यसकारण इटलीमा कोरोनाले निम्त्यायो भयावह अवस्था
एजेन्सी । विश्व यतिबेला कोरोना भाइरसको महामारीसँग जुधिरहेको छ । जसका कारण करिब ८ लाख संक्रमित भइसकेका छन् भने ३८ हजारको मृत्यु भइसकेको छ । पृथ्वीको लगभग सबै भाग कोरोनाको चपेटामा परेको छ ।
कोरोना भाइरसका कारण सबैभन्दा बढी इटलीमा ११ हजार ५ सय ९१ जनाले ज्यान गुमाइसकेका छन् भने १ लाख एक हजार ७ सय जनामा संक्रमण भइसकेको छ । कोरोना संक्रमण रोक्नका लागि कडा कदम उठाउनुका बाबजुद मृत्यु हुने र संक्रमितको संख्या रोकिएको छैन ।
एन्टोनिया मिलानमा बस्छिन् । उनी आफ्नो कारमा बसेको बेला प्रहरीले रोके । उनले कुनै नियम तोडेकी होइनन् । उनसँगै बसेकी साथीलाई पछाडिको सिटमा बस्न लगाए र मास्क लगाउन भने । इटलीको मिलान सहरमा बस्ने एक महिलाले अगाडिको सिटमा दुई जना एकै पटक बस्न नमिल्ने बताए । उनी आफ्ना एक नातेदारलाई भेट्नका लागि अस्पताल जाँदै थिइन् ।
उनका आफन्त अस्पतालमा छन् । उनी कोरोना भाइरस संक्रमित पनि होइनन् । उनी आफ्नो अरु नै स्वास्थ्य समस्याका कारण अस्पताल भर्ना भएका हुन् ।
इटलीमा घरबाट बाहिर निस्कनका लागि उचित कारण चाहिन्छ । इटलीमा प्रतिबन्धको ६ साता भइसक्यो । तर यति लामो लकडाउन हुँदा पनि त्यहाँ किन अन्य देशको तुलनामा अझै मृत्युदर बढिरहेको छ ?
विशेषज्ञका भनाई अनुसार यसमा केही कारण जिम्मेवार छन् । सबैभन्दा ठूलो कारण भनेको देशको ठूलो जनसंख्या वृद्ध मानिसहरुको छ । जापानपछि इटली संसारकै सबैभन्दा बढी वृद्धवद्धा भएको देश हो । कोरोना भाइरसबाट सबैभन्दा बढी वृद्धवृद्धाको मृत्यु भइरहेको छ ।
मिलानमा कार्यरत एक डाक्टर मासिमो ग्याल्लीका अनुसार अझै पनि तथ्यांकले सबै संक्रमितलाई बताउँदैन । उनका अनुसार इटलीमा यो भन्दा बढी मानिस कोरोना भाइरस संक्रमित छन् । जसमा संक्रमणको दर उच्च छ उनीहरुको मात्रै परीक्षण गरिएको छ ।
त्यसै कारण मृत्यु हुनेको संख्या बढिरहेको छ । इटलीको लोम्बार्डी क्षेत्रमा मात्रै हरेक दिन पाँच हजारभन्दा बढीको स्वाब परीक्षण भइरहेको छ । उनका अनुसार अहिले जति परीक्षण भइरहेको छ, त्यो भन्दा केही बढी परीक्षण गर्न आवश्यक छ ।
किनकि हजारौं मानिस अझै पनि घरमा उपचारको पर्खाइमा छन् । यसका साथै कोरोना भाइरसको उपचार संलग्न स्वास्थ्यकर्मीलाई सुरक्षात्मक पहिरन र उपकरणको समेत अभाव छ । अन्य देशका लागि इटलीको घटना ठूलो चेतावनी हो ।
डा.मासिमो ग्याल्ली भन्छन्, हाम्रो देशमा नेशनल हेल्थ केयर सिस्टम छ र यसले धेरै राम्रो तरिकाले काम गरिरहेको छ । खासगरी लोम्बार्डी क्षेत्रमा हाम्रो प्रणाली भने नराम्ररी प्रभावित भएको छ ।’
स्वास्थ्य विशेषज्ञका अनुसार अस्पतालमा चामत्कारिक रुपमा बेडसंख्या थप गरिएको छ । तर औषधीको अभाव भइरहेको छ । यो सबैभन्दा ठूलो समस्याको कुरा हो ।
इटलीमा अहिलेसम्म जति मानिसको मृत्यु भएको छ, उनीहरुको औसत उमेर निकाल्ने हो भने ७८ वर्ष रहेको छ । विशेषज्ञले इटलीको सार्वजनिक स्वास्थ्य प्रणालीका कारण धेरै वृद्धवृद्धालाई पनि बचाउन सफल भएको बताएका छन् ।
१ सय २ वर्षकी ग्रोनडोना कोरोना भाइरसको उपचार पछि निको भएर घर फर्किएकी छन् । उनी २० दिन अस्पताल बसिन् । कोरोना भाइरस रोक्नका लागि इटलीमा कडा प्रतिबन्ध लगाइएको छ । सरकारको अनुमति बिना घरबाहिर निस्किएमा तीन लाखभन्दा बढी जरिमाना तिर्नुपर्छ ।
घरबाट २ सय मिटरभन्दा टाढा कुकुर घुमाउन पनि जान पाइदैन । कतिपयले इटलीमा यसरी लगाइएको लकडाउन उल्लंघन गरे र सरकारले मानिसको आधारभूत मानवअधिकार हनन भएको बताए ।
कोरोना संक्रमण रोक्न आइसाेलेसन वा क्वारेन्टाइनबाहेक अर्को विकल्प अहिलेसम्म हामीसामू छैन । जसलाइ पालना नगर्दा आज इटलीको अवस्था भयावह बनेको छ ।

एजेन्सी











