पर्यटकले ल्याएको कोरोनाले स्पेनमा २४ दिनमै मच्चिएको हाहाकार !

बाइलाइन नेपाल
१५ चैत्र २०७६, शनिबार २०:५७

एजेन्सी । चीनको वुहान शहरमा कोरोना भाइरसको संक्रमण देखिएको ठीक १ महिनापछि ३१ जनवरी २०२० मा स्पेनमा पहिलो पटक कोरोना भाइरस संक्रमण देखियो । त्यसबेला जर्मनबाट आएका एक पर्यटकमा कोरोना भाइरस पोजेटिभ देखिएको थियो ।

९ फेब्रुअरीमा बेलायतबाट आएका अर्का पर्यटकमा कोरोना भाइरस पोजेटिभ देखियो । ती बेलायती पर्यटक फ्रान्स हुँदै स्पेन आइपुगेका थिए ।

त्यसपछि १३ फेब्रुअरीमा चीनबाट नेपाल हुँदै स्पेन पुगेका ६९ वर्षीय १ व्यक्तिको मृत्यु भएको थियो । तर, उनको मृत्युपछि मात्रै कोरोना भएको पुष्टि भएको थियो ।

४ मार्चमा भ्यालेन्सियामा १ व्यक्तिको मृत्यु भएपछि पहिलो स्पेनिसको मृत्यु भएको मानिएको थियो । त्यसपछि सुरु भएको मृत्यु हुने क्रम बढ्दै जाँदा यतिबेला स्पेनको अवस्था भयावह बनेको छ । ४ मार्चसम्म स्पेनमा जम्मा १ सय ६६ जना संक्रमित थिए ।

स्पेनमा ७ मार्चसम्म मृत्यु हुनेको संख्या ७ थियो । जतिबेला जम्मा ५ सय २५ जना मात्र संक्रमित थिए । १९ मार्चमा स्पेनमा मृत्यु हुनेको संख्या ८ सय ३३ थियो भने १८ हजार संक्रमित पुगेका थिए ।

त्यसको १० दिनपछि मृत्यु हुनेको संख्या ह्वात्तै बढ्यो । २८ मार्च अर्थात ठीक २४ दिनपछि स्पेन विश्वकै सबैभन्दा बढी मृत्यु हुने देशको सूचीमा दोस्रो नम्बरमा छ । स्पेनमा मृत्यु हुने र संक्रमितको संख्या बढ्दै जाँदा त्यहाँको स्वास्थ्य प्रणालीमा नै असन्तुलन पैदा भएको छ ।

स्पेनमा यतिबेला चीनले स्वास्थ्य उपकरण र बिरामीको उपचारमा सहयोग गर्ने बताएको छ । सिंगो देश ठप्प अवस्थामा छ भने मानवीय गतिविधि शून्यप्रायः छन् ।

स्पेनमा शनिबार मात्र ५ सय ५२ जनाको मृत्यु भएपछि जम्मा मृत्यु हुनेको संख्या ५ हजार ६ सय ९० पुगेको छ भने ७२ हजार २ सय ४८ जना संक्रमित भइसकेका छन् । यसले कोरोना भाइरसले कसरी एकैपटक विश्वलाई थला पार्‍याे भन्ने देखिन्छ ।

विश्वमा हाल ६ लाख २० हजारभन्दा बढी संक्रमित भएका छन् भने २८ हजार ६ सय ५० भन्दा बढीको मृत्यु भएको छ । यसरी मृत्यु हुनेमा सबैभन्दा बढी संख्या पछिल्लो १ महिनाकै अवधिको रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*