राष्ट्रिय धान दिवसमा अखिल (क्रान्तिकारी) द्वारा सामूहिक रोपाइँ

बाइलाइन नेपाल
१४ असार २०८३, आईतवार २०:०९

हेटौंडा । नेपालको अर्थतन्त्रको मुख्य मेरुदण्ड मानिने कृषि क्षेत्रको प्रवर्द्धन र खाद्य सुरक्षामा युवा विद्यार्थीहरूको भूमिकालाई उजागर गर्दै हेटौंडामा भव्य रूपमा धान दिवस मनाइएको छ। “धान उत्पादन बढाऔँ, आत्मनिर्भर नेपाल बनाऔँ” भन्ने मूल नाराका साथ २३औँ राष्ट्रिय धान दिवसको अवसरमा अखिल (क्रान्तिकारी) मकवानपुरले प्रत्यक्ष कृषि कर्ममा जोडिएर धान रोपाइँ कार्यक्रम सम्पन्न गरेको हो।

विद्यार्थीहरूलाई किताबी ज्ञानसँगै व्यावहारिक श्रम र कृषिसँग जोड्ने उद्देश्यले हेटौंडा उपमहानगरपालिका–५ स्थित गढी चिसापानी, कालिका मन्दिर नजिकै रहेको करिब १० रोपनी जग्गामा सामूहिक धान रोपाइँ गरिएको हो।

कृषि उत्पादनमा आत्मनिर्भर बन्न युवा र विद्यार्थी शक्ति मैदानमै उत्रिनुपर्छ भन्ने सन्देश दिँदै आयोजना गरिएको उक्त कार्यक्रममा अखिल (क्रान्तिकारी) मकवानपुरका अध्यक्ष बुद्ध राज अर्याल, सह–सचिव अभ्युदय खनाल, तथा संगठनका सदस्यहरू राहुल तामाङ, प्रचण्ड बैजु, देवराज घिमिरे र रबिन चौलागाईं लगायतका विद्यार्थी नेताहरूले हिलोमा पसेर धान रोपेका थिए।

विद्यार्थीहरूको यस सराहनीय कार्यलाई ऐक्यबद्धता जनाउन स्थानीय प्रतिनिधि र विभिन्न क्षेत्रका व्यक्तित्वहरूको पनि उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा वाईसीएल हेटौंडा–५ का वडा अध्यक्ष हरि धकाल, फुटबल रेफ्री केदार दुलाल, पूर्व जनमुक्ति सेना नेपालका सदस्य गणेश सुवेदी तथा नेकपा हेटौंडा उपमहानगरपालिका–५ कमिटीका सदस्यहरूको समेत सक्रिय सहभागिता रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै अखिल (क्रान्तिकारी) मकवानपुरका अध्यक्ष बुद्ध राज अर्यालले वि.सं. २०६१ सालदेखि नेपालमा औपचारिक रूपमा असार १५ लाई राष्ट्रिय धान दिवसका रूपमा मनाउन थालिएको स्मरण गराए। उनले भने, “नेपालको प्रमुख खाद्यान्न बाली धान भएकाले यसको उत्पादन बढाउनु आजको आवश्यकता हो। युवा तथा विद्यार्थीहरूलाई परम्परागत कृषि प्रणालीबाट माथि उठाई आधुनिक र व्यावसायिक कृषिमा आकर्षित गर्न संगठनले यो व्यावहारिक कदम चालेको हो। किसानको श्रमको सम्मान र कृषिको प्रवर्द्धन विना आत्मनिर्भर अर्थतन्त्र सम्भव छैन।”

परम्परागत रूपमा असारे भाका गाउँदै, हिलो छ्यापाछ्याप गरेर उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको यस कार्यक्रममा सहभागीहरूले सामूहिक रूपमा धान रोपाइँ गर्दै देशलाई खाद्यान्नमा आत्मनिर्भर बनाउन हरेक पक्षको सक्रियता र श्रमको सम्मान अनिवार्य रहेको प्रतिबद्धता व्यक्त गरेका थिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*