूर्ण रूपमा बन्द गरिएको थियो। सहर बन्द गरिए पनि संक्रमणको दर वुहानबाहिर पनि बढेको थियो।
कोरोना भाइरसका कारण अहिलेसम्म चीनमा ३ हजार १ सय ३६ जनाले ज्यान गुमाएका छन् भने ८० हजार ३ सय ९४ जना बिरामी भएका छन्।
चीनमा नियन्त्रणमा आउन थालेको कोरोना भाइरस विशेष गरी युरोप, अमेरिका र एसियाका केही मुलुकमा ठूलो संख्यामा फैलिरहेको छ।
सबैभन्दा ठूलो संक्रमण इटालीमा देखिएको छ। इटालीका प्रधानमन्त्री जुसेप कोन्टेले २० वटै प्रान्तमा कोरोना भाइरस फैलिएको जानकारी दिएका छन्। इटालीमा आइतबार १ सय ३३ जनाले ज्यान गुमाएका थिए भने सोमबार ९७ जनाको मृत्यु भएको थियो। त्यस्तै एकैदिनमा संक्रमण २५ प्रतिशतले बढेको छ।
चीनपछि इटाली कोरोना भाइरसले सबैभन्दा धेरै प्रभावित हुने देश बनेको छ। इटालीमा अहिलेसम्म ४ सय ६२ जनाको मृत्यु भइसकेको छ भने ९ हजार १ सय ७२ जनामा कोरोना भाइरस देखिएको छ। कोरोनाको संक्रमण बढ्दै गएपछि इटलीले देशभर खुला आवतजावतमा रोक लगाएको छ।अत्यावश्यक भएको खण्डमा अनुमति लिएरमात्र नागरिकलाई घर बाहिर निस्कन भनिएको छ।
तेस्रो धेरै प्रभावित देश दक्षिण कोरिया हो। त्यहाँ अहिलेसम्म ५४ जनाको मृत्यु भएको छ भने ७ हजार ५ सय १३ जनामा संक्रमण देखिएको छ।
युरोपका अन्य मुलुक जर्मनी, फ्रान्स र स्पेन धेरै प्रभावित भएका छन्। यी सबै मुलुकमा एक हजारभन्दा धेरैमा कोरोना भाइरसको संक्रमण भएको छ।
अमेरिकामा पनि कोरोना भाइरसको संक्रमण बढ्दो छ। क्यालिफोर्निया र न्युयोर्क राज्यले कोरोनाविरूद्ध लड्न संकटकाल घोषणा गरेका छन्। अमेरिकामा अहिलेसम्म २४ जनाको मृत्यु भएको छ भने ५ सय १४ जनामा संक्रमण देखिएको छ।
कोरोना भाइरसबारे तपाईंले थाहा पाउनु पर्ने ९ तथ्य
१.कोरोना भाइरस पक्कै पनि खतरनाक छ। तर यसको संक्रमण भएपछि मान्छेको मृत्यु नै हुन्छ भन्ने होइन। विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का अनुसार कोरोना भाइरसको संक्रमण भएकामध्ये ३.४ प्रतिशत बिरामीको मात्र मृत्यु भएको छ। त्यो भनेको संक्रमण भएकामध्ये ९६ प्रतिशतभन्दा बढी निको भएका छन्।
२. फरक उमेर समूहमा कोरोना भाइरसको प्रभाव फरक देखिएको छ। कम उमेरका बालबच्चा वा वयस्कलाई यो भाइरसले कम प्रभाव पारेको छ।
डब्लूएचओका अनुसार ४० वर्षभन्दा कम उमेर समुहका मानिसको मृत्युदर ०.२ प्रतिशतमात्र छ। अर्थात् कोरोना भाइरस लागेका ४० वर्षभन्दा कम उमेरका एक हजार जनामध्ये दुई जनाको मात्र मृत्यु भएको छ। ८० वर्षभन्दा माथिका मानिसहरूको मृत्युदर बढी छ।
३. कोरोना भाइरसलाई यात्रा गर्न कुनै माध्यम चाहिन्छ। जस्तो हाँछ्यु गर्दा, खोक्दा वा बोल्दा हाम्रो शरीरबाट निस्कने थुक, र्याल आदिमा चढेर यो बाहिर निस्कन्छ। त्यसरी बाहिर निस्केर सिधै अर्को मानिसको नाक, मुख र आँखामा नपरेसम्म यो शरिरभित्र पस्न सक्दैन। अर्थात हाम्रो छालाबाट कोरोना भाइरस सोझै हाम्रो शरीरमा छिर्दैन।
मानिसले हाछ्युँ गर्दा वा खोक्दा थुक, खकार, र्यालका छिटाहरू एक मिटर परसम्म जान सक्ने भएकाले डाक्टरहरूले संक्रमित मानिससँग कम्तीमा एक मिटरको दूरीमा बस्नु सुरक्षित हुने सल्लाह दिएका छन्।
४. कोरोना भाइरसले मानिसको श्वासप्रश्वास प्रणालीमा आक्रमण गर्ने हो। जसको श्वासप्रश्वास प्रणाली कमजोर छ, उनीहरूलाई यसले बढी सताउँछ। त्यसैले धेरै उमेर भएका, रोग प्रतिरक्षा प्रणाली कमजोर भएका, डायबेटिजलगायत अन्य रोगसँग लडिरहेका मानिसले कोरोनासँग अझै बढी सचेत हुनुपर्छ।
५. कोरोना भाइरसबाट जोगिने सबैभन्दा महत्वपुर्ण उपाय हातले अनुहार नछुनु हो। किनकी जबसम्म यो भाइरस हाम्रो आँखा, नाक र मुखमा पर्दैन। तबसम्म यो शरिरभित्र छिर्न सक्दैन। भाइरसलाई आँखा, मुख र नाकसम्म लैजान महत्वपूर्ण माध्यम हात हो।
हामी प्राय: बेलाबेलामा हातले अनुहार छोइरहेका हुन्छौं। घरी आँखा मिच्छौं। घरी नाक कोट्याउँछौं घरि चिउडोमा हात पुर्याउँछौं। यसो गर्दा हातमा भएको कोरोना भाइरसले हाम्रो फोक्सोसम्म पुग्ने गेट भेटाउँछ।
संसारभरिकै मानिसलाई हातले अनुहार नछुने बानी हटाउन गाह्रो छ तर यसरी हातलाई अनुहारमा नपुर्याउने हो भने कोरोना भाइरसको संक्रमणबाट जोगिन सकिन्छ।
६.जतिसक्यो धेरै हात धुनु पर्छ। किनकी तपाईं संक्रमित व्यक्तिको नजिक हुनुहुन्न भने पनि तपाईंको हातमा कोरोना भाइरस आउन सक्छ।
जस्तो बसमा यात्रा गर्दा कुनै संक्रमित मानिसले हाँछ्यु गरेर, खोकेर वा अरू कुनै माध्यमले भाइरस छोडेको हुनसक्छ। त्यही ठाउँमा तपाईंहको हात पर्यो भने भाइरस हातमा आउँछ।
कोरोना भाइरस यस्तो जब्बर छ कि उपयुक्त वातावरण पाए यो मानिसको शरिरबाहिर पनि ९ दिनसम्म बाँच्न सक्छ। त्यसैले संक्रमितले बसको डन्डी, कुनै सामानको कभर, बेसिनको धारा टुटी जता पनि यसलाई छोडेको हुनसक्छ। यस्ता ठाउँमा छोएपछि हात धुँदा हात सफा हुन्छ र कोरोना भाइरस अनुहारसम्म पुग्ने सम्भावना कम हुन्छ।
भेट हुँदा र छुट्टिँदा हात मिलाउनुको साटो नमस्कार गर्नुभयो भने अर्को व्यक्तिको हातमा रहेको कोरोना भाइरस तपाईंको हातमा आउन पाउँदैन।
७. अहिले नेपालमा पनि स्यानिटाइजरको अभाव देखिन्छ। तर हात धुँदा स्यानिटाइजर नै चाहिन्छ भन्ने छैन। कुनै ठाउँमा तपाईंसँगै हात धुन साबुन र पानी छैन भने स्यानिटाइजर प्रयोग गर्न सकिन्छ तर सबैभन्दा राम्रो तरिका साबुन पानीले हात धुनु नै हो।
८. जसरी कोरोना भाइरस संसारभर फैलिरहेको छ त्यसरी नै नेपालमा मास्कको माग बढेको छ र अभाव सिर्जना भएको छ। कोरोना भाइरस हावाका माध्यमबाट मात्र सर्न नसक्ने भएकाले मास्क लगाउनु आफैंमा महत्वपूर्ण छैन।
यद्यपी मास्क लगाउँदा तीन किसिमले हामीलाई फाइदा पुग्छ। पहिलो, यसले संक्रमित व्यक्तिबाट भाइरस बोकेका थुक, खकार र र्यालका छिटा तपाईंको नाक-मुखमा पर्न दिँदैन। दोस्रो, कति मानिसलाई कोरोना भाइरसको संक्रमण भए पनि लक्षणहरू देखिँदैनन्। त्यस्तो अवस्थामा थाहै नपाई अरूमा भाइरस सर्नसक्छ। मास्क लगायो र हाँछ्यु गर्दा नाकमुख छोप्यो भने अरू मानिसमा भाइरस जाने सम्भावना कम हुन्छ। तेस्रो, मास्क लगाउँदा अनुहारमा अनावश्यक छुने क्रम घटन सक्छ। मास्क निकाल्दा र लगाउँदा कानतिरबाट गर्न सकिन्छ। तर मास्क लगाएर नाकमुखबाट घरिघरि तलमाथि सार्ने गरे झन् जोखिम बढ्न सक्छ।
९. सबै रूघाखोकी वा ज्वरो कोरोना भाइरस लागेर हुँदैनन्। त्यसै पनि नेपालमा अहिले मौसम परिवर्तन भइरहेको छ। चिसोबाट गर्मी मौसम लाग्दा कतिलाई मौसमी रूघाखोकी देखिन सक्छ। त्यस्तोबेला आत्तिनु हुँदैन। अस्पताल गएर चिकित्सकको सल्लाह लिनुपर्छ। -एजेन्सीको सहयोगमा

बाइलाइन नेपाल











