काठमाडौंः आस्था, सम्पदा र सभ्यताको राजधानी
एउटा सानो बस्तीका रुपमा रहेको उपत्यका विकासक्रम र समयसँगै नेपालको प्रमुख शहर अर्थात काठमाडौं शहर बन्यो। यो देशकै राजधानी हो । काठमाडौं प्रशासनिक क्षेत्रको राजधानीमा मात्रै सीमित छैन, पशुपतिनाथस्वम्भुको आस्थादेखि बसन्तपुर र धराहरासम्मको सम्पदा र सभ्यताको राजधानी पनि हो ।
मल्लकालिन राजाहरुको शासनकालमा यहाँ सुन्दर मन्दिर, दरबार, पोखरी र कलाकृतिहरु निर्माण गरिए । जसले काठमाडौंलाई कला, संस्कृति र सभ्यताको केन्द्रका रुपमा स्थापित ग¥यो । पृथ्वीनारायण शाहले नेपाल एकीकरण गरेपछि काठमाडौं देशको राजधानी बन्यो र राष्ट्रिय गतिविधिहरुको मुख्य केन्द्रका रुपमा विकसित हुँदै गयो। आज काठमाडौं नेपालको राजनीतिक, आर्थिक, शैक्षिक तथा सांस्कृतिक केन्द्र हो। यहाँ सरकारी कार्यालय, विद्यालय, विश्वविद्यालय, अस्पताल, उद्योग तथा व्यापारिक संस्थाहरु केन्द्रित छन्। अध्ययन, रोजगारी, व्यापार र अवसरको खोजीमा देशका विभिन्न भागबाट हजारौँ मानिसहरु काठमाडौं आउने गर्छन्। समय अनुरुप आधुनिक भवन, सडक, पुल र अन्य पूर्वाधारहरु निरन्तर निर्माण भइरहेका छन्। यद्यपि बढ्दो जनसंख्या, ट्राफिक जाम, वायु प्रदूषण तथा अव्यवस्थित शहरीकरण जस्ता चुनौतीहरु पनि यहाँ देखिन्छन्। यी समस्याहरुका बाबजुद काठमाडौं नेपालको विकास, इतिहास, संस्कृति र पहिचानको महत्वपूर्ण केन्द्रका रुपमा आज पनि परिचित छ।
काठमाडौं विकास, इतिहास, संस्कृति मात्र नभएर धार्मिक सहरका रुपमा पनि परिचित छ। यहाँ विभिन्न धर्म र संस्कृतिका मानिसहरु मिलेर बसोबास गर्छन्। हिन्दू धर्मावलम्बीहरुको आस्थाको प्रमुख केन्द्र पशुपतिनाथ मन्दिर बागमती नदीको किनारमा अवस्थित छ। त्यसैगरी स्वयम्भूनाथ र बौद्धनाथ स्तूपा बौद्ध धर्मावलम्बीहरुको महत्वपूर्ण धार्मिक तथा सांस्कृतिक केन्द्र हुन्। यी ऐतिहासिक तथा धार्मिक सम्पदाहरुले काठमाडौंको गौरव बढाएका छन्। यहाँ हरेक वर्ष देश तथा विदेशबाट हजारौँ भक्तजन र पर्यटकहरु दर्शन, पूजा तथा भ्रमणका लागि आउने गर्छन्। यस कारण काठमाडौं धार्मिक पर्यटनको प्रमुख गन्तव्यका रुपमा पनि परिचित छ। साथै बसन्तपुर दरबार स्क्वायरले पुरातत्व र इतिहाँस बोकेर काठमाडौँको मुटुमा बिराजमान छ । जहाँ काष्टकला, सँस्कृती र नेवारी परम्पराको अनुपम स्वाद चाख्न पाईन्छ । यिनै विशेषताहरु भएको कारण काठमाडौं आन्तरीक तथा बाह्य पर्यटकहरुको पहिलो रोजाई र गन्तब्य बनेको छ ।
सदाबहार धरहराको आकर्षण
काठमाडौंको मुटु मानिने सुन्धारामा अवस्थित धरहरा नेपालको इतिहास, संस्कृति र राष्ट्रिय पहिचानसँग जोडिएको महत्वपूर्ण सम्पदा हो । तत्कालीन प्रधानमन्त्री भीमसेन थापाको पालामा निर्माण गरिएको धरहरा २०७२ सालको विनाशकारी भूकम्पमा ध्वस्त भएको थियो । त्यसपछि आधुनिक प्रविधि र भूकम्प प्रतिरोधी संरचनासहित पुनर्निर्माण गरिएको धरहरा अहिले आन्तरिक तथा बाह्य पर्यटकको प्रमुख आकर्षण बनेको छ ।
करिब २२ तले नयाँ धरहराबाट काठमाडौं उपत्यकाको मनोरम दृश्य अवलोकन गर्न सकिन्छ । लिफ्ट र सिँढीको सुविधा रहेको धरहराले इतिहास र आधुनिकताको संगम प्रस्तुत गरेको छ । पुनर्निर्माणपछि यहाँ दैनिक रुपमा सयौं पर्यटक पुग्ने गरेका छन् । विशेषगरी नयाँ पुस्ताले इतिहाससँग प्रत्यक्ष साक्षात्कार गर्ने अवसरका रुपमा धरहरालाई हेर्ने गरेका छन् ।
लुम्बिनी प्रदेशबाट परिवारसहित घुम्न आएकी अनिता पौडेलले धरहरा चढ्ने आफ्नो लामो समयदेखिको चाहना पूरा भएको बताइन् । ‘सानो हुँदा धरहराको बारेमा धेरै सुनेकी थिएँ, तर काठमाडौं आएर हेर्ने अवसर मिलेको थिएन । भूकम्पपछि धरहरा भत्किएको खबरले दुःख लागेको थियो । अहिले पुनर्निर्माण भएको धरहरा आफ्नै आँखाले हेर्न र माथिसम्म चढ्न पाउँदा निकै खुसी लागेको छ,’ उनले भनिन् ।
पशुपतिनाथ मन्दिरको इतिहास र वर्तमान अवस्था
नेपालको राजधानी काठमाडौंको बागमती नदी किनारमा अवस्थित पशुपतिनाथ मन्दिर देशकै पवित्र हिन्दू तीर्थस्थलमध्ये एक हो। भगवान शिवलाई समर्पित यो मन्दिर धार्मिक आस्था, संस्कृति र इतिहासको अद्वितीय संगमका रूपमा परिचित छ। पशुपतिनाथ मन्दिरको इतिहास अत्यन्त प्राचीन मानिन्छ। यसको स्थापना कहिले भएको हो भन्ने यकिन प्रमाण नभए पनि यो स्थल हजारौँ वर्षदेखि धार्मिक गतिविधिको केन्द्र रहँदै आएको विश्वास गरिन्छ। समयक्रममा विभिन्न राजा तथा शासकहरूले मन्दिरको संरक्षण, पुनर्निर्माण र विस्तार गर्दै यसको धार्मिक तथा सांस्कृतिक महत्वलाई अझ मजबुत बनाएका छन्। पशुपतिनाथ मन्दिर नेपाली प्यागोडा शैलीको उत्कृष्ट उदाहरण हो। मन्दिरको सुनौलो छाना, चार दिशामा रहेका मुख्य द्वारहरु, तथा काष्ठमा कुँदिएका देवी–देवताका कलात्मक आकृतिले नेपाली शिल्पकलाको समृद्ध परम्परा झल्काउँछन्।
मन्दिर परिसर केवल मुख्य मन्दिरमा मात्र सीमित छैन । वरिपरि रहेका साना–ठूला मठ, आश्रम, घाट र मूर्तिहरुले यसलाई विशाल धार्मिक परिसरको रुपमा स्थापित गरेका छन्। यहाँ हिन्दू धर्मावलम्बीहरु मात्र नभई विभिन्न देशका पर्यटकहरु पनि दर्शन र अवलोकनका लागि आउने गर्छन्। पशुपतिनाथ हिन्दू धर्मावलम्बीहरुका लागि मोक्ष प्राप्तिको प्रमुख तीर्थस्थल मानिन्छ। यहाँ गरिने पूजा, आरती र विशेष अनुष्ठानहरुले भक्तजनमा गहिरो आध्यात्मिक अनुभूति प्रदान गर्छन्। विशेष गरी महाशिवरात्रि पर्वमा लाखौँ भक्तजन, साधुसन्त र विदेशी तीर्थयात्रीहरुको भीड लाग्ने गर्दछ। पशुपतिनाथ मन्दिर दर्शनका लागि प्रत्येक वर्ष करिब १ लाख ४० हजार विदेशी पर्यटक तथा भक्तजन आउने गरेको पशुपति क्षेत्र विकास कोषका सूचना अधिकारी सूर्य भाटले जानकारी दिएका छन्। जसबाट पशुपति क्षेत्र विकास कोषले वार्षिक रुपमा करिब १४ करोड रुपैयाँ राजस्व संकलन गर्ने गरेको उनले जानकारी गराए । विशेषगरी आन्तरिक पर्यटक तथा छिमेकी देश भारतबाट हिन्दू धर्मावलम्बी भक्तजनहरु ठूलो संख्यामा मन्दिर दर्शनका लागि आउने गरेका छन्। मन्दिर परिसरमा प्रवेश गर्नेबित्तिकै धूपको बास्ना, घण्टीको आवाजले फरक ऊर्जा महसुस हुने गरेको दोलखाबाट मन्दिर दर्शन गर्न आएकी पर्यटक अप्सरा बस्नेत बताउँछिन् । बागमती नदी किनारमा चलिरहेका धार्मिक क्रियाकलापहरुले त्यहाँ एकछिन रोकिन बाध्य बनाउने गरेको उनले बताइन् ।
सूचना अधिकारी भाटका अनुसार विदेशी पर्यटकबाट भने प्रति व्यक्ति १ हजार रुपैयाँ प्रवेश शुल्क लिने व्यवस्था रहेको छ । वर्तमान समयमा पशुपतिनाथ मन्दिर नेपालको प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्य बनेको छ। यो क्षेत्र सन् १९७९ मा युनेस्कोको विश्व सम्पदा सुचिमा सुचिकृत गरिएको छ। हाल मन्दिर क्षेत्रको व्यवस्थापन, सरसफाइ र संरक्षणका लागि विभिन्न निकायहरु सक्रिय छन्। भीड व्यवस्थापन, घाटहरुको संरक्षण तथा सांस्कृतिक सम्पदाको जगेर्नाको लागि सरकारवालाहरुले सुधारका प्रयास गरिरहेका छन् ।
धार्मिक, सांस्कृतिक र ऐतिहासिक सम्पदा बौध्दनाथ
बौध्दनाथ स्तूप काठमाडौं उपत्यकाको उत्तरपूर्वी क्षेत्रमा अवस्थित छ । बौद्धनाथ स्तूप बौद्ध समुदायको एक महत्वपूर्ण धार्मिक, सांस्कृतिक र ऐतिहासिक सम्पदा हो।
विशाल अर्धगोलाकार स्तूपा, चारैतिरबाट हेर्ने बुद्वका आँखा, प्रार्थना चक्रहरूको मधुर ध्वनि र आध्यात्मिक वातावरणले बौद्धनाथलाई नेपालका प्रमुख आकर्षणहरूमध्ये एक बनाएको छ। इतिहासको लामो यात्रादेखि वर्तमानको व्यस्त धार्मिक तथा पर्यटकीय केन्द्रसम्म आइपुग्दा बौद्धनाथले आफ्नो विशिष्ट पहिचान कायम राख्न सफल भएको छ।
बौद्धनाथ स्तूपाको निर्माणसम्बन्धी विभिन्न किंवदन्ती र ऐतिहासिक विवरण पाइन्छन्। प्रचलित मान्यताअनुसार यसको निर्माण पाँचौं शताब्दीको आसपासमा लिच्छवि राजा मानदेवको शासनकालमा भएको मानिन्छ। एक प्रसिद्ध किंवदन्ती अनुसार, एक वृद्ध महिलाले राजासँग भूमि मागेर स्तूपा निर्माणको अनुमति प्राप्त गरेकी थिइन्। उनको अथक प्रयास र धार्मिक निष्ठाका कारण विशाल स्तूपा निर्माण सम्पन्न भएको विश्वास गरिन्छ। इतिहासकारहरूका अनुसार बौद्धनाथ प्राचीन व्यापारिक मार्गको महत्वपूर्ण केन्द्र पनि थियो।

तिब्बत र नेपालबीच आवतजावत गर्ने व्यापारीहरु यहाँ विश्राम गर्ने, प्रार्थना गर्ने तथा धार्मिक अनुष्ठान सम्पन्न गर्ने गर्थे। यसले बौद्धनाथलाई केवल धार्मिक स्थल मात्र नभई सांस्कृतिक आदानप्रदानको केन्द्रका रूपमा पनि विकास गर्यो। बौद्धनाथको ऐतिहासिक, सांस्कृतिक तथा धार्मिक महत्वलाई दृष्टिगत गर्दैसन् १९७९ मा यो विश्व सम्पदा सूचीमा सुचिकृत भएको थियो। बौद्धनाथ विशेषगरी तिब्बती बौद्ध परम्पराको प्रमुख केन्द्र मानिन्छ। स्तूपा वरिपरि रहेका गुम्बा, प्रार्थना स्थल र धार्मिक संस्थाहरूले यहाँको आध्यात्मिक वातावरणलाई जीवन्त बनाएका छन्। प्रत्येक दिन सयौं श्रद्धालुहरु स्तूपको परिक्रमा गर्दै प्रार्थना गर्छन्। बिहान र साँझको समयमा देखिने भक्तजनहरूको भीडले बौद्धनाथको धार्मिक महत्व स्पष्ट झल्काउँछ। साँझको समयमा बौद्धनाथमा दियो, बत्ती र धूपको बास्नाले वातावरण अझै सुन्दर र आध्यात्मिक महसुस हुने गरेको धरानबाट घुम्न आएका पर्यटक जिवन लामाले बताए ।उनी बुद्ध जयन्ती, लोसार तथा अन्य बौद्ध पर्वहरूका बेला बौद्धनाथ क्षेत्र घुम्न आउनेगरेको बताउँछन् ।
आजको बौद्धनाथ धार्मिक केन्द्रसँगै पर्यटन, व्यवसाय र सांस्कृतिक गतिविधिको प्रमुख केन्द्र बनेको छ। स्तूपा वरिपरि होटल, रेस्टुरेन्ट, हस्तकलाका पसल, पुस्तकालय तथा ध्यान केन्द्रहरूको विकास भएको छ। विदेशी तथा स्वदेशी पर्यटकहरुको निरन्तर आगमनले स्थानीय अर्थतन्त्रलाई टेवा पुर्याएको बौद्धनाथ क्षेत्र विकास समितिले जनाएको छ ।
प्राचीन तथा प्रसिद्ध धार्मिक सम्पदा स्वयम्भूनाथ
स्वयम्भूनाथ स्तूपा नेपालका सबैभन्दा प्राचीन तथा प्रसिद्ध धार्मिक सम्पदामध्ये एक हो । यसलाई मंकी टेम्पलका नामले पनि चिनिन्छ। यो काठमाडौं उपत्यकाको पश्चिमी भागमा रहेको पहाडको टुप्पोमा अवस्थित छ।स्वयम्भूनाथको इतिहास करिब २ हजार वर्षभन्दा पुरानो मानिन्छ। धार्मिक किंवदन्ती अनुसार काठमाडौं उपत्यका कुनै समय विशाल ताल थियो। उक्त तालको बीचमा स्वयं उत्पन्न भएको दिव्य ज्योति (स्वयम्भू) प्रकट भएको विश्वास गरिन्छ। पछि मञ्जुश्रीले चोभारको पहाड काटेर तालको पानी बाहिर निकालेपछि उपत्यका बस्तीयोग्य बनेको र त्यही ज्योतिको स्थानमा स्वयम्भूनाथ स्तूप निर्माण गरिएको जनविश्वास छ।ऐतिहासिक अभिलेखअनुसार स्तूपको प्रारम्भिक निर्माण राजा मानदेवको शासनकालतिर भएको मानिन्छ । समय समयमा विभिन्न राजा तथा शासकहरूले यसको संरक्षण र पुनर्निर्माण गरेका छन्।
काठमाडौं महानगरपालिका १५ मा अवस्थित श्यम्भुनाथ धार्मिक, सांस्कृतिक तथा कलात्मक महत्व बोकेको एक प्रमुख पर्यटकीय गन्तव्यका रुपमा परिचित छ। विशेषगरी बौद्ध धर्मावलम्बीहरुको आस्थाको केन्द्रका रुपमा रहेको श्यम्भुनाथले स्वदेशी तथा विदेशी पर्यटकलाई वर्षभरि आकर्षित गर्दै आएको छ। स्तूपाको शिखरमा अंकित बुद्धका आँखा ज्ञान र करुणाका प्रतीक मानिन्छन्। यहाँ दैनिक रुपमा सयौं स्वदेशी तथा विदेशी श्रद्धालुहरु पूजा, ध्यान र दर्शनका लागि आउने गर्छन्।आज स्वयम्भूनाथ नेपालको प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्य बनेको छ। युनेस्कोको विश्व सम्पदा सूचीमा सूचीकृत काठमाडौं उपत्यकाका महत्वपूर्ण सम्पदामध्ये स्वयम्भूनाथ पनि एक हो। स्वयम्भूनाथको ऐतिहासिक तथा धार्मिक महत्वका कारण चिन, भुटान, थाइल्यान्ड, श्रिलंका र भारतलगायत विभिन्न देशबाट पर्यटकहरु यहाँ दर्शन तथा अवलोकनका लागि आउने गरेका छन्।
यहाँको धार्मिक वातावरण, पुरातात्विक कलाकृति तथा सांस्कृतिक सम्पदाले पर्यटकहरुलाई विशेष रुपमा लोभ्याउने गरेको छ। शहरको भिडभाडबाट टाढा रहेको यो धार्मिक स्थलले अध्यात्मिक शान्ति प्रदान गर्ने गरेको हेटौंडाबाट स्वयम्भूनाथ दर्शन गर्न आएका पर्यटक डोल्मा लामा बताउँछिन् । पर्यटन प्रवद्र्धनसँगै स्वयम्भूनाथको सौन्दर्य र पूर्वाधार विकासमा पनि स्थानीय तहले ध्यान दिएको छ। काठमाडौं महानगरपालिका वडा नम्बर–१५ ले यस क्षेत्रको सौन्दर्य अभिवृद्धि तथा पर्यटकमैत्री वातावरण निर्माणका लागि विभिन्न योजना सञ्चालन गरिरहेको जनाएको छ। वडा सदस्य विजु श्रेष्ठका अनुसार स्वयम्भूनाथ क्षेत्रलाई थप व्यवस्थित र आकर्षक बनाउन विभिन्न स्थानमा सडक बत्ती जडान गर्ने, पर्यटकहरुको विश्राम तथा मनोरञ्जनका लागि पार्क निर्माण गर्ने तथा स्वयम्भूनाथतर्फ जाने सडकहरुको स्तरोन्नति र पिच गर्ने कार्य भइरहेको बताए ।
कला, संस्कृति र सभ्यताको बसन्तपुर
काठमाडौंको मुटुमा अवस्थित बसन्तपुर दरबार क्षेत्र नेपालको इतिहास, कला, संस्कृति र सभ्यताकोएक संग्रहालय हो । हनुमानढोका दरबार, प्राचीन मन्दिरहरु, दरबारी चोकहरु तथा अद्वितीय काष्ठकलाले सजिएको यो क्षेत्र नेपालका गौरवशाली सम्पदामध्ये एक मानिन्छ। यही स्थानबाट मल्ल र शाह राजाहरुले राज्य सञ्चालन गरेका थिए भने राज्याभिषेकदेखि महत्वपूर्ण राजकीय समारोह समेत यही क्षेत्रमा सम्पन्न हुने गर्थे। बसन्तपुर दरबार क्षेत्रको विकास लिच्छवि कालदेखि प्रारम्भ भएको मानिए पनि यसको अधिकांश संरचना मल्लकालमा निर्माण भएका हुन्। विशेषगरी १६औँ र १७औँ शताब्दी तिर मल्ल राजाहरुले यहाँ भव्य दरबार, मन्दिर र चोकहरुको निर्माण गरी यस क्षेत्रलाई सांस्कृतिक केन्द्रका रुपमा विकास गरेका थिए।

पछि नेपाल एकीकरणपछि पृथ्वीनारायण शाहले काठमाडौं विजय गरेपछि यही दरबारलाई शाही निवासका रुपमा प्रयोग गरेको इतिहासमा उल्लेख छ । दरबार क्षेत्रभित्र रहेको हनुमानढोका दरबार, तलेजु मन्दिर, कुमारी घर, कालभैरव मन्दिर तथा बसन्तपुर दरबार नेपाली वास्तुकला र नेवारी शिल्पकलाका उत्कृष्ट नमुना मानिन्छन्। बसन्तपुर दरबार क्षेत्रलाई युनेस्कोले सन् १९७९ मा विश्व सम्पदा सूचीमा सूचीकृत गरेको थियो . जसअन्तर्गत हनुमानढोका दरबार क्षेत्र पनि समावेश छ।वि.सं. २०७२ सालको विनाशकारी भूकम्पले बसन्तपुर दरबार क्षेत्रका धेरै ऐतिहासिक संरचनामा क्षति पु¥यायो। कतिपय मन्दिर र दरबारका भागहरु भत्किए भने केही संरचनाहरु पूर्ण रुपमा पुनर्निर्माण गर्नुपर्ने अवस्था आयो । त्यसपछि नेपाल सरकार, पुरातत्व विभाग तथा अन्तर्राष्ट्रिय सहयोगमार्फत पुनर्निर्माण कार्य सुरु गरियो। हाल अधिकांश महत्वपूर्ण सम्पदाहरु पुन निर्माण भइसकेका छन् ।
काठमाडौं महानगरपालिका वडा नं. २३ का वडा अध्यक्ष मचराजा महर्जनले बसन्तपुर दरबार क्षेत्रको पर्यटन प्रवद्र्धनलाई व्यवस्थित र प्रभावकारी बनाउने योजना अघि सारेको बताए । उनका अनुसार भारत, चिनलगायत देशका साथै आन्तरिक पर्यटकहरु दैनिक सयौंको संख्यामा बसन्तपुर क्षेत्र भ्रमण गर्न आउने गरेका छन्। पर्यटकलाई यस क्षेत्रको इतिहास, संस्कृति र भौगोलिक जानकारी दिन गाइडको व्यवस्था गर्ने तयारी भइरहेको उनले बताएका छन् । साथै, सरसफाइ, सौन्दर्यीकरण र समग्र व्यवस्थापनमा विशेष ध्यान दिइने पनि उनले उल्लेख गरेका छन् ।
बसन्तपुर दरबार क्षेत्रमा दैनिक रुपमा स्वदेशी तथा विदेशी पर्यटकहरुआउने गरेका छन्।इन्द्रजात्रा, कुमारी जात्रा, दशैंलगायतका धार्मिक तथा सांस्कृतिक पर्वहरुले यस क्षेत्रलाई अझ जीवन्त बनाएका छन्। यहाँ पुराना दरबार, मन्दिर र कलात्मकताले भरिएको यस क्षेत्रमा घुम्दा पुरानो नेपाल जीवितैरहेकोे अनुभुती भएको फ्रान्सबाट नेपाल भ्रमणमा आएकी पर्यटक एन्जिला बताउँछिन् । यहाँका मठ–मन्दिर, जीवित देवी कुमारीको परम्परा, नेवारी संस्कृति तथा परम्परागत कला–वास्तुकलाले आफुलार्ई आकर्षित पारेको उनि सुनाउँछिन्।

काठमाडौं उपत्यका नेपालको इतिहास, संस्कृति, धर्म र सभ्यताको महत्वपूर्ण केन्द्रका रुपमा परिचित छ। पशुपतिनाथ, बौद्धनाथ, स्वयम्भूनाथ र बसन्तपुर दरबार क्षेत्रजस्ता विश्वसम्पदा सूचीमा सूचीकृत सम्पदाहरुले धार्मिक तथा सांस्कृतिक पर्यटनलाई टेवा पु¥याइरहेका छन् । यी सम्पदाहरूले स्वदेशी तथा विदेशी पर्यटकलाई आकर्षित गर्दै स्थानीय अर्थतन्त्र र पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान दिएका छन् ।
(बागमती प्रदेश सरकार, संस्कृति तथा पर्यटन मन्त्रालयको सहयोगमा तयार पारिएको)

अम्बिका बस्नेत











