इटालीमा मृतकको संख्या ह्वात्तै बढ्यो, १० दिन विद्यालय बन्द
एजेन्सी । कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ह्वात्तै बढेपछि इटालीमा १० दिन सबै शैक्षिक संस्था बन्द गर्ने घोषणा गरिएको छ । अब इटालीमा विद्यालय र विश्वविद्यालयहरू १५ मार्चसम्म बन्द रहने अधिकारीहरूले जानकारी दिएका छन् ।
कोरोनाभाइरस सङ्क्रमणका कारण इटलीमा हालसम्म १०७ जनाको मृत्यु भइसकेको छ। योसँगै कोरोना भाइरसबाट चीनपछि सबैभन्दा बढी इटालीमा मृत्यु भएको छ । इरानमा ९२ जनाको मृत्यु भएको छ ।
प्रधानमन्त्री जुजेप्पे कोन्टेले देशको स्वास्थ्यसेवा जोखिममा रहेको बताएका छन् । देशको उत्तरी क्षेत्रमा ३ हजारभन्दा बढी मानिसमा संक्रमण देखिएको छ । तर इटालीका अन्य २० मध्ये १९ क्षेत्रमा पनि सङ्क्रमण फैलिएको पुष्टि भइसकेको छ।
कोरोना भाइरसका कारण हालसम्म ३ हजार २ सय ८५ जनाको मृत्यु भइसकेको छ भने ९५ हजार ४ सय ११ जनामा संक्रमण भएको छ । त्यसमध्ये ५३ हजार २ सय ५५ जना संक्रमणपछि निको भएका छन् ।
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले हालसम्म कोरोनाभाइरस सङ्क्रमणलाई विश्वव्यापी महामारीका घोषणा गरेको छैन ।
जर्मनीका स्वास्थ्यमन्त्री योन्स स्पानले अब कोरोना भाइरस सङ्क्रमणलाई महामारीको परिभाषामा राख्न सकिने बताएका छन् । अहिलेसम्म ८१ देशमा सङ्क्रमण पुष्टि भइसकेको छ। चीनबाहिर इटली, इरान र दक्षिण कोरियामा धेरै संक्रमण भएको पाइएको छ ।
इटालीका शिक्षामन्त्री लुचिया चोलिनाले विद्यार्थीले चाँडै कक्षा सुरु गर्नेमा आफू विश्वस्त रहेको बताएकी छन् ।
इटालीको नागरिक सुरक्षा निकायले कोरोना भाइरसका कारण मृत्यु हुने मानिसको संख्या २८ बाट १०७ पुगेको जनाएको थियो । मिलाननजिकै रहेको लोम्बार्ड्री क्षेत्र र उत्तरी भेगका बोलोग्ना र भेनिसनजिकैका ठाउँमा सबैभन्दा धेरै जनाको मृत्यु भएको छ।
यसअघि मिलान नजिकैका ११ वटा नगरमा झन्डै ५० हजार मानिसलाई क्वारेन्टाइनमा राखिएको भए पनि संक्रमण फैलिने क्रम रोकिएको छैन ।
सामाचार संस्था रोयटर्सका अनुसार इटाली सरकारले अब सिनेमाघर र नाट्यशाला तथा सार्वजनिक कार्यक्रममा पनि रोक लगाउने तयारी गरिरहेको छ ।
सरकारले मस्यौदा गरिरहेको एउटा आदेशमा सर्वसाधारण मानिसलाई यथासम्भव अंकमाल नगर्न तथा हात नमिलाउन सुझाव दिने उल्लेख छ।
चीन र हङ्कङ, जापान, इराक र यूएईले पहिले नै विद्यालयहरू बन्द गरिसकेका छन् ।
त्यसबाट विद्यालय उमेरका लाखौँ बालबालिका प्रभावित बनेका छन् । फ्रान्सले कोरोनाभाइरस प्रभावित क्षेत्रमा १२० वटा विद्यालय बन्द गराएको छ ।

बाइलाइन नेपाल











