बिनादर्ताका औषधि पसल बन्द गरिने, सप्ताहव्यापी उत्सव सुरु
हेटौँडा। नेपाल औषधि व्यवसायी संघ, जिल्ला शाखा मकवानपुरले आफ्नो ५३औँ स्थापना दिवसको अवसरमा सप्ताहव्यापी सामाजिक तथा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने भएको छ। संघले आगामी असार ६ गतेदेखि १० गतेसम्म विभिन्न रचनात्मक कार्यक्रम गरी स्थापना दिवस मनाउन लागेको हो।
संघका अध्यक्ष विष्णु थापाका अनुसार यस पटकको स्थापना दिवसलाई सामाजिक उत्तरदायित्वसँग जोडेर विभिन्न कल्याणकारी कार्यक्रमहरू आयोजना गरिएको छ। सप्ताहव्यापी कार्यक्रम अन्तर्गत मिर्गौला पीडित बिरामीहरूलाई आर्थिक सहयोग, लागूपदार्थ दुर्व्यसनविरुद्ध प्रभातफेरी, विपन्न तथा जेहेन्दार विद्यार्थीहरूलाई पोसाक वितरण, डेंगु रोग सम्बन्धी सचेतनामूलक तालिम र बृहत् रक्तदान कार्यक्रम सञ्चालन गरिने जानकारी उनले दिए।
अध्यक्ष थापाले स्थापना दिवसका सम्पूर्ण कार्यक्रमहरूलाई भव्य, सभ्य र प्रभावकारी रूपमा सम्पन्न गर्न जिल्लाका सम्पूर्ण औषधि व्यवसायीहरूलाई सक्रिय सहभागिताका लागिसमेत आग्रह गरेका छन्।
बिनादर्ता सञ्चालित औषधि पसल बन्द गर्न प्रशासनको चेतावनी
यसैबीच, जिल्ला प्रशासन कार्यालय मकवानपुरले मानव स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको औषधि व्यवसायलाई थप मर्यादित र कानुनी दायरामा ल्याउन निगरानी बढाएको छ। प्रशासनले जिल्ला भित्र बिनादर्ता वा नवीकरण नगरी सञ्चालनमा रहेका औषधि पसलहरूलाई तत्काल कानुनी प्रक्रिया पूरा गर्न निर्देशन दिएको छ।
नियम विपरीत र दर्ता बिना सञ्चालन गरिएका औषधि पसलहरू पाइएमा तत्काल बन्द गरी कडा कानुनी कारबाही गरिने चेतावनी जिल्ला प्रशासन कार्यालयले दिएको छ। नागरिकको स्वास्थ्यमाथि हुने खेलबाडलाई रोक्न र औषधि बजारलाई व्यवस्थित बनाउन अनुगमनलाई समेत तीव्र पारिने प्रशासनको भनाइ छ।

बाइलाइन नेपाल











