अब हेटौंडामा एमबीबीएसको अध्ययन सुरु हुन्छः मुख्यमन्त्री पौडेल

बाइलाइन नेपाल
२९ पुष २०७७, बुधबार १८:३०

हेटौंडा । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मदनभण्डारी स्वाथ्य विज्ञान प्रतिष्ठानले हेटौंडामा एमबीबीएसको पढाइ सुरु गर्ने बताएका छन् । आज हेटौंडामा मकवानपुर सहकारी अस्पतालको अति सघन उपचार कक्षसहितको नयाँ भवनमा स्थापना गरिएको ट्रमा सेन्टरको उद्घाटन गर्दै हेटौंडामै एमबीबीएसको पढाइ सुरु हुने बताएका हुन् ।

मुख्यमन्त्री पौडेलले उपचार गर्नका लागि मकवानपुरबाट अर्बौ रुपैयाँ बाहिर जिल्लामा गएकाले अब स्वास्थ्यमा सुधार गरेर त्यो रोक्ने उल्लेख गरे । सरकारी अस्पतालको समयमा अन्य निजी अस्पतालमा काम नगर्नका लागि उनले डाक्टरहरुलाई निर्देशन समेत दिए । हेटौंडा अस्पतालले अहिले कुनैपनि खालका सेवा दिनका लागि तयार रहेको बताए । मकवानपुर जिल्लाको स्वास्थ्य सेवाको क्षेत्र सुधार गर्न प्रदेश सरकार अग्रसर रहेको र निजी क्षेत्रको लगानी स्वास्थ्य सेवाको विकासमा सहयोगी भूमिकामा रहने मुख्यमन्त्री पौडेलले उल्लेख गरे ।

कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले सरकारी स्वास्थ्य संस्थाले निजी तथा सहकारीको अवधारणामा स्थापित स्वास्थ्य संस्थालाई प्रतिस्पर्धी स्वास्थ्य संस्थाको रुपमा नबुझी सहयोगी निकायको रुपमा बुझेर आवश्यक समन्वय गर्नुपर्ने सुझाव दिए । प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले सरकारी स्वास्थ्य संस्थाको असल नियत हुँदा हुँदै पनि सेवा, सुविधा पर्याप्त हुन नसके बताए ।

हेटौंडा अस्पताल विकास समितिका अध्यक्ष प्रकाश पौडेलले सरकारी स्वास्थ्य संस्था र निजी तथा सहकारीमार्फत सञ्चालित स्वास्थ्य संस्थाबीच सहकार्य जरुरी रहेको औँल्याए । उनले सरकारी स्वास्थ्य संस्थामा सेवा प्रदान गर्ने चिकित्सकलाई सरकारी स्वास्थ्य संस्थामै कार्य गर्ने समयमा निजी तथा सहकारीमार्फत सञ्चालित स्वास्थ्य संस्थाले काममा लगाउन नहुनेप्रति सचेत गराए ।

मकवानपुर सहकारी अस्पतालका अध्यक्ष विष्णुगोपाल महर्जनले सहकारी अस्पताल सञ्चालनमा आएको १० वर्षको अवधिमा आइसीयुसहितको सेवा विस्तार गर्न पाउँदा खुसी र गर्व लागेको बताए । उनले स्वास्थ्य सेवाको क्षेत्रमा सुरक्षाको चुनौति रहेको बताउँदै सहकारी अस्पतालले आगामी दिनमा थप सेवा विस्तार गर्नुका साथै सेवाको गुणस्तर बढाउँदै लैजाने जनाए ।

दुई करोड २५ लाख रुपैयाँ लगानी थप गरेर मकवानपुर सहकारी अस्पतालले आइसीयुसहितको ट्रमा सेन्टर विस्तार गरेको जनाइएको छ । २५ बेडको मकवानपुर सहकारी अस्पतालले बेडको क्षमता वृद्धि गर्ने योजना बनाए पनि स्वीकृति कुन निकायले दिने भन्ने अन्यौलका कारण लक्ष्य अनुसार काम गर्न नसकिएको अध्यक्ष महर्जनले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*