अनेक पर्यटकीय गन्तव्य बोकेको काभ्रेपलाञ्चोक
काठमाडौंबाट करिब २१ किलोमिटरको दूरी पार गरेपछि काभ्रेपलाञ्चेक जिल्ला पुगिन्छ । काभ्रेको प्रकृतिकोसौन्दर्य, ऐतिहासिक सम्पदा, धार्मिक आस्था, सांस्कृतिक विविधता र ग्रामीण जीवनले पर्यटकलाई बारम्बार लोभ्याउँछ ।काभ्रेपलाञ्चोक उत्कृष्ट पर्यटकीय गन्तव्यको रुपमा बागमती प्रदेशभित्र मात्र सीमित छैन ।समुद्री सतहदेखि २८० मिटर उचाइको कोखाजोर खोलादेखि ३ हजार १८ मिटर अग्लो बेथानचोक नारायण डाँडासम्म फैलिएको काभ्रेपलाञ्चोक पूर्वमा रामेछाप र दोलखा, पश्चिममा काठमाडौं, भक्तपुर र ललितपुर, उत्तरमा सिन्धुपाल्चोक तथा दक्षिणमा सिन्धुली र मकवानपुरसँग जोडिएको छ। संघीय संरचनापछि जिल्लामा ६ नगरपालिका र ७ गाउँपालिका गरी १३ स्थानीय तह छन्।
अरनिको राजमार्ग र बीपी राजमार्ग यही जिल्लाबाट गुज्रिन्छन्। तिब्बततर्फ जाने तथा फर्कने पर्यटक, हेलम्बु, पाँचपोखरी र सगरमाथा क्षेत्रतर्फ यात्रा गर्ने आगन्तुकका लागि धुलिखेल लामो समयदेखि विश्रामस्थलका रुपमा परिचित छ। यही सहज पहुँचले पनि काभ्रेको पर्यटनलाई थप बल पु¥याएको छ।धुलिखेल, नगरकोट, पनौती, नमोबुद्ध, पलाञ्चोक भगवती, तेमाल, रोशीको तीनधारे झरना, बेथानचोक नारायणस्थान, चौवास र घ्याङडाँडाजस्ता गन्तव्यले काभ्रेलाई विविध स्वादको पर्यटन जिल्ला बनाएका छन्। हिमाल हेर्न चाहनेका लागि डाँडा छन्, धार्मिक यात्राका लागि मन्दिर र गुम्बा छन्, साहसिक खेलका लागि नदी र पहाड छन् भने गाउँको मौलिक जीवन नजिकबाट अनुभव गर्न चाहनेका लागि थुप्रै ग्रामीण बस्ती पनि छन्।
काभ्रेपलाञ्चोक चिनाउँदै नमोबुद्ध
काभ्रेपलाञ्चोकको चर्चा नमोबुद्धबिना अधुरो हुन्छ। काठमाडौंबाट करिब ३२ किलोमिटर तथा धुलिखेलबाट १८ किलोमिटर दक्षिणमा रहेको नमोबुद्ध बौद्ध धर्मावलम्बीका लागि विश्वकै महत्वपूर्ण तीर्थस्थलमध्ये एक मानिन्छ। पनौती हुँदै शंखु उपत्यका भएर वा धुलिखेलबाट पदयात्रा गर्दै नमोबुद्ध पुग्न सकिन्छ।
विशाल गुम्बा, चैत्य, बुद्धका आकर्षक मूर्ति र बुद्ध अध्ययनका लागि सञ्चालन गरिएको पाठशालाले नमोबुद्धलाई धार्मिक केन्द्र मात्र नभई बौद्ध शिक्षा र अध्ययनको केन्द्रका रुपमा पनि परिचित गराएको छ। नेवारी शैलीमा निर्माण गरिएको नमोबुद्ध महासत्त्व देगाल मन्दिर र डाँडाबाट देखिने हिमशृङ्खला तथा पनौती उपत्यकाको मनोरम दृश्यले यहाँ पुग्ने जोकसैलाई आकर्षित गर्छ।नमोबुद्धको महत्व यसको धार्मिक विश्वाससँग जोडिएको छ। बौद्ध परम्पराअनुसार गौतम बुद्धले पूर्वजन्ममा राजकुमार महासत्त्वका रुपमा यही गन्धमान पर्वतमा भोकले छटपटिएकी सुत्केरी बघिनी र उसका पाँच छाउराको जीवन बचाउन आफ्नै शरीर अर्पण गरेका थिए। त्यही करुणा र त्यागको सम्झनामा संवत् ९७४ मा राजकुमारको अस्थिपञ्जर संकलन गरी चैत्य निर्माण गरिएको अभिलेख पाइन्छ।
हरेक वर्ष कात्तिक शुक्ल पूर्णिमाका अवसरमा यहाँ लाग्ने मेला धार्मिक आस्था र सांस्कृतिक परम्पराको ठूलो उत्सव हो। स्वदेश तथा विदेशबाट आउने बौद्ध धर्मावलम्बी र पर्यटकले चैत्य दर्शन, दीप प्रज्वलन, पूजाआजा र सांस्कृतिक कार्यक्रममा सहभागिता जनाउँछन्। मन्दिर व्यवस्थापन समितिका अनुसार प्रत्येक वर्ष करिब एक लाख श्रद्धालुले नमोबुद्ध पुगेर दर्शन गर्ने गरेका छन् ।नमोबुद्ध गुठीका अध्यक्ष लोप्साङ बज्र लामाका अनुसार मेला अवधिभर पितृको सम्झनामा बत्ती बाल्ने परम्परा छ।उनी भन्छन्, ‘यहाँ बर्सेनि पितृलाई बत्ती बालिन्छ, बत्ती बाल्नाले पितृलाई वर्षभरि उज्यालो हुने मान्यता रहेको छ।’
नमोबुद्धका मूल लामागुरु कान्छा लामाका अनुसार विशेषगरी तामाङ र नेवार समुदायका धर्मावलम्बीले यो मेला भर्ने गरेका छन्। ‘पाँच डमरु जन्माउने बघिनीलाई लक्ष्मी र पाँच डमरु भिक्षु मानिएको हो। राजकुमारले बघिनीलाई बचाएर आफूले देहत्याग गरेपछि राजारानी सोही नजिकै बाँकी जीवन चैत्य सेवामा बिताउनुभएको थियो। तत्पश्चात् राजारानी शङ्खेश्वरी अजि–अजिमाको नामले चिनिनुहुन्छ।’
उहाँका अनुसार तत्कालीन पञ्चलादेशका राजा महारथ र रानी सत्यवतीका तीन छोरा शिकार खेल्ने क्रममा गन्धमान पर्वत पुगेका थिए। त्यही बेला कान्छा राजकुमारले आफ्नै जीवनको पर्वाह नगरी बघिनीलाई बचाएको धार्मिक विश्वास आजसम्म जीवित छ।नमोबुद्ध नगरपालिकाका नगर प्रमुख कुनसाङ लामा नमोबुद्धलाई अन्तर्राष्ट्रिय स्तरको धार्मिक गन्तव्यका रुपमा विकास गर्ने प्रयास भइरहेको बताउँछन्। ‘नमोबुद्धमा सधैँजसो स्वदेशलगायत विदेशका बौद्धमार्गीको चहलपहल हुने गरेको छ। पवित्र तीर्थस्थल नमोबुद्धलाई विश्वसम्पदा सूचीमा सूचीकृत गर्नका लागि पहल गरिरहेका छौं।’
गाउँको जीवन पनि आकर्षण
काभ्रेपलाञ्चोक धार्मिक पर्यटनमा मात्र सीमित छैन। यहाँको ग्रामीण परिवेश पनि पर्यटकका लागि उत्तिकै आकर्षक छ। जिल्लाको अधिकांश जनसंख्या गाउँमा बसोबास गर्ने भएकाले तामाङ, नेवार, ब्राह्मण, क्षेत्री लगायत विभिन्न समुदायको मौलिक संस्कृति, परम्परा, भाषा र जीवनशैली नजिकबाट अनुभव गर्न सकिन्छ।बल्थली, पातलेखेत, ढुंखर्क, रोशी, शंखु, तेमाल, बेथानचोक तथा इन्द्रावती र सुनकोशी नदी आसपासका गाउँहरु ग्रामीण पर्यटनका सम्भावना बोकेका क्षेत्र हुन्। स्थानीय संस्कृति, परम्परागत खानपान र होमस्टेले पर्यटकलाई फरक अनुभव दिन सक्छ।
धार्मिक सम्पदाका हिसाबले पनि काभ्रे धनी जिल्ला हो। यहाँ १३० भन्दा बढी मन्दिर र ४० भन्दा बढी गुम्बा रहेका छन्। पलाञ्चोक भगवती, धनेश्वर, चण्डेश्वरी, लड्केश्वर र नमोबुद्धमा वर्षभरि श्रद्धालुको आवतजावत भइरहन्छ।
साहसिक पर्यटनको बढ्दो आकर्षण
काभ्रेपलाञ्चोकले पछिल्ला वर्षहरुमा साहसिक पर्यटनमा पनि पहिचान बनाउँदै गएको छ। धुलिखेल र नगरकोटमा जिपलाइन सञ्चालनमा छन् भने धुलिखेल र कुशादेवी क्षेत्रमा प्याराग्लाइडिङको सफल परीक्षण भइसकेको छ। सुनकोशी र भोटेकोशी नदी ह्वाइट वाटर ¥याफ्टिङका लागि परिचित छन्।
जिल्लामा दुई दर्जनभन्दा बढी सम्भावित ट्रेकिङ मार्ग पहिचान गरिएका छन्। नगरकोट–धुलिखेल–नमोबुद्ध–बेथानचोक–सैलुङ, नगरकोट–धुलिखेल–नमोबुद्ध–पनौती–फूलचोकी–गोदावरी तथा धुलिखेल–भीमखोरी–घ्याङडाँडा–ताराखस्यौली लेक–फूलचोकीजस्ता पदमार्गमा आवश्यक पूर्वाधार विकास गर्न सके अन्तर्राष्ट्रिय ट्रेकिङ गन्तव्यका रुपमा विकास गर्न सकिने सम्भावना रहेको पर्यटन व्यवसायीहरु बताउँछन्।धुलिखेल र नगरकोट सूर्योदय, हिमाल अवलोकन, पिकनिक तथा सम्मेलन पर्यटनका लागि पहिलेदेखि नै लोकप्रिय छन्। राजधानीबाट छोटो समयमै पुग्न सकिने भएकाले सार्वजनिक बिदाका दिन यहाँ आन्तरिक पर्यटकको उल्लेख्य भीड लाग्ने गर्छ।राजकुमार बास्ताकोटीलाई काठमाडौंबाट बिदा मनाउन धुलिखेल नियमित पुग्ने गरेको बताए ।
तेमाल र रोशीको तीनधारे झरना
काभ्रेपलाञ्चोकको तेमाल क्षेत्र र रोशी गाउँपालिकामा रहेको तीनधारे झरना आकर्षक गन्तव्यका रुपमा परिचित हुँदै गएका छन्।तामाङ समुदायको बाहुल्य रहेको तेमाल क्षेत्र ऐतिहासिक, सांस्कृतिक र प्राकृतिक सम्पदाले समृद्ध मानिन्छ। हरियाली डाँडा, परम्परागत बस्ती, कृषि प्रणाली तथा स्थानीय संस्कृतिले यहाँ पुग्ने पर्यटकलाई गाउँको मौलिक जीवन नजिकबाट चिन्ने अवसर दिन्छ। पछिल्ला वर्षहरुमा आन्तरिक पर्यटकले तेमाललाई छोटो दूरीको भ्रमण गन्तव्यका रुपमा रोज्न थालेका छन्।

यता रोशी गाउँपालिकामा रहेको तीनधारे झरना जिल्लाको आकर्षक प्राकृतिक गन्तव्यमध्ये एक हो। वर्षायामपछि झरनाको बहाव अझ मनमोहक हुने भएकाले फोटो तथा भिडियो खिच्न आउने युवाको संख्या बढ्दो छ। स्थानीय तहले पनि यस क्षेत्रको पर्यटन पूर्वाधार सुधारका लागि विभिन्न पहल गर्दै आएको जनाएको छ।काठमाडौंबाट साथीहरुसँग तेमाल र तीनधारे झरना घुम्न आएका रवि खड्का भन्छन्, ‘सहरको भीडबाट केही घण्टामै यस्तो शान्त वातावरणमा पुग्न सकिन्छ भन्ने अपेक्षा गरेको थिइनँ। साँच्चै नसोचेको रमाइलो लाग्यो ।’ भक्तपुरबाट परिवारसहित आएकी मञ्जु तामाङका अनुसार तेमालको गाउँले परिवेश र तीनधारे झरनाको प्राकृतिक सौन्दर्यले छोटो यात्रालाई सम्झनलायक बनायो।सडक पहुँच क्रमशः विस्तार हुँदै जाँदा तेमाल र तीनधारे झरना धार्मिक गन्तव्यभन्दा फरक स्वाद खोज्ने आन्तरिक पर्यटकका लागि नयाँ रोजाइ बन्दै गएका छन्।
पलाञ्चोक भगवती र बेथानचोक नारायणस्थान
पलाञ्चोक भगवती मन्दिर र बेथानचोक नारायणस्थानले पछिल्ला वर्षहरुमा यहाँको आन्तरिक पर्यटकको आकर्षण बढाइरहेका छन्।सहज सडक पहुँचका कारण यी दुवै गन्तव्य एकै यात्रामा पुग्न सकिने स्थलका रुपमा परिचित बन्दै गएका छन्।पाँचखाल नगरपालिका–९ मा रहेको पलाञ्चोक भगवती मन्दिर नेपालका प्रसिद्ध शक्तिपीठमध्ये एक मानिन्छ। मन्दिरमा रहेको भगवतीको मूर्ति अत्यन्त प्राचीन रहेको मानिन्छ र मनोकामना पूरा हुने धार्मिक विश्वासका कारण वर्षभरि श्रद्धालुको आगमन भइरहन्छ।

पलाञ्चोकबाट माथिल्लो भू–भागतर्फ यात्रा गर्दा भेटिन्छ बेथानचोक नारायणस्थान। समुद्री सतहबाट करिब ३ हजार १८ मिटर उचाइमा रहेको यो स्थान काभ्रेपलाञ्चोक जिल्लाकै सबैभन्दा अग्लो बिन्दु हो। यहाँबाट गणेश, लाङटाङ, जुगल तथा गौरिशंकर हिमशृङ्खलासहित काभ्रे, सिन्धुली, मकवानपुर र वरपरका पहाडी भूभागको मनोरम दृश्य अवलोकन गर्न सकिन्छ। धार्मिक महत्वसँगै सूर्योदय र प्राकृतिक दृश्यावलोकनका लागि पनि यो स्थान लोकप्रिय बनेको छ ।सविता अधिकारीका अनुसार सामाजिक सञ्जालमा बेथानचोकको दृश्य देखेपछि यहाँ आउने योजना बनेको थियो। ‘हिमाल यति नजिकबाट देखिन्छ भन्ने कल्पना गरेकी थिइनँ। काभ्रेमा यति सुन्दर ठाउँ रहेछ भन्ने थाहा पाएपछि यात्रा सार्थक लागेको छ,’ उनले भनिन्।
पर्यटनलाई गुणस्तरीय बनाउने प्रयास
काभ्रेपलाञ्चोकमा होटल तथा रिसोर्टको संख्या पनि बढिरहेको छ। जिल्लामा विभिन्न स्तरका ७८ वटा होटल तथा रिसोर्ट सञ्चालनमा छन्। पर्यटकलाई गुणस्तरीय सेवा उपलब्ध गराउने उद्देश्यले बागमती प्रदेश सरकारको संस्कृति तथा पर्यटन मन्त्रालयअन्तर्गत पर्यटन कार्यालय काठमाडौंले चालू आर्थिक वर्ष २०८२÷८३ मा धुलिखेलमा होटल व्यवसायमा आबद्ध कर्मचारीका लागि हस्पिटालिटी अर्थात् आतिथ्य सेवा अभिमुखीकरण तालिम सञ्चालन गरेको छ।पर्यटन प्रवद्र्धनका लागि स्थानीय तह, प्रदेश सरकार र संघीय सरकारबीच समन्वय बढ्दै गएको छ। धार्मिक सम्पदाको संरक्षण, नयाँ गन्तव्यको प्रवद्र्धन, पर्यटन पूर्वाधार विस्तार र स्थानीय समुदायको सहभागितालाई प्राथमिकतामा राखेर विभिन्न कार्यक्रम सञ्चालन भइरहेका छन्।प्राकृतिक सम्पदा, धार्मिक आस्था, ऐतिहासिक विरासत, साहसिक गतिविधि र मौलिक संस्कृति एउटै जिल्लाभित्र अनुभव गर्न सकिने ठाउँ नेपालमा धेरै छैनन्। काभ्रेपलाञ्चोक तीमध्ये एक हो।
(बागमती प्रदेश सरकार, संस्कृति तथा पर्यटन मन्त्रालयको सहयोगमा तयार पारिएको)

विकास तिमल्सिना











