‘रक्सीसहितको पार्टी मुख्यमन्त्रीको घरमा’
एउटा भिडियोका कारण गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ विवादमा तानिएका छन् । सामाजिक सञ्जालमा उनको चर्को आलोचना भइरहेको छ । उक्त भिडियो उनकै आफन्तबाट सार्वजनिक भएको थियो ।
जन्मदिनको अवसरमा मुख्यमन्त्रीले परिवार, आफन्त र शुभचिन्तकमाझ मदिरासहितको भोज गरेको भिडियोमा देख्न सकिन्छ । उनले भोज आयोजना गरेको कोठाको भित्तामा राष्ट्रपति विद्यादेवी भण्डारीको तस्वीर र टेबलमा नेपालको राष्ट्रिय झण्डा पनि देखिएकाले कार्यकक्षमै ‘रक्सीसहितको पार्टी’ गरेको भन्दै धेरैले मुख्यमन्त्रीको आलोचना गरिरहेका छन् ।
तर, मुख्यमन्त्री गुरूङ सचिवालयले भने उक्त जमघट कार्यालयमा नभएर मुख्यमन्त्रीको निवासमा भएको स्पष्ट पारेको छ । र, गुरुङ समुदायको चलनअनुसार मदिरासहितको भोजलाई असामान्य मान्न नहुने पनि बताएको छ ।
मुख्यमन्त्रीका निजी सचिव डिल्लीराम सिग्देलले आइतबार विज्ञप्ति निकालेर जमघट मुख्यमन्त्रीको निवासमा भएको बताएका हुन् ।
‘गण्डकी प्रदेशका मुख्यमन्त्रीलाई जोडेर सामाजिक सञ्जाल र विभिन्न सञ्चारमाध्यममा सार्वजनिक भिडियो, फोटो र समाचारप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘फागुन २ मा मुख्यमन्त्रीज्यूको जेठानको परिवार बेलायतबाट आउनुभएको सन्दर्भमा पाहुना खानाको प्रबन्ध गरेको तथा उक्त दिन मुख्यमन्त्रीको जन्मदिनसमेत रहेकाले निवासमा साँझ पारिवारिक जमघटको व्यवस्था गरिएको थियो ।
सो क्रममा खिचिएका भिडियो र फोटाहरूलाई मुख्यमन्त्रीको सरकारी कार्यकक्षमै मदिरापान गरेको भन्दै सार्वजनिक गर्नु बिडम्बनापूर्ण छ । गुरुङ जातिको संस्कारअनुसारको पारिवारिक जमघटको क्रममा कुनै मर्यादा विपरीत कार्य नभएको र अतिरञ्जित गर्न खोजिएजस्तै त्यस्तो नियत पनि नरहेको स्पष्ट पार्न चाहन्छौं । तसर्थ यस विषयमा कुनै भ्रममा नपर्नका लागि हामी सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक आग्रह गर्दछौं ।’

बाइलाइन नेपाल











